भवानिपुर, देवदह–४, रुपन्देहीका चन्द्रबहादुर राना मगर भुपु गोरखा सैनिक हुन्। उमेर ६५ वर्ष नाघेका उनको पुख्र्यौली घर स्याङ्जा जिल्ला, विरुवा गाउँपालिकाको ललाङ गाउँ हो।
उनी १९ वर्षको कलकलाउँदो उमेरमा ४/४ गोरखा राइफल पल्टनमा भर्ति भए । उनका बाबा मोहनसिं राना ब्रिटिस इन्डियाका पल्टने, दोस्रो विश्व युद्धका ‘युद्ध लडाकु’ हुन्।उनको बाल्यकाल निकै दुःखले वित्यो ।
‘वुवाले पढ्नु पर्छ भनेर सानैदेखि भन्नुहुन्थ्यो,' क्याप्टेन बाले सुनाए। गाउँको चौतारोमा शिक्षक हर्कमानले ठूलो वर्णमाला पढाएको वाल्यकालको सम्झना आलै छ मनमा। घिउ र चामल बुझाएर प्रारम्भिक शिक्षा हासिल गरे उनले। घास दाउरा गरेर, आँटो-ढिँडो, दाल, खुर्सानी ठोसेर स्याङ्जाको किचनासमा ३ वर्ष जति पढे ।
अनि बाउले बनाएको नागस्थान स्कुलमा ५ कक्षासम्म पढे । गोठको छाप्रोजस्तो विरुवाको स्कुलमा ९ कक्षासम्म पढे । उनी १८ वर्षको उमेरमा भारत छिरे, ५ दिनको कमाइ ५ रुपैयाँ र अन्ततः फेरि नेपाल फर्के ।
विसं २०३१ सालमा साथीभाईको लहलहैमा लागेर गोरखपुरमा भर्ति हुन पुगेका थिए। राती सुत्दा स्कुलको प्रमाणपत्र सबै हराएछन्।
भर्ति हुँदिन भन्ने ठूलो पिर पर्यो । ‘कति पढेको’ भन्दा सर्टिफिकेट देखाउन सकेनन् । छनौटका बेला घरमा चिठ्ठी लेख्न लगाउँदा खरर लेखेकाले भर्ति हुन सके ।
अनि २५ जना दौतरीसंगै तालिम गर्न हिमाञ्चल प्रदेशमा पुगे। घरमा आर्थिक स्थिति कमजोर भएको पिर मनमा गडेको थियो। पल्टनमा निकै इमानदार भएर मेहेनत गरे। साबको स्याबासी कमाए।
सन १९८४ मा नागाल्याण्डमा उनको फौज तैनाथ भयो। नागा विद्रोहीका माथिल्लो तहका अफिसरलाई समात्न सफल भएवापत उनी सेना मेडलबाट विभुषित पनि भए। विद्रोहीको सुराकी पाएसँगै उनीहरूलाई घेरा हाले । गाउँमा लश्करै घर थियो, शेल्टर फेरेकाले तिनीहरू कुन घरमा छन् भन्ने पत्ता लगाउन केहीवेर मुश्किल पर्यो ।
उनीहरूको फौजले घेरा हालेको थाह पाएसँगै विद्रोही पछाडिवाट भाग्न सफल भए । वानी कोन्याकलाई पछ्याउँदै जाँदा दुईजनाको जम्काभेट भयो र ओपेन फाइट पर्यो । यस्तै घटना भोगे उनले ।
‘मैले विना हतियार लड्ने (अनआर्म) तालिम लिएकाले उनीहरूसँग भिड्न सहज भयो,' उनले त्यो घटना सम्झिए । निष्पट्ट अँध्यारोमा निकैवेर घम्साघम्सी पछि अन्ततः उनलाई पक्डन सफल भए।
सन् १९८८ सालमा भारतीय सेना प्रमुख के. सुन्दरजीको बाहुलीबाट १५, जनवरी १९८८ सेना दिवसकाे दिन दिल्लीमा सेना मेडल पाउँदाको क्षणमा गौरव लागेको उनी सुनाउँछन्। विदेशी भूमिमा मेडल लिन धर्म पत्नी लक्ष्मी राना मगर र जेठो छोरा सुदेश राना मगरसहित पुगेर हजारौं सेना र मानिसको भिडमा गोरखालीको नाम उच्च राख्न पाउँदा छाति फुलेर आएको उनले बताए ।
पछि सुवेदार हुँदा जम्मु कश्मिरको कुछ भन्ने ठाउँमा बम राख्दै गरेका बेला २ अफगानी उग्रवादीलाई निशानमा पारेर मारे । उनीसँगै पल्टनको ५ एम्वुस कमाण्डर पनि थिए । त्यतिवेला वहादुरी देखाए वापत (सिओएएस) चिफ अफ आर्मी स्टाफको तक्माद्वारा विभुषित भए।
यसरी एनसिसी पल्टनमा गरेर कुल ३१ साल ७ महिना १० दिन इण्डियन गोरखा सेनामा विताए। सन २००५ को १ जनवरीमा अनररी क्याप्टेनको दर्जा पाएर उनी सेवानिवृत्त भए।
रिटायर्ड लाइफ समाज सेवा र कृषिमा
उनी रिटायर्ड हुँदा देशमा माओवादी द्वन्द्व उत्कर्षमा थियो। गाउँमा फर्कन सहज देखेनन् उनले। त्यसैले रुपन्देही, भवानिपुरको देवदहमा ६ कट्ठा जमिन किनेर घर बनाए। त्यसपछिका जीवन मधेशतिर वित्न थाल्यो।
उमेरले ७० पुग्न लागेका क्याप्टेन बा फुर्तिला छन्। मधेसतिर विताएको पनि डेढ दशकभन्दा धेरै वितिसक्यो। अबकास प्राप्त जीवनमा समाज सेवा र कृषिमा रत्तिएका छन्।
कोलिया राज्य बुद्धको मावली क्षेत्र विकास समितिका कोषाध्यक्ष हुँदै उनले दुई कार्यकाल अध्यक्ष पद सम्हाले। गौतम वुद्धको मावली देवदहको जिर्ण अबस्था देखेर उनको मन साह्रै दुखेछ।
उनकै कार्यकालमा काठमाडौंवाट पुरातत्व विभागका विज्ञहरूले मायादेवी मन्दिर परिसरमा उत्खनन गरे । समितिमै हुदा मन्दिर परिसर सरसफाई, वगैंचा निर्माणका साथै गेट र सूचना पाटी पनि राखे ।
‘उत्खननको काम अझै सकिएको छैन, छेउछाउ पुरपार गरेर राखिएको छ,’ मन्दिर परिसर देखाउँदै उनले भने । कोरोना महामारी अगाडिसम्म थाइल्याण्ड, बर्मा, श्रीलंकालगायत देशबाट बौद्धधर्मावलम्बी आइरहन्थे।
उनीहरू यहाँ केही घण्टा पुजापाठ गरेर लुम्बिनी जान्थे। यहाँको पुर्वाधार विकास र प्रचारप्रसार अझै हुन सकेको छैन। राज्यले यस ठाउँको विकासका लागि गम्भिर कदम चाल्नु पर्ने उनलाई लागेको छ।
‘रोकिएको उत्खनन कार्य तुरुन्त सुरु गनुपर्यो’, उनले भने ‘प्राचीन कोलिया राज्यको राजधानी समेत रहेको देवदह ओझेलमा परेको देख्दा दुःख लाग्छ।’
मायादेवीको माइती र गौतम बुद्धको मावली देवदह सुनसान छ जहाँ वुद्धको वाल्यकाल बितेको थियो।
यहाँ घुम्न आउने पर्यटक हुन् या अनुसन्धानकर्ता, विद्यार्थी हुन् या पत्रकार जो सुकैलाई जानकारी दिने सूचना केन्द्र क्याप्टेन बा नै हुन्। आफूले जानेका कुरा बाँड्न पाउँदा उनी दंग पर्छन्।
समाजसेवा संगै क्याप्टेन बा कृषि पेशामा पनि उत्तिकै रुचि राख्छन्। उनले भैंसी, बाख्रा र कुखुरा प्रशस्तै पालेका छन्। दैनिक ६ लिटर दूध गाउँमै बेच्छन्। हालै उनले साँढे दुई लाखको त खसी मात्र बेचेका थिए।
खेतबारीमा धान, मकै, गहुँ र तोरी फलाउँछन्। मौसमअनुसार बारीमा अर्गानिक तरकारी उमार्छन्। अहिले पनि वोडी, मुला, साग, काउलीलगायतका तरकारी प्रशस्तै फलाएका छन्।
उनी बिहानै उठेर चिया पिइवरी बारीको फन्को मार्छन्। तरकारीमा पानी हाल्छन्। गोडमेल गर्छन्।
‘अहिले मौसम चिसो भएकाले अलिक ढिलो घाम लागेसी मात्र बारीमा घुम्छु’, उनले सुनाए।
खेतबारीमा काम गर्दा शरीरमा फूर्ति आउँछ। कसरत पनि हुन्छ। ताजा सागसब्जि पनि खान पाइन्छ। आफूले उत्पादन गरेका तरकारी उनी छिमेकीलाई बाँड्छन् पनि। यसरी बाँड्दा मनमा सन्तोष मिल्छ।
ज्यान क्रियाशील रहे रोगविमारबाट बच्न सकिन्छ। ‘अल्छि भए त छिट्टै रोग लाग्छ’, उनले आत्मविश्वासका साथ भने।
अचेल खेतबारी गर्दागर्दै उनको समय वित्छ। फेरी समाजसेवामा पनि त समय दिनै पर्यो।
उनी देवदह–४ मगर संघका अध्यक्ष पनि हुन्। श्रीमतिसहित छोराबुहारी र नातिनीसँग खुसीसाथ रिटायर्ड जीवन विताइरहेका छन्।
‘युवा उमेर छिमेकीको पल्टनमा विताइयो। अब बचेखुचेको जीवन मधेशतिरै समाज सेवा र कृषि पेशा गरेर बिताउने हो’, उनले निर्धक्क छाती फुलाउँदै लाहुरे लवजमा भने। क्याप्टेन बाले पुख्र्यौली पहाड पनि भुलेका छैनन्। बेलामौकामा जन्मथलो स्याङ्जाको ललाङतिर पुग्छन्। जन्मथलो गाउँलाई रगतको नाता सम्झेर पैतृक सम्पति नबेची राखेका छन्। त्यहाँका भिर पहराले बोलाइरहन्छन्। आफ्नो गाउँ ठाउँ कसलाई पियारो लाग्दैन र ?
क्याप्टेन चन्द्रवहादुर बासँग भेट्दा मनमा उत्साह जाग्छ । केही गरौं भन्ने भावना पलाउँछ। आफ्नै देशमा कर्म गरे के हुँदैन र? उनको सुवास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना !
अभिवादन कर्मवीर क्याप्टेन बा !
भिडियाे हेर्नुस्