नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                दिपा धिताल
                                रुकुमको दुर्गम बस्तीमा जन्मेकी लिला (नाम परिवर्तन)ले कक्षा ८मा पढ्दैगर्दा नेपालमा सशस्त्र द्वन्द्व चर्किएकाे थियो। राजनीतिको नाम पनि नसुनेको उनलाई लहलहैमा युद्धमा हिँड्न बाध्य बनाइन्छ। युद्ध अभियानमा हिँड्दैगर्दा जनवादी–बिहे गरेकी लिलालाई ‘बुर्जुवा शिक्षाको काम छैन’ भनी युद्धमा हिँडन बाध्य बनाइएको थियो। उनी धेरै ठाउँमा भएका भिडन्तमा प्रहरी र शाही सेनाको आक्रमणबाट बाच्न सफल हुन्छिन्। तर, श्रीमान आज पनि शरीरमा गोली बोकेर दैनिकी चलाइरहेका छन्।
द्वन्द्वका समयमा उनी गर्भवती हुन्छिन्। महिना पुगेपछि बच्चा जन्माउन जंगलबाट दिदीको घरमा आउँछिन्। बच्चा जन्मिन्छ। ६ दिनकी सुत्केरी दिदीको घरमा पल्टिरहेको समयमा माओवादी खोज्दै आएको शाही सेनाले भेटाउँछन्। भाग्न नसकेकी लिलालाई ६/७जना सेनाले सामूहिक बलात्कार गर्छन्।
उनी बहोस हुन्छिन। केहीबेरमा होस आउँदा बच्चा रोइरहेको हुन्छ। उनको शरीर रगताम्मे भएको हुन्छ। उठ्न खोज्दा उनको पाठेघर बाहिर आउँछ।
जीवनलाई मृत्युको दोधारमा अठ्याएर हिँडेकी उनी अहिले पाठेघर र मानसिक समस्या भोगिरहेकी छिन्।
लिलालाई मानसिक समस्याको भारी बोक्नुपर्ने अवस्था उनको कारणले बनेको हाेइन। राज्यले गरेको ज्यादती हो। उनी सँगसँगै हिँडेका सहकर्मीहरु सरकारमा छन तर अहिलेसम्म उनको समस्यामा मलम–पट्टी लगाउन त परै जाओस् ‘कस्तो छ’ सम्म पनि भन्न कोही पनि आउँदैनन्।
लिलाजस्ता दर्जनौँ महिला आजपनि मनमा पीडा र तिरस्कारको भारी बोकेर मानसिक समस्यासँगै जीवन जिउन बाध्य छन्। बन्दुक समाएर सँगै लडेका सहकर्मी तीन पत्रका सरकारमा छन्। उनीहरुले यी सबै देखेका पनि थिए। तर, कुर्सी–मोह र राजनीतिक बिचलनले द्वन्द्वका मुद्दा अब सकिए भन्न थालेको जानकारहरु बताउँछन्।
यौन हिंसाका सवाल उठाउँदा घाउ र प्रमाण खोज्ने सरकारप्रति दिक्क महिलाहरु मनमा गह्रुङ्गाे भारी बोकेर बस्न बाध्य छन्। महिला शान्ति र सुरक्षाअन्तर्गत नेपाल सरकारले संयुक्त राष्ट्रसंघमा प्रतिवद्धता गर्दै दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्ने भन्दै १८२० र १३२५का लागि हस्ताक्षरसमेत गरेको छ। तर, कार्यान्वयन फितलो छ।
द्वन्द्वसँग सम्बन्धित यौन हिंसा शब्दले बलात्कार, यौन दासत्व, जबर्जस्ती वेश्यावृत्ति, जबर्जस्ती गर्भावस्था, जबर्जस्ती गर्भपतन वा नसबंदी, जबर्जस्ती विवाह र महिला, पुरुष, महिला वा बालिकाहरूविरुद्ध हुने तुलनात्मक रूपको हरेक प्रकारको यौन हिंसालाई बुझाउँछ। जुन द्वन्द्वसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको छ। यो शब्दले यौन हिंसा वा शोषणको उद्देश्यका लागि द्वन्द्वको अवस्थामा प्रतिवद्ध हुँदा व्यक्तिहरूको बेचबिखनलाई पनि समेट्छ।
युद्धका समयमा यौन हिंसामा पर्नेहरूका बेदनाको सम्बोधन अनि अधिकारको प्रत्याभूत गर्दै विश्वसमक्ष उनीहरूका आवाज सुनाउन हरेक वर्ष जुन १९ तारिखमा संयुक्त राष्ट्रसङ्घले द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गर्छ। १९ जुन सन् २०१५मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्षको जुन १९ लाई द्वन्द्वमा हुने यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेकाे थियाे।
द्वन्द्वमा हुने यौन हिंसाको अन्त्य गर्न आवश्यक पर्ने चेतना जगाउनको लागि भनेर यस दिवसको खाका कोरिएको हो। द्वन्द्वसँग सम्बन्धित यौन हिंसा, विश्वभर यौन हिंसाबाट पीडित भएका र बाँचेकाहरूलाई सम्मान गर्न र यी अपराधहरूको उन्मूलनको लागि खडा हुन साहसपूर्वक आफ्नो जीवन समर्पण गर्ने र आफ्नो जीवन गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्न यो दिवसको विशेष भूमिका रहन्छ।
द्वन्द्व–पीडित तथा प्रभावित महिलाको आत्मसम्मानसहितको सत्य, न्याय र परिपूरणका लागि अविलम्व व्यवस्था गर्न साथै सङ्क्रमणकालीन न्यायलाई कानूनी व्याख्याको परिधिबाट फराकिलो पारेर स्वन्याय, पारिवारिक न्याय र सामाजिक न्यायको अनुभूति गर्ने संयन्त्र र वातावरण निर्माण गर्न माग गर्दै आजको दिन सरकारसँग अपिल गरिन्छ।
दुई दशक लामो सशस्त्र द्वन्द्वको समयमा नेपालमा भएको गम्भीर मानव अधिकार हननका घटनाहरू घटेका छन। घटनामा महिला तथा बालबालिकाहरु बढी प्रभावित भए। द्वन्द्वको समयमा महिला र बालिकाहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वा परिस्थिति जन्य कारणबाट जोखिमपूर्ण जीवन बाँच्न बाध्य भएको र उनीहरु यौनजन्य हिंसा तथा अन्य लैङ्गिक हिंसाको जोखिममा परेको तथ्यलाई विभिन्न घटना तथा सन्दर्भहरुले समेत उजागर गरेका छन्।
राज्यले धेरथोर अन्य पीडितका तथ्याङ्क अध्यावधिक गरेपनि यौन हिंसा पीडितका न तथ्याङ्क छ, न त यो विषयमा बोल्न र सुन्न चाहन्छ। हिजोका पीडित र पीडक दुवै पक्ष कहिले आलोपालो त कहिले अलग–अलग सिंहदरबार अनि बालुवाटार भित्रिएपनि द्वन्द्व पीडितका सवालमा मौनप्राय छन्।
राजधानीमा केही संघ सस्थाले दिवस मनाएर अलिकति सचेत गराएपनि सरकारी तवरबाट कुनै भूमिकासम्म भएको पाइँदैन। यौनाङ्गमा सिस्नो राखेर गरिएका प्रताडना होस या बाँसका छडीले घोचिएर यौनी छियाछिया परिएको होस सबै जघन्य अपराध हुन्। आफू त आफू हो जनावरलाई समेत प्रयोग गरेर घटाइएका अमानवीय हिंसाका सवालमा विगतमा आफूले लड्न बाध्य बनाएका सत्ताको मूल–दैलोभित्र रहेका समयमा यतातिर ध्यान दिन सकेमा दुखिरहेको मन र तनमा शितलता हुने विश्वासका साथ अस्तु।
(लेखक नेपाल महिला सामुदायिक सेवा केन्द्रका कार्यक्रम प्रमुख हुन्।)
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया