नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार परिवर्तनको सम्भावमा नरहेको बताएका छन्।
समाजवादी जागरण अभियानअन्तर्गत आज यहाँ आयोजना गरिएको कार्यक्रममा उनले प्रतिगमनकारीको योजनाबाट देशलाई बचाउन गठबन्धनको सरकार चल्नुपर्ने बताएका छन्।
उनले भने, 'सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामलाई सच्याउँदै अघि बढ्नुपर्छ।' जनतामा निरासा बढ्दै गएको समयमा सरकार परिवर्तनले थप असर पर्ने उनको भनाइ थियो।
जनताको आधारभूत आवश्यकता पूरा गर्दै उनीहरूका समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले सकारात्मक सोच राखेर जनताको निरासालाई चिर्नुपर्ने बताए। उनले भने, 'अहिलेकै नेतृत्वबाट देश बनाउन सकिन्छ भन्ने आँट र साहस राखेर अघि बढ्नुपर्छ।' समृद्धिका लागि सोच र दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले जनताको आवश्यकताको विषयलाई सशक्तरूपमा छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धि रक्षाका लागि नेकपा (एस) अघि आएको बताउँदै अध्यक्ष नेपालले जनताको आशा र भरोसा टुट्न नदिने बताए। कार्यक्रममा उपाध्यक्ष प्रमेश हमालले वर्गीय समाजवादलाई बलियो बनाउनका लागि समाजवादी चिन्तन अघि बढाउनुपर्ने बताए। उनले भने, 'समाजवादी क्रान्ति ल्याउनका लागि समाजवादी चिन्तन आवश्यक छ।'
महासचिव घनश्याम भुसालले देशमा मुख्य सङ्कट भनेको गरिबी र रोजगारीको रहेको बताउँदै यस्ता सङ्कट समाधान गर्न सबैको सहयोग आवश्यक हुने उल्लेख गरे। कार्यक्रममा नेकपा ९एस०का नेता झलनाथ खनाल, रामकुमारी झाँक्रीलगायतको सहभागिता थियो। नेकपा समाजवादीले आज राप्ती नगरपालिकाको भण्डारा बजारमा अभियानै क्रममा कोणसभासमेत सम्पन्न गरेको छ।