आजपामा ज्ञानेन्द्र तामाङ

काभ्रे निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका प्रत्याशी तथा वामपन्थी आन्दोलनमा क्रियाशील नेता ज्ञानेन्द्र तामाङ आम जनता पार्टी (आजपा) पार्टीमा प्रवेश गरेका छन्।

आजपाको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रमका बीचमा आज (शनिबार) तामाङसहित दर्जनौँ नेताहरु आजपामा प्रवेश गरेका हुन्। नवप्रवेशीलाई आजपा अध्यक्ष एवं सांसद प्रभु साहले पार्टीमा प्रवेश गराउँदै थप उज्जवल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका छन्।

तामाङको नेतृत्वमा श्रीकृष्ण श्रेष्ठ, विमला तामाङ लगायतका नेताहरु आजपामा प्रवेश गरेको पार्टीका प्रवक्ता चन्द्रभुषण साहले बताए। आजपा प्रवेश गर्दै तामाङले मुलुकमा आम जनताको शासन व्यवस्था स्थापित गराउँने उदेश्यले आफू पार्टी प्रवेश गरेको बताए।

मुलुकमा सिमित दलका मुठी भरका नेताहरुले शासन सत्ता आफ्नो कब्जामा लिएर भ्रष्टाचार, कुशासन तथा अनियमितता बढाएको आरोप लगाउँदै तामाङले देश लुटने नेताहरुलाई कारवाही गरी समृद्ध नेपाल निर्माणमा लाग्न आजपामा गोलबद्ध हुन आग्रह गरे।

‘केही सिमित नेताले मुलुकमा भ्रष्टाचार तथा अनियमितता बढाएका छन्। देश लुटेर कंगाल बनाईसकेका छन्। अब हामीले ढिला नगरी समृद्ध नेपाल निर्माणका लागि आजपामा गोलबद्ध हुन आवश्यक छ’ तामाङले भने, ‘यि भ्रष्ट नेताबाट समृद्ध नेपाल निर्माण हुदैन्। कोही सुनको कारोवारी छन् भने कसैले ललिता निवासको जग्गा हडपेका छन्। सबका सब भ्रष्ट छन्, अब हामी आजपामा गोलबद्ध भएर मुलुकको शासन व्यवस्थामा आम जनतालाई स्थापित गराउँनुपर्छ।’

स्थानीय तहदेखी संघिय सरकारमा सहभागि भएर मुलुकलाई कंगाल बनाउँनेको अब भण्डाफोर गरी आगाडी बढने उनले बताए। भ्रष्टाचार बढदै गईरहेको र देशलाई बचाउँनका लागि युवाहरुलाई आजपामा गोलबद्ध हुन उनले आग्रह गरे।

प्रकाशित मिति: : 2023-07-29 22:17:00

प्रतिकृया दिनुहोस्