राष्ट्रिय मानव अधिकार आयोगले माइतीघरमा अनशनरत आरती गिरी र आरती साहको परिवारको जीवन रक्षा गर्न माग गरेकाे छ।
आयोगले एक विज्ञप्तिमार्फत वर्षातकाे समयमा निरन्तर अनशन बसेका कारण उनीहरुको स्वास्थ्य र दैनिक खानपानमा समेत समस्या भएको भन्दै जीवन रक्षा गर्न माग गरेकाे हाे।
यस्तै आयोगले अनशनरत पीडितको माग सम्बोधनको लागि हालसम्म सरकारी निकायबाट कुनै पनि पहल नभएको, दोषीलाई कारबाही गर्नपर्ने, उनीहरुले न्याय पाउनुपर्ने उल्लेख गरेकाे छ।
आयोगले निरन्तर अनशनका कारण व्यक्तिको स्वास्थ्यमा पर्नसक्ने जाेखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्याको समाधान गर्न, दुवै पक्षको मागको न्यायोचित सम्बोधन गरी अनशनरत व्यक्तिहरुको मानव अधिकारको रक्षा गर्न सरकारलाई आग्रह गरेको छ।