ब्युटिसियनस् विथ बिएल

ठमेलकाे पहिलाे ‘बुटिक सप’ बाट ब्युटीसियन बनेकी लक्ष्मी (भिडियाेसहित)

ममता आचार्य

काठमाडौं

कोल्कतामा आफ्नो बाल्यकाल बिताएकी लक्ष्मी महत १५ वर्षको उमेरमा नौ कक्षासम्मको पढाइ सकेर नेपाल आइन्।

नेपाल आएपछि उनले आफ्नो खर्चको लागि केही गर्ने साेच बनाइन्। तर त्यसकाे लागि उनीसंग कुनै ज्ञान थिएन। त्यसपछि लक्ष्मीलाई उनकै दिदी भिनाजुले ठमेलमा आफ्नो रेष्टुरेन्टमा ‘सेफ’को रुपमा राखे।

लक्ष्मी ठमेलको पहिलो महिला ‘सेफ’ बनिन्। ‘मलाई हेर्न सबैजना आउनुहुन्थ्यो। किन आउनुभएको होला भन्ने थाहा थिएन, पछि पाे थाहा पाएँ म त ठमेलका रेष्टुरेन्टहरुमध्येको पहिलो महिला सेफ रहेछु’, उनी सुनाउँछिन्।

उनले त्यही रेष्टुरेन्टमा लगातार तीन वर्ष बिताइन्। तीन वर्षपछि उनले फेरि आफ्नो पढाइलाई निरन्तरता दिइन् र एसएलसी उत्तीर्ण गरिन्।

एसएलसीपछि उनले होटेलको कामलाई छोडेर बुटिकतिर लागिन्। ‘अमेरिकाबाट एकजना फेसन डिजाइनर आउनुभएको थियो। मैले उहाँसँग सिक्ने मैका पाएँ अनि बुटिकतिर लागेँ’, २६ वर्षअघिकाे कुरा सुनाउँदै लक्ष्मीले भनिन्।

काम सिक्दै गर्दा उनले वि.स. २०५३ मा ठमेलमा बुटिक पसल खोलिन्। उनको बुटिक पनि ठमेलकै पहिलो बुटिक पसल बन्यो। पसल खोलेपछि उनी फेसन डिजाइन सिक्न भारत गइन्। लक्ष्मी भारतमा गएर फेसन डिजाइनसम्बन्धी डिप्लोमा काेर्ष गरेर फर्किन्।

‘फेसन डिजाइनरका लागि यति सिकेर मात्र हुँदैन, योसम्बन्धी थप शिक्षा पनि आवश्यक पर्छ भन्ने लागेपछि भारतमा गएर ‘डिप्लोमा’ सकेर आएँ’ उनले भनिन्।

उनले नेपालको विभिन्न ठाउँहरुमा पुगेर ‘फेसन शो’ हरु पनि देखाइसकेकी छन्। उनको शो हेर्न नेपालीदेखि विदेशीहरुसम्म सहभागी भएका थिए।

आफू ‘फेसन डिजाइनर’ भएपछि कुनै ग्राहकले लुगा लिएर आउँदा उनीहरुलाई लुगाको डिजाइनअनुसार सुहाउने मेकअप आफैँले गरिदिन पाए अझ राम्रो हुने थियो भन्ने उनलाई लाग्यो। त्यसपछि पार्लरको तालिम पनि लिन थालिन्।

पार्लर सिक्नकाे लागि उनी ठमेलको आइटिसी ट्रेनिङ स्कुलमा भर्ना भइन्। उनले छोटो समयमा काम सिकिन्। उनकाे काम देखेर उनलाई पार्लर सिकाउने गुरुसमेत प्रभावित बनिन् र उनलाई त्यहीँ शिक्षकको रुपमा आवद्ध गराइन्। उनी भन्छिन्, ‘काम सिक्दै गर्दा म आफैँ पनि गुरु बनेर सिकाउन सक्ने भएछु।’

उनी पार्लर सिक्नकाे लागि थाइल्याण्ड पनि गइन्। ‘अझ पूर्ण हुन मलाई शिक्षाको अभाव छ भन्ने लागेर पार्लरकाे थप तालिमको लागि थाइल्याण्ड गएँ। थाइल्याण्डकै एक पार्लरमा भर्ना भएर सिक्न थालेँ’, लक्ष्मी आफ्नो विगत सनाउँदै भन्छिन्, ‘सुरूको दिन पार्लर गएको थिएँ, सबै थाइ भाषामा बोल्थे तर मलाई त बोल्न आउँदैनथ्यो। अलि डरको महसुस हुन थाल्यो, गाह्रो हुन्छ कि सिक्नको लागि भन्ने भयाे। तर त्यहाँ एकजना अंग्रेजी बाेल्न जान्ने सर हुनुहुन्थ्यो, संयोगले उहाँसँग सिक्न पाएँ र सहज भयो।’

थाइल्याण्डबाट नेपाल फर्किएकी उनी पार्लर सिक्न भारत गइन् अनि नेपाल आएर आफैँले पार्लर सञ्चालन गर्ने निर्णय गरिन्। नभन्दै उनले २०६१ मा आफूले तालिम लिएकाे पार्लर नै किनिन्। जुन ठमेलस्थित ज्याठामा रहेको छ। जसकाे नाम उनले ‘फ्यासिनेटेड ब्युटी ट्रेनिङ स्कुल’ राखिन्। नाै हजार बढी विधार्थीहरुको गुरु बनिसकेकी लक्ष्मीलाई कहिले पनि नकारात्मक प्रतिक्रिया भने सुन्न परेको छैन। त्यसैले आफ्नो पेशाप्रति उनी निकै सन्तुष्ट छिन्।

उनी आफ्ना आग्रहलाई ब्युटीका सम्बन्धमा राम्राे ज्ञान राख्न पनि सुझाउँछिन्। भन्छिन्, ‘ब्युटीसियनहरुमा हेयर, स्किन र विभिन्न प्रोडक्टहरुको निकै ज्ञान हुनुपर्छ। बजारमा चलेको प्रोडक्टहरुको हो-हल्लामा मात्रै हामी ब्युटीसियनहरुले ग्राहकहरुलाई सल्लाह दिन मिल्दैन। ब्युटीसियनहरुमा यी हरेक कुराको ज्ञान हुन धेरै जरुरी छ। ज्ञान नै नभइ कोही ब्युटीसियनहरुले गाह्रकहरुलाई सल्लाह नदिन आग्रह गर्छु।’

उनले ४ वर्ष मेहनत गरेर आफैँले एउटा पुस्तक पनि लेखेकी छिन्। जुन स्वास्थ्य र सुदरतालाई समेटिएको छ। पुस्तक आफ्नो स्वास्थ्यको कसरी हेरविचार गर्न सकिन्छ भन्ने विषयमा विभिन्न व्यक्तिहरुको भनाइहरु रहेको छ। ‘यो पुस्तक ब्युटीसियनहरुलाई मात्र नभइ सम्पूर्णको लागि अति आवश्यक छ’, उनले भनिन्।

बाआमाका लागि छोरा बनेकी लक्ष्मी

चार दशक पुगेकी लक्ष्मी अविवाहित छिन्। उनी बा–आमाको साहरा बनेर आफ्नो जीवन बिताउन चाहान्छिन्। उनी भन्छिन्, ‘बा बितसिक्नुभयो आमालाई पालेर जीवन कटाउने छु।’

तीन जना सन्तानमध्येकी उनी माइली छोरी हुन्। उनकी दिदि विवाह गरेर जर्मन छिन् भने उनका भाइ विवाह गरेर सुइडेन गएका छन्। त्यसैले उनी बाआमाको साहरा बनेर अविवाहित बसिन्। 

‘मैले मेरा बाआमाका लागि विवाह गरिनँ’ उनले बिएल नेपाली सेवासँग भनिन्, ‘विवाह गरेर घरजम बसाल्ने मेरो सोच आएनँ।’

छोराझैँ बाआमालाई पालेकी उनी हास्ँदै भन्छिन्, ‘उमेरमा त विवाह गर्ने सोच आएन, अब त झन उमेर गइसक्याे। तर म विवाह नगरेर पनि धेरै खुसी छु।’ 

लक्ष्मी समाजसेवामा पनि अग्रसर

उनी समाजसेवामा पनि त्यतिकै अग्रसर छिन्। कहीँकतै घुम्न जाँदा होस् या केही गर्दा कोही भोका-नाङ्गा देख्यो भने उनी सहन सक्दिन थिइन्। आफूले नखाएर पनि अरुलाई खुवाउने स्वभावकी लक्ष्मी समाजसेवमा लागेकाे १५ वर्ष बढी भयो। उनी ‘लायन्स क्लब’ मा सदस्य पनि छिन्।

‘कोल्कताबाट पहिलो पटक काठमाडौं आउँदा पशुपति मन्दिर दर्शन गर्न गएकी थिएँ। मन्दिर बाहिर माग्न बसेका धेरै मान्छेहरु देखेँ। मूर्तिहरु अगाडि पैसा देखेको थिएँ, मलाई लाग्यो भगवानले पैसा त प्रयोग गर्नुहुन्न, त्यही पनि किन माग्न बस्नेलाई भन्दा धेरै पैसा भगवानलाई? मैले मूर्तिहरुमा भएका सबै पैसाहरु टिपेर बाहिर माग्न बस्नेहरुलाई दिएको थिएँ’, उनी विगतकाे कुरा सम्झिँदै भन्छिन्।

समाजसेवा गर्न भनेपछि कहिले पछाडि नपर्ने उनी विभिन्न ठाउँमा कहिले लुगा फाटा, त कहिले खाद्यान्न लिएर पुगेकी हुन्छिन्। अरूकाे सेवा गर्नमा सधैँ अगाडि सर्ने उनी अहिले पद्मकन्या बहुमुखी क्याम्पसमा अध्यनरत छिन्। 'पहिले पढ्ने समय मिलेन, त्यसैले अहिले पढ्दै छु' उनी भन्छिन्, 'पढाइ महत्वपूर्ण रहिछ।'  

प्रकाशित मिति: : 2022-09-06 11:33:00

प्रतिकृया दिनुहोस्