कोशीमा मुख्यमन्त्री थापासँगै तीन मन्त्रीले लिए सपथ, बाबुराम गौतम बने अर्थमन्त्री

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापा मंगलबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्री थापासँगै नवनियुक्त तीन जना मन्त्रीहरूले शपथ लिएका छन्।

माओवादी केन्द्रका नेता तथा निर्वतमान सभामुख बाबुराम गौतमले आर्थिक मामिला तथा योजनामन्त्रीकाे शपथ लिएका छन्। सभामुखबाट राजीनामा गरेकै भोलिपल्ट गौतम मन्त्री बनेका हुन्।

त्यस्तैगरी कांग्रेसका प्रदीपकुमार सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीकाे शपथ लिएका छन् भने नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीकाे शपथ लिएका छन्।

प्रकाशित मिति: : 2023-08-02 18:20:00

प्रतिकृया दिनुहोस्