सन्दर्भः मेजर दुर्गा मल्लको ७८औँ बलिदान दिवस

भारतमा गोर्खाको बलिदान

Breaknlinks
Breaknlinks

आज 'आजाद हिन्द फौज'का प्रथम गोर्खा सैनिक मेजर दुर्गा मल्लको ७८औँ स्मृति दिवस हो।

भारतको स्वतन्त्रता लागि प्राणको आहुति दिएका वीर सहीद मेजर मल्लको जन्म सन् १९१३ जुलाई १ का दिन देहरादूनअन्तर्गत डोईवाला गाउँमा भएकाे थियाे। पिता गङ्गाराम मल्ल र माता पार्वतीदेवीकाे काेखबाट जन्मिएका उनी बाल्यकालदेखि नै अत्यन्त प्रतिभावान थिए। मेजर मल्लले गोर्खा मिलिटरी स्कूल देहरादुनमार्फत् प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए।

१८ वर्षको उमेरमा सन् १९३१ मा मेजर मल्ल २/१  गोर्खा बटालियनमा भर्ती भइ लगभग १० वर्षसम्म सेनामा सेवारत भए। लगतैपछि उनी छुट्टीमा घर गएका बेला ठकुरी परिवारकी छोरी शारदादेवीसँग विवाह गरे। 

सन् १९४१ मा जापानले दक्षिणपूर्वी एसियामा आक्रमण गर्यो। सैनिक सेवामा इमानदार उनी सन् १९४१ अगस्ट २३ का दिन आफ्नो बटालियनसँग मलाया जानुपर्यो। जापानको सहयोगमा सन् १९४२ सितम्बर १ का दिन  सिंगापुरमा 'आजाद हिन्द फौज'को गठन गरियाे।

फौजमा मल्लको अत्यन्तै सराहनीय भूमिका हुँदा उनी मेजरमा पदोन्नति भएका थिए। मल्लले देशका युवकहरूलाई धेरै सङ्ख्यामा आजाद हिन्द फौजमा भर्ना गराउने कार्यमा ठूलो योगदान गरेका थिए। उनलाई पछि गुप्तचर शाखाका महत्वपूर्ण कार्यहरुको जिम्मेवारी पनि दिएको थियो। 

महत्वपूर्ण सूचनाहरू संकलन गर्दागर्दै सन् १९४४ मार्च २७ का दिन दिउँसाे मल्ललाई शत्रुसेनाले भारतकाे पूर्वाेत्तर राज्य मणिपुरको उखरूलबाट पक्राउ गरियाे। युद्धबन्दी भएका उनलाई अंग्रेज हुकुमतले अनेक यातना दिएको थियो।  

सन् १९४४ अगस्त १५ का दिन उनलाई लालकिलाको केन्द्रीय कारागारमा पुर्याइयाे र सन् १९४४ अगस्त २५ अर्थात् आजैका दिन उनलाई फाँसी दिइएकाे थियाे। वीर गोर्खा सपुत मेजर दुर्गा मल्लले भारतवर्ष रक्षार्थ आफ्नो प्राणको आहुति दिएका थिए।

प्रकाशित मिति: : 2021-08-25 16:04:00

प्रतिकृया दिनुहोस्