'व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा लागाैँ'

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको मधेसमा नेपालको राष्ट्रियताको चुरो रहेको बताएका छन्। 

आज जनकपुरमा आयोजित नागरिक अभिनन्दन तथा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले राष्ट्रिय एकता र रूपान्तरणमा मधेसको सबल भूमिका रहँदै आएको भन्दै नेपालको राष्ट्रियताको चुरो पनि मधेसमै रहेको बताएका हुन्। 

'नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता वीपी कोइरालाले भनेझैँ म नेपालको राष्ट्रियताको चुरो नै मधेसमा रहेको छ भन्नेमा सधैँ दृढ छु', उनले भने, 'यही भूमिमा बस्ने नागरिकहरूले नेपालको एकएक इन्च जमिन जोगाएका छन्। त्यसकारण म यहाँका नागरिक र परिवर्तनका लागि प्राणको आहुति दिने सबै अग्रजको पावन स्मृतिमा उहाँहरूप्रति निष्ठाका शब्द पुष्प चढाउँछु।'

अभाव र समस्यामा राष्ट्रियताको संरक्षण हुननसक्ने भन्दै उनले मधेसका सम्भावनाहरूको पहिचान र समस्याहरूको सम्बोधन गर्न सकारात्मक योगदानका लागि सबैलाई आग्रह गरेका छन्। 

'अभाव र समस्यामा राष्ट्रियताको जगेर्ना हुन सक्दैन। त्यही भएर हामीले समग्र देशको समृद्धिका लागि हिमाल, पहाड र तराई मधेसको सन्तुलित र समग्र विकासमा अबको ध्यान केन्द्रित गर्न ढिला गर्न हुन्न। नेपालको समथर फाँट रहेको अन्नभण्डार मधेस प्रदेशको समग्र विकास, उन्नति, सम्मान र राजकीय सत्तामा समाहित हुने समान अवसरले मात्रै नेपालको समग्र समृद्धि र राष्ट्रिय एकता सुदृढ हुने मेरो सधैँको अटल विश्वास हो। त्यसकारण म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा लाग्न सबैलाई अपिल गर्दछु', राष्ट्रपति पौडेलले भने। 

सम्बोधनका क्रममा समग्र नेपाललाई खाद्यान्न आपूर्ति गर्ने अन्नभण्डार मधेसको उर्वर भूमि सिँचाइको अभावले बाँझो देखेर आफ्नो हृदय छियाछिया हुने गरेको भन्दै उनले सरकारमा रहँदा होस् या संसद्मा, समग्र मधेसको आधा हिस्सा सिञ्चित गर्न सकिने सुनकोशी–मरिन डाइभर्सनका लागि आवाज उठाउँदै आएको स्मरणसमेत गरेका छन्। 

एक अर्को प्रसङ्गमा राष्ट्रपति पौडेलले आफ्नो नेतृत्वमा तत्कालीन मधेसवादी दलहरूसँग भएको २२ बुँदे सहमतिले संविधान निर्माणको आधारशिला खडा गरेको भन्दै संविधानको सबल कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलका नेताहरूलाई अपिल गरेका छन्।

'हामी सबै मिलेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र स्थापना गरेका छौँ र आज हामी सबैले एकताबद्ध भई सामाजिक न्याय स्थापनासहितको समृद्धि हासिल गर्नु अपरिहार्य छ', उनले भने, 'सङ्घीयता कार्यान्वयन, जनतालाई अधिकार दिन र प्रदेश तथा स्थानीय तहका सरोकारहरू सम्बोधन गर्न मुख्य तीन नेताहरू देउवा (शेरबहादुर देउवा), ओली (केपी शर्मा ओली) र प्रचण्ड (पुष्पकमल दाहाल) ले गम्भीर बन्नुपर्छ। उहाँहरूले चाहेमा देश बदलिन्छ, संविधान र सङ्घीयता कार्यान्वयन हुन्छ।'

त्यसैगरी उहाँले देशको कुनै पनि जायज नागरिक नागरिकताविहीन नरहुन् र देशको प्रत्येक नागरिकमा भेदभावरहित रूपले कानूनी राज्य र सामाजिक न्यायको परिकल्पना आफूले गरेको र त्यसैकारण नागरिकता लिनबाट बञ्चित नेपाली बाबु–आमाका सन्तानलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गरेको स्पष्ट पारेका छन्। 

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका प्रमुख एवं नागरिक अभिनन्दन मूल समारोहका संयोजक मनोजकुमार साहले अभिनन्दनपत्र वाचन गरेर राष्ट्रपतिलाई नगरवासीको तर्फबाट सम्मान गरेका छन्।

प्रकाशित मिति: : 2023-09-25 18:52:00

प्रतिकृया दिनुहोस्