संविधान दिवसको अवसरमा ‘दलित आन्दोलनको दिशामाथि वैचारिक विमर्श’ हुँदै

संविधान दिवसको अवसरमा दलित आन्दोलनको दिशामाथि वैचारिक विमर्श हुने भएको छ।

संविधान दिवसको अवसरमा दलित समुदायमाथि भइरहेको हत्या, हिंसा, बलात्कार र जातीय विभेदका मुद्दाहरुमा दलित आन्दोलन नै उदासिन रहेका बेला दलित अनलाइन डटकमले वैचारिक विमर्श गर्ने भएको हो।

दलित समुदायको समेत ठूलो त्याग, समर्पण र वलिदानका कारण गठन भएको संविधानसभाले नयाँ संविधान जारी गरेको ८ वर्ष पूरा गरेको छ। संविधानमा दलित आन्दोलनले उठाएका सवालहरु संविधानको प्रस्तावना, मौलिक हक र निर्देशक सिद्धान्तहरुमा समावेश गरिएको छ। दलित आयोगलाई संवैधानिक बनाइएको छ।

संविधान जारी भए यता जातीय विभेद र छुवाछूतका घटनाको ग्राफ उकालो लागेको अवस्थामा रहेको दलित अनलाइन डटकमका प्रधानसम्पादक अशोक दर्नाल बताए।

दर्नालकाअनुसार दलितहरुले सामान्य विभेद मात्र हैन, हत्या, हिंसा, वलात्कार भोग्न वाध्य  हुनुपरेको छ। रुकुममा नवराज विकसहितको नरसंहारसँगै मधेशमा ठूलो संख्यामा दलितहरुको हत्या भएको छ। कतिपय दलित त राज्यको नियन्त्रणमै मारिएका छन्।

उनीहरुले न्याय पाउने अवस्था अत्यन्तै कमजोर छ। यसले दलित समुदायको मानवअधिकारको अवस्था अत्यन्त गम्भीर भएको देखिन्छ। रोग, भोक, शोक, गरिबी, विभेद, वञ्चितिकरणको दुस्चक्रमा फसेका दलित समुदायले संविधान र राज्यपुनसंरचना पश्चात सुनौलो बिहानी आउने अपेक्षा गरेका थिए। तर, घटनाक्रम त्यतातिर गएको देखिदैन् यसले गर्दा दलित आन्दोलनलाई थप फेरि एकपटक वैचारिक र वैज्ञानिक ढंगबाट बहस हुनुपर्ने प्रधानसम्पादक दर्नाल बताउँछन्।

यो वहसको सुरुवात मात्र हो, ‘हामीले अब नयाँ शिराबाट दलित आन्दोलनमा बहस गर्नुपर्छ,’ उनले भने, ‘समाजिक न्यायसहित दलित मुद्दामाथिका वैचारिक डिस्कोर्सले संविधानमा लेखिएका अधिकारलाई कानुनी रुपमा कार्यान्वयन हुन सहयोग पुग्नेछ।’

संविधान दिवसको अवसरमा हामीले प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धीतर्फ केन्द्रित हुने र मुलत राज्य र दलहरुलाई खबरदारी गर्ने दिशामा अग्रसर गराउन यो वैचारिक विमर्श गरिने लेखक तथा वुद्धिजीव हिरा विश्वकर्माले बताए। ‘संविधानको सबैभन्दा आवश्यकता दलित समुदायलाई हो, तर लेखिएका अधिकारहरु पनि कार्यान्वयन हुन नसक्नु नै विडाम्बना हो,’ विश्वकर्माले भने, ‘दलित आन्दोलनले प्राप्त गरेको उपलब्धीलाई कार्यान्वयन तहमा लैजान एक भएर लाग्नुपर्छ।’

‘संविधान दिवस सामाजिक न्यायको यात्रा: दलित आन्दोलनको दिशामाथि वैचारिक विमर्श’मा पूर्वराजदूत डा.निर्मल, सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख, नेपाली कांग्रेस केन्द्रिय सदस्य मीन विश्वकर्मा, प्रतिनिधिसभा सदस्य, प्रमुख सचेतक राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार  वैचारिक विमर्शमा बोल्ने छन्।

यस्तै स्थायी समिति सदस्य, नेकपा (माओवादी केन्द्र) एवम् बागमती प्रदेश समिति सह–इन्चार्ज अञ्जना विशंखे र नागरिक अभियन्ता तथा लेखक डा.सञ्जीव उप्रेतीले आफ्नो विचारत्मक टिप्पणी गर्ने छन्।

सामाजिक न्यायको यात्रा : दलित आन्दोलनको दिशामाथि वैचारिक विमर्शमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुले आफ्नो धारणा राख्नेछन्।

दलित आन्दोलनको दिशामाथि वैचारिक विमर्शमा नेपाल दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्मा ,दलित मुक्ति मोर्चाका दलजीत सिर्पाली, श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सी, संविधानसभा सदस्य तथा पूर्वमन्त्री तथा मक्ति समाज नेपालका नेता जितु गौतमले दलित आन्दोलनको वैचारिक विमर्शमाथि आफ्नो विश्लेषणा गर्ने छन्।

वैचारिक विमर्श कार्यक्रममा बुद्धिजीव, वकिल, सामाजिक अभियन्ता, लेखक तथा पत्रकार, अधिकारकर्मीहरुको सहभागिता हुनेछ। कार्यक्रम प्राइम टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ।

प्रकाशित मिति: : 2023-09-19 14:27:00

प्रतिकृया दिनुहोस्