नेपाल प्रहरीको साइबर ब्यूरोले ‘लक्की ड्र’को लोभ देखाएर सामाजिक सञ्जालमार्फत् ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको बहुदामाई नगरपालिका–८ का राजकुमार पण्डित र रौतहटको कटहरीया नगरपालिका–१ का उमेशकुमार यादव रहेका छन्।
उनीहरुलाई फेसबुक, टिकटक, ह्वाटएपलगायत सामाजिक सञ्जालमा ‘लक्की ड्र’को लोभ देखाएर ‘कस्टम क्लियरेन्सको लागि पैसा पठाइदिनु’ भन्दै विभिन्न व्यक्तिबाट पैसा ठगी गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा अनुसन्धान थालिएको र अनुसन्धानपछि ठुलो रकमसहित पक्राउ गरिएको ब्यूरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालले बताए।
उनकाअनुसार पण्डित र यादवलाई यही भदौ ४ गते कुपण्डोलस्थित गुसिगालबाट पक्राउ गरिएको हो।
ब्यूरो उनीहरुको साथबाट ४९ लाख ९४ हजार रुपैयाँ नगद, सात वटा मोबाइल फोन, १ सय ८३ वटा सिमकार्ड, १२ वटा एटिएम र एउटा राउटर बरामद गरिएको छ।
ब्यूरोका अनुसार उनीहरुले उक्त पैसा बेडमा ओछ्यान बनाएर राखेको अवस्थमा बरामद गरिएको हो।
उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट मंगलबार सात दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्कीले बिएल नेपाली सेवालाई जानकारी दिए।