चितवनमा महायोगी पायलट बाबाको ५ दिने आध्यात्मिक शिविर हुने भएको छ।
शिविर आउँदो मङ्सिर ८ देखि १२ गतेसम्म चितवनको 'लेक ट्वेंटी थाउजेन्ड फार्म एण्ड रिट्रीट रिसोर्ट' मा हुन लागेको महायोग फाउन्डेसनले जनाएकाे छ।
पायलट बाबाको याे ध्यान-योग तथा समाधि विषयक आध्यात्मिक शिविर ‘भिजिट चितवन २४’ को पूर्व सन्ध्यामा हुन लागेको हाे।
चितवन महानगरपालिकाले सन् २०२४ लाई ‘भिजिट चितवन’ वर्षका रूपमा मनाउने घोषणा गरेको छ। महानगरपालिकाकी मेयर रेणु दाहालले आध्यात्मिक शिविर हुन लागेकाेप्रति खुशी व्यक्त गरेकी छन्।
पायलट बाबा आफ्नो आध्यात्मिक योग-समाधि शिविरलाई ‘क्लास’ भन्न रुचाउँछन्। शिविर अवधिमा उनी सहभागीलाई विभिन्न यौगिक क्रिया-मुद्रा-ध्यान विधि गराउनुका साथै योगको सूक्ष्म रहस्यबारे क्लास लिने छन्।
नेपालमा पहिलो पटक हुन लागेको पायलट बाबाको शिविर अर्थात क्लास जापान, अमेरिका, रूस, यूक्रेनलगायत विभिन्न देशमा सञ्चालित हुँदै आएका छन्। वर्षमा झण्डै ४/५ महिना उनी विश्वभरी क्लास लिँदै हिँड्छन्।
यसै क्रममा उनी सेप्टेम्बर १२ मा रूसमा आयोजना हुने कार्यक्रमका लागि रूस प्रस्थान गर्दै छन्।
'लेक ट्वेंटी थाउजेन्ड फार्म एण्ड रिट्रीट' का सञ्चालक देवेन लोहनीका अनुसार बाबा मङ्सिर ६ गते (नोभेम्बर २२) चितवन आइपुग्नेछन्।
बाबाको क्लास मङ्सिर ८ देखि १२ गतेसम्म चल्नेछ। यस क्लासमा ५०-६० जना रसियनका अतिरिक्त जापान, अमेरिका, यूक्रेन, जर्मनी, इटली, टर्की, भारतबाट थुप्रै मानिस सहभागी हुन आउँछन्।
शिविरका लागि बुकिङ प्रक्रिया हरिद्वारस्थित पायलट बाबा आश्रम र लेक ट्वेंटी थाउजेन्ड रिसोर्ट’ मा प्रारम्भ भइसकेको छ।
पायलट बाबाको मङ्सिर ६ गतेदेखि हुने नेपाल भ्रमणमा बाबाको शिष्याद्वय महामण्डलेश्वर योग माता चेतना, महामण्डलेश्वर योग माता श्रद्धाका साथै शिष्या सावित्री ऐमालगायतका अन्य थुप्रैको सहभागिता हुनेछ।
बाबाको यस आध्यात्मिक शिविरका लागि भारत तथा नेपालमा कोर्डिनेशनको काम नेपाली पत्रकार ज्ञानमित्रले गर्दै छन्।