चार माेर्चाकाे निष्कर्ष:

टुटफुटबाट कमजोर भएकाे माओवादी होला त एकजुट ?

‘एउटा पसलेसँग चन्दा उठाउनु पर्‍यो भने पार्टी फुटाउने काम कम्युनिस्टभित्र भइरहेको छ। अब यस्ता साना–साना कुरामा पार्टी टुटफुट हुने कार्य रोकिनुपर्छ।’ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुति’को भनाइ हो यो। शुक्रबार काठमाडाैँकाे कमलादीस्थित प्रज्ञा भवनमा चार कम्युनिस्ट पार्टीको संयुक्त मोर्चा घोषणा कार्यक्रममा आहुतिले भनाइ राख्दै गर्दा कम्युनिस्ट टुटफुटबाट धेरै कमजोर भइसकेको सन्देश प्रवाह भइरहेको थियो।

उनले विशेष गरेर अहिले माओवादी आन्दोलन साना–साना पार्टीमा टुक्रिएर कमजोर भइरहेको बताए। ‘माओवादी आन्दोलनबाट आएको टुटफुटको श्रृंखला लामो छ। अझै रोएिको छैन,’ आहुतिले भने,‘पाँच जना, तीन जनाको एउटा पार्टी छ। एउटा कसैसँग चन्दा उठाउनु पर्‍यो भने पार्टी गठन भइरहेको छ। यस्तो टुटफुट रोकिनुपर्छ।’

उनले उक्त टुटफुटलाई क्रान्तिकारी, वैचारिक हस्तक्षेप आवश्यक रहेको बताए। उनले भने,‘यो लामो टुटफुटलाई रोक्नाका लागि क्रान्तिकारी, वैचारिक हस्तक्षेप गर्नुपर्छ। यो हस्तक्षेप आजबाट सुरु भएको छ।’ उनले अब माओवादी पार्टी एक हुनुपर्छ भनेर रोष्टममा बोलिरहँदा सहभागीहरुले गडगडाहट ताली बजाइरहेका थिए। उक्त तालीले पनि आहुतिले भनेको जस्तै माओवादी टुटफुटबाट कमजाेर भइरहेको र अब मिल्नुको विकल्प नभएको सन्देश दिइरहेको थियो। जब नेताहरु पार्टी एकताको कुरा उठाउँथे पुनः ताली बजिरहन्थ्यो।

अहिलेको संसदीय व्यवस्थाले देश संकटमा परेको, विदेशी हस्तक्षेप बढेको र नेपाली जनताले यो व्यवस्थामा निकै ठुलो संकट बेहोरेको निष्कर्ष निकाल्दै यसका विरुद्धमा संघर्ष गर्न चार कम्युनिस्ट पार्टीले मार्चा गरेका छन्। जसमा नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र कर्णजित बुढाथोकी ‘शुसिल’ नेतृत्वको नेकपा माओवादी समाजवादी छन्।

यी चार पार्टी प्रचण्ड नेतृत्वको नेकपा माओवादीबाटै अलग भएका हुन। राष्ट्रघाती, जनघाती र वास्तविक जनघाती संसदवादी राजनीतिलाई चुनौति खडा गर्दै आम जनतामा उत्साहको सञ्चार गर्नका लागि र आजको कार्यभार पूरा गर्नका लागि नयाँ मोर्चा गठन गरिएको नेताहरुले बताएका छन्।

अब नयाँ मोर्चामा सबै माओवादीहरु जुट्नुपर्ने आहुतिको भनाइ छ। उनले अगाडि भने, ‘अब फेरि एउटै धागो र एउटै मालामा उनिने श्रंखलाको सुरुवात हुनुपर्छ। धरै भयो टुटफुट, अब टुटफुट बन्द हुनुपर्छ। हामीले टुटफुटलाई जस्ताको त्यस्तै त जोड्न सक्दैनौँ। नयाँ प्रक्रियाबाट जोडिएर देशमा आइरहेको संकट रोक्नुपर्छ।’

यस्तै कम्युनिस्ट पार्टी एक हुनुपर्ने भनाइ नेकपाका महासचिव विप्लवको पनि छ। ‘आजबाट नयाँ सुरुवात भएको छ। हामी साना–साना कुराबाट नभागौँ। आउनुहोस् हामी एक हौँ। बाहिर हल्ला अनेक छन्,’ उनले भने, ‘प्रगतिशील शक्तिहरु आउनुस् र छलफल गरौँ। यसका लागि नेकपा माओवादी केन्द्रसँग बहस हुन्छ र बहस हुनुपर्छ।’

विप्लवले नयाँ मोर्चा बनाएर अघि बढ्ने चार पार्टीको निर्णय नयाँ क्रमभंगता हरेको बताए। उनले अगाडि भने, ‘आजको यो मोर्चा नेपालको कम्युनिस्ट आन्दोनलका लागि गौरव र सुखद कुरा हो। नेपाली जनतका लागि पनि नयाँ सुरुवात हो।’ उनले अहिलेको संसदीय व्यवस्था रहिरहे देशले अझै ठुलो विपत्ति भोग्नु पर्ने बताए।

साथै विप्लवले माओवादीलाई देशको नेतृत्व तहबाट हटाउनु देशलाई दुर्घटनामा लैजानुसरह रहेको जिकिर गरे। ‘माओवादीलाई नेतृत्वबाट हटाउनु हुँदैन। माओवादी क्रान्तिकारी शक्ति हो,’ विप्लवले भने, ‘जसले रुपान्तरणको लडाइँ लड्यो त्यो शक्तिलाई छिन्नभिन्न पार्ने, नेतृत्वबाट हटाउने सोच्नु देशलाई दुर्घटनामा धकेल्नु हो।’

यसैगरी नेकपा माओवादी समाजवादीका अध्यक्ष बुढाथोकीले विगतको भोगाइ र अनुभवबाट मात्र अगाडि बढ्न नसकिने बताउँदै माओवादीहरु नयाँ सिराहबाट अगाडि बढ्नुपर्ने बताए। उनले भने, ‘विगतका भोगाइ, अनुभव, सिकाइबाट मात्र हामी अगाडि बढ्न सक्दैनौँ। अब मोर्चालाई फराकिलो बनाउनु पर्नेछ।’

बुढाथोकीले पार्टीहरु केन्द्रीकृत हुनु पर्ने बताए। ‘क्रातिकारीहरु जुन–जुन ठाउँमा जसरी हामी छरिएर रहेका छौँ अब केन्द्रीकरण गर्न जरुरीछ।’ उनले भने। उनले माओवादीले पलाउँदै गएको नवसामन्तवादी चिन्तन्, वर्ग परिवर्तनका विरुद्धमा धावा बोल्ने आँट गर्नुपर्ने भनाइ राखे। अर्का नेकपाका अध्यक्ष ऋषिराम कट्टेलले सबै परिवर्तन चाहने शक्तिहरु एक ठाउँमा हुनु पर्ने बताए।

प्रकाशित मिति: : 2023-03-10 18:57:00

प्रतिकृया दिनुहोस्