संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन्: सांसद शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ। तर रास्वपाका सांसदले संसदमा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन।

रास्वपाबाट समानुपातिक सांसद चुनिएका असिम साहको करिब नौ महिनाको संसदीय अभ्यास भने उनले चाहे जति सन्तोषजनक छैन। उनकाे शब्दमा भन्दा, ‘एक्सन ओरिन्टेट’ काम गर्न सदन र सरकार दुवै असफल छन्। सांसद साहले सुरुआती दिनमा संसदीय अभ्यास र गतिविधि बुझ्नै समय लागेको तर पछि बुझ्दै गएपछि संसद् पनि स्वतन्त्र ढङ्गले सञ्चालन हुने नसकेको आभाष भएको बताएका छन्।

‘सुरुमा हामी आफै सिकिरहेका थियौँ। हाम्रो आफ्नै भोगाइ र सिकाइ रह्यो। तर बुझ्दै जाँदा संसद् सत्ताधारी दलबाट आफ्नो अनुकूल सञ्चालन हुने रहेछ भन्ने थाहा भयो’, सांसद साह भन्छन्, ‘हामीले पटक–पटक सदन अवरोध नगर्न अनुरोध गरिरह्यौँ तर सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट संसद् अवरोध भयो। बाहिर एउटा विषय देखिने तर प्रमुख दलको बैठकमा बसेर भित्र अर्कै बार्गेनिङ चल्ने रहेछ।’ आफू सांसद भएपछि सदन किन अवरुद्ध हुन्छ र कसरी खुलाइन्छ भन्नेबारे स्पष्ट भएको उनको भनाइ छ।

संसद्का लागि ‘क्यालेण्डर’ आवश्यक पर्ने र संसद् सचिवालयलाई सोहीअनुसार सक्रियतापूर्वक परिचालन गर्न सक्नुपर्ने उनी बताउँछन्। यसबारे संसदमा कुरा उठाए पनि त्यसको सुनुवाइ नभएको गुनासो पनि उनको छ। संसद्मा क्यालेण्डरको आवश्यकताबारे चर्चा भए पनि त्यो आवाज सदनले नसुनेको शाहको गुनासो छ।

अर्कोतर्फ विधायिकी भूमिका निभाउनुपर्ने सांसद आफ्नो जिल्लाका योजनामा बजेट कसरी पार्ने भन्नेमा बढी केन्द्रित हुने र स्थानीय तहबाटै हुने काममा अल्झिने गरेको साहको बुझाइ छ। ‘सांसदले आफ्नो जिल्लामा बजेट कसरी पार्ने र पाँच वर्षसम्म त्यही काम गर्ने भन्ने सोचाइ राख्ने गरेको मैले पाए। मैले पूल बनाए, बाटो बनाए भनेर नागरिकका आकांक्षालाई निर्वाचनमा देखाउने गरेका छन्। अर्को पटक पनि त्यही काम देखाएर त्यसलाई ‘क्यास’ गर्न खोज्ने प्रवृत्ति छ’, सांसद साह भन्छन्, ‘सामान्य हिसाबले हेर्दा एउटा मेयर र वडाध्यक्षले गर्ने काम सांसदले गरिरहेका छन्। त्यहि भनेर भोट मागिरहेको अवस्था छ।’

सांसदलाई उनीहरुको भूमिका के हो भनेर बुझाउन जरुरी रहेको तर्क साहको छ। त्यस्तै नागरिकस्तरमा पनि यो विषय जानकारीमा लैजानुपर्ने उनी बताउँछन्। सांसदसँग नागरिकले गर्ने अपेक्षा पुरातन शैलीको रहेको पनि उनीले टिप्पणी गरे। ‘विधायकको रुपमा मुख्य काम कानुन निर्माण हो। जनप्रतिनिधि भएपछि जनताको आवाज बोल्ने हो र त्यसलाई पूरा गर्न आवश्यक कानून निर्माणमा सशक्तरुपमा लागि पर्ने हो तर जनस्तरमा पनि पुरातन शैलीमै सांसद भन्नासाथ पुल, सडक जस्ता पूर्वाधार बनाउने भन्ने संस्कार विकास भयो’, उनी भन्छन्, ‘विकास निर्माणको लागि सांसद एक माध्यम बन्न सक्छन्। तर हामी आफै ठेकेदार हैनौ। यो बुझ्न जरुरी छ।’

लामो समय संसदीय अभ्यासमा लागेका दलका नेतानै संसदीय मर्यादा उल्लङ्घन हुने गरी अभिव्यक्ति राख्ने गरेकोमा साहलाई त्यो राम्रो लाग्दैन। ‘सदनमा वाक स्वतन्त्रताको नाममा बढी नै बोल्नुहुन्छ। जनप्रतिनिधि भएपछि कहाँ कसरी बोल्ने र प्रस्तुत हुने भन्ने कुरा बुझ्नुपर्ने हो। त्यसमाथि संसद्को आफ्नै मर्यादा हुन्छ र नैतिक आचरणमा बस्नुपर्छ।’ दलहरुबीच हुने आरोप–प्रत्यारोपलाई ‘जुँगाको लडाइँ’ को संज्ञा दिंदै सांसद साह जुँगाको लडाइँकै कारण कतिपय विषयलाई बढाइचढाइ गर्ने र त्यसैमा संसद् अल्झाउने गरेको उनको भनाइ छ। यद्यपि, कहिलेकाहीँ आवेगमा आएर दिने अभिव्यक्तिलाई रेकर्डबाट हटाउनुपर्ने अवस्था आउने उनी बताउँछन्।

‘जुन ठाउँमा जे विषयमा छलफल हुुनुपर्ने त्यो हुँदैन। हामीले पटक–पटक डेङ्गी संक्रमण नियन्त्रणका लागि छलफल चलाउन निवेदन गर्‍यौँ। जनसरोकारका हरेक विषयमा छलफल चलाउन आवाज उठाउँदै आएका छौँ। तर अहिलेसम्म त्यो हुन सकेको छैन’, साह भन्छन्। सत्तापक्ष र प्रतिपक्ष समेतले खेल्ने भूमिकाले नै सदनलाई कसरी प्रभावकारी बनाउने भन्ने तय हुने उनको बुझाइ छ। सदनलाई सिर्जनात्मक र उत्पादनशील बनाउने सोच राखेर आएका सांसदमा काम गर्ने हतारो र हुटहुटी भए पनि त्यसका लागि उपयुक्त वातावरण भने पाउन नसकेको उनी स्वीकार्छन्। अझ पुराना राजनीतिक दलमा भने त्यसको हुटहुटी नै नरहेको साहको बुझाइ छ।

‘मेरो अनुभवले के देखे भने हतारो कसैलाई रहेनछ। सरकारले आफ्नो तरिकाले चलाउने रहेछ। हतारो र जनतालाई मात्र रहेछ। ठूला दलका नेतालाई केही कुराको हतारो रहेनछ’, उनी भन्छन्। अझ कतिपय संसद्लाई सदन तथा समितिमा के विषयमा छलफल भइरहेको छ र त्यहाँ गएर के विषय बोल्ने भन्नेसम्मको जानकारी नहुने उनको भनाइ छ।

‘हाम्रो लागि नयाँ अभ्यास भएका कारण अलि सजक भएर अध्ययन, अनुसन्धान गरेर मात्र जान्छौँ। अन्य दलका सांसद धेरै बुझ्नुभएको छ भन्ने डरले पनि हामी धेरै अध्ययन गरेर जान्छौँ’, उनी भन्छन्, ‘तर, धेरैजसो सदस्य पूर्व तयारीसहित आउनेभन्दा पनि त्यही पुराना शैलीमा भाषण गर्ने र कुरा गर्ने गर्नुहुन्छ। तथ्य–तथ्याङ्कमा भन्दा पनि अन्यत्रका कुरा गर्ने गरेको महसुस हुन्छ।’ संसदीय समितिका कामलाई पनि प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

विधायिकाको रुपमा जिम्मेवारी बहन गर्न तत्पर शाहलाई सदन नजितामुखी बन्न नसकेकोमा भने दुःख लाग्ने बताउँछन्, ‘सदनमा सबैले राम्रो राम्रो कुरा गर्नुहुन्छ, मलाई लाग्छ सबैले राम्रै कुरा गरिरहँदा देशले लिनुपर्ने विकासको गति चाहिँ किन नलिएको होला ?’

प्रकाशित मिति: : 2023-09-11 07:17:00

प्रतिकृया दिनुहोस्