सरकार ढाल्ने कोसिस भइरहेको छ तर कसैले सक्दैनन्: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक नयाँ क्रान्तिको आवश्यकता रहेको बताएका छन्।

मंगलबार उपत्यका विशेष प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राम्रा काम गरिरहँदा ढाल्ने षड्यन्त्र भइरहेको पनि बताए।

‘फेरि नयाँ क्रान्ति नगर्ने हो भने देश दुर्घटनामा जाने खतरा छ। यो परिवर्तन उल्टिने खतरा छ। त्यस्ताे दुर्घटनामा हामी सबै पर्ने खतरा छ’, उनले भने, ‘अहिले राम्रा कामहरू गर्दै जाँदा फेरि यो गठबन्धन भत्काउने अनि सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ।

उनले माओवादी बलियो भएमात्रै परिवर्तन जोगिने र कसैले पनि केही गर्न नसक्ने दाबी पनि गरे।

‘सरकार ढाल्न कसैको केही लाग्दैन। जति कोसिस गरेका जनताका नजरमा उनीहरू गिर्दै गइरहेका छन्। हामी शक्तिशाली भयौँ भने सबै कमजोर हुँदै जान्छन्’, उनले भने, ‘हामी एक हौं। सरकार कसैले ढाल्न सक्दैन।’

उनले माओवादीको सुधार यात्रा सुरु भइसकेको भन्दै माओवादीलाई अझै सशक्त बनाएर लैजानका लागि पार्टीको घरदैलो अभियानमा लाग्न पनि कार्यकर्ताहरूलाई निर्देशन दिए।

‘नेतृत्वमाथि हिजाे पनि प्रश्न थियो। आज पनि प्रश्नहरू उस्तै छन्। माओवादीले शान्ति सम्झौता गरेर सही गर्‍यो वा गल्ती भयो? भन्ने प्रश्नहरू उठे। ती वाद विस्तारै विवाद भए । त्यो विवाद विभाजनसम्मै पुग्यो। हाम्रो आन्दोलन विभाजन भयो’, उनले भने, ‘हामीले जनतामा विश्वास दिन सकेनौँ भने राष्ट्र बच्दैन। यसलाई हामीले मात्रै रोक्न सक्छौँ। माओवादी बनेमात्रै देश बन्ने हो।’

प्रकाशित मिति: : 2023-08-29 10:48:00

प्रतिकृया दिनुहोस्