ड्रागन खेतीमा रमाउँदै श्रेष्ठ दम्पती

नरेश चौधरी

सैनामैना

रुपन्देहीको सैनामैना नगरपालिका-९ बाँसगढी जनज्योति टोलका रिम बहादुर श्रेष्ठ दम्पतीले ड्रागन खेतीबाट मनाग्य आम्दानी गर्दै आएका छन्।

बाँसगढी निवासी रिम बहादुर र उनकी पत्नी पार्वती श्रेष्ठले ड्रागन खेतीबाट राम्रो आम्दानी गरिरहेका छन्। व्यावसायिक रुपमा ड्रागन खेती गरी वार्षिक ८ देखि १० लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको उनीहरुको भनाई छ।

तीन वर्षअघिबाट व्यावसायिक रुपमा खेती गर्न थालेका उनीहरुले १५ कठ्ठा जमिनमा करिब दुई हजार पाँच सय बोट लगाएका छन्। ड्रागनकाे फल, विरुवा, घाँस र अन्य कृषि उत्पादनसमेत बिक्री गरेर यस वर्ष वार्षिक ८ देखि १० लाख बराबरको आम्दानी गर्ने लक्ष्य रहेको श्रेष्ठ दम्पतीको भनाई छ।

पानी नजम्ने सुक्खा क्षेत्रमा यो फलको राम्रो उत्पादन हुने भएपछि उनीहरुले ड्रागनको व्यावसायिक खेती गर्न थालेका हुन्।

उनीहरुले, ‘बहुगुणी ड्रागन फ्रुट एग्रो फार्म’ दर्ता गरेर व्यावसायिक फलफूल खेती गर्न थालेका छन्। विश्वव्यापीरुपमा फैलिएको कोरोनाको समय लकडाउनमा सामाजिक सञ्जालको सदुपयोग गर्दै युट्युब, फेसबुक तथा अनलाइनबाट आफैँ यसबारे ज्ञान लिएर ड्रागन खेती गरेको श्रेष्ठले बताए।

‘अहिले हामी श्रीमान-श्रीमती यस खेती गरेर घर खर्चा चलाइरहेका छौँ’, उनले भने। यहाँ उत्पादन भएको फल स्थानीय बजारमै खपत हुने उनको भनाई छ।

यस वर्ष करिब दुई लाख रकम बराबरको फल तथा बोट बिक्री गरिसेकेको उनले बताए।

एकपटक यसको विरुवा लगाएपछि वर्षाैँसम्म प्रतिफल लिन सकिने, गोडमेल गर्न सहज हुने, सिँचाइ गरिराख्नु नपार्ने, खुख्खा ठाउँमा हुने भएकोले यसको खेती गर्न सहज भएको पार्वतीले बताइन्।

‘खाली समयको सदुपायोग भएको छ। स्थानीयहरुलाई रोजगारी दिन पाइएको छ। हामी अहिले सन्तुष्ट छौँ’, उनले भने। एकपटक लागाएको ड्रागनको बोटबाट धेरै वर्षसम्म फल लिन सकिने श्रेष्ठको भनाइ छ। उनका अनुसार ड्रागन फल लागेको ४५ दिनमा खान मिल्छ।

व्यावसायिक रुपमा खेती गरिरहेका श्रेष्ठ दम्पतीले सैनामैना नगरपालिका र सेतो गुँरास संस्थाबाट आर्थिक सहयोग पाएको बताए।

प्राविधिकका अनुसार रोपेको दुई वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ। प्रशस्त मात्रामा भिटामिन र मिनरल हुने ड्रागन फलमा क्यान्सर प्रतिरोधी गुण हुने विज्ञ बताउँछन्।

पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममा भण्डारण गर्न सकिने हुनाले चाँडो बिग्रने समस्या हुँदैन। सिउँडी प्रजातिको फल भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक पर्दैन।

समुद्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइमा यसको खेती गर्न सकिन्छ। कम सिँचाइमा र सुक्खा क्षेत्रमा पनि खेती गर्न सकिने कृषक बताउँछन्।

खेतीको लागि निकासयुक्त, प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको बलौटे, दोमट तथा चिम्ट्याइलो दोमट माटो उपयुक्त हुन्छ। यसको वैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो। ड्रागन फल औषधियुक्त गुण भएकाले स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।

श्रीमती पार्वती श्रेष्ठ सैनामैना-९ का पूर्ववडा सदस्य भइ जनप्रतिनिधिका रुपमा काम गरिसकेकी छन् भने रिम बहादुर विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन्, उनी उद्यगी व्यवासयी समेत हुन्।

प्रकाशित मिति: : 2023-08-28 17:56:00

प्रतिकृया दिनुहोस्