बुधबार, १५ अक्टोबर २०२५

८२ वर्षअघि सुन्दरले देखेकाे काठमाडाैं...

News Image
• • •

अहिलेको जस्तो थिएन उहिलेको काठमाडौं। चारैतिर पहाडै पहाडले घेरिएको सुन्दर उपत्यका। जङ्गलै जङ्गलको बीचमा ढुङ्गा, माटो र काठले बनेको पातलो बस्ती। शान्त वातावरण, स्वच्छ हावा र कलकल बग्ने सफा बगमती नदी नै उबेलाको काठमाडौंको पहिचान थियो। शिवपुरीको खोँचबाट बग्ने बागमतीको पानी पिएरै सुरु हुन्थ्यो काठमाडौंवासीको दिनचर्या।


भोजपुरमा जन्मिएका सुन्दरकुमार विष्ट सानै उमेरमा भारत पुगे। बुबालाई इन्डियाको एक कम्पनिले टेलिग्राममार्फत बोलाएपछि सुन्दरका सपरिवार नै छिमेकी देश हानिए।

उबेलै विज्ञान विषयमा स्नातक तहसम्मको पढाइ पूरा गरेर सुन्दरका बुबा ‘इन्जिनियर’ बनेका थिए। इन्जिनियर भएका बुबाले इन्जिनियरिङसम्बन्धी काम गर्नका लागि इन्डियाको कम्पनीमा आवेदन दिए। वर्ष दिनसम्म पनि नआएकाे आवेदनकाे जवाफ सुन्दरकाे जन्मपछि आयाे।

तीन महिनाकै उमेरमा भारत पुगेका सुन्दर दिल्लीमा हुर्किए। इन्डिया काम गर्न पुगेका सुन्दरका पिताले ठुला–ठुला पुल मात्र बनाएनन्, इन्डियामै घरहरू पनि ठड्याए। सम्पन्न, खुसी थियाे विष्ट परिवार। तर नेपालको मायाले झक्झकाउन थाल्याे।

वि.स. १९९७ मा सुन्दर बुबासँगै नेपाल फर्किए। नेपालकाे माया र कान्छा छाेरालाई घुमाउने बहानामा सुन्दरसहित बाआमा राजधानी काठमाडाैँ आए।

बुबाको काँध चढेर नेपाल आएका उनी काठमाडौंकाे बालाजुमा बस्न थाले। ‘हामी सबै जना इन्डियामै बस्थ्याैँ, त्यसैले हाम्रो काठमाडौंमा आफ्नो मान्छे कोही थिएनन् तर मेरो बाबाको एकजना मित्र हुनुहँदो रहेछ’, उनले भने, ‘हामी त्यही अंकलकाे घरमा बसेका थियाैँ।’

पहिलो पटक राजधानी देखेका सुन्दरलाई खुबै रमाइलो लाग्याे, हरियालीले भरिएकाे काठमाडाैं। चारैतिर पहाडै पहाडले घेरिएको सुन्दर उपत्यका। त्यसमाथि मनै फुरुङ्ग बनाउने सफा, कलकल बगेकाे बागमती नदी।

‘काठमाडौंको बागमती र विष्णुमती नदी सफा अनि निलो रङ देखिने गरी बग्थ्यो। त्यही पानी लिन नेवारी केटीहरु आउँथे’, पाँच वर्षको उमेरमा देखेको दृश्य स्मरण गर्दै उनले भने, ‘मेरो बाबाले त्यही बागमती नदीमा नुहाउनुभएको थियो। अनि मैले पनि बागमतीको पानी पिएकाे थिएँ। साह्रै मिठो लागेकाे थियो।’

छोरा बेलायतमा, छोरी अमेरिकामा, ‘सुबेदार बा’ वृद्धाश्रममा (भिडियोसहित)

पहिलाे पटक काठमाडाैंलाई निल्याल्दा सुन्दरले देखेकाे ढुङ्गा, माटो र काठले बनेको पातलो बस्ती उनलाई अझै याद छ।

‘मलाई थाहा भएअनुसार सिहंदरबार चाहिँ बनिसकेकाे थियो तर त्यसको वरपर रुखैरुख थियो’, उहिलेको काठमाडौंबारे वर्णन गर्दै उनले बिएल नेपाली सेवासँग भने, ‘अहिलेको जस्तो थिएन उहिलेको काठमाडौं, बिल्कुलै फरक थियो।’

साता दिनसम्मको घुमघामपछि काठमाडौंका मिठा यादहरु बोकेर बाआमासँग उनी इन्डिया घुरे। तर जब २०४७ मा सुन्दर स्वदेश फर्किए। उनले काठमाडाैंलाई बदलिएकाे पाए।

‘दाेस्राे पटक काठमाडौं आउँदा काठमाडाैं बदलिएकाे थियो, जङ्गल फाँडिएकाे थियाे, माटा र ढुङ्गाले बनेका घर हराएर इँट्टा,बलुवाले बनेकाे बिल्डिङ ठडिएका थियाे’, उनी भन्छन्, ‘बागमतीकाे पानी पनि फेरियाे। पहिले सफा बग्ने बागमतीमा पछि ढल जम्न थालेकाे थियाे।’

करिब ८२ वर्षअघिकाे काठमाडाैं र अहिलेकाे काठमाडाैं उपत्यकालाई तुलना गर्दा सुन्दरलाई उहिलेकै काठमाडौं राम्रो लाग्छ। उनी भन्छन्, ‘त्याेबेला कुनै चाेरी,डकैती पनि लाग्दैन थियाे तर अहिले दिनदिनै अपराधिक गतिविधि बढ्न थालेकाे छ।’अहिलेकाे काठमाडाैं देखेर बिरक्तिएका उनी उहिलेकाे काठमाडाैंमा जान चाहन्छन्। ‘मलाई फेरि त्यही पुरानाे काठमाडाैंमा गएर जीवन बिताउने मन छ’, हाँस्दै सुन्दर भन्छन्, ‘तर फेरि कहाँ आउँछ र फर्केर ती बितिसकेका दिन।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!