माओवादी महाधिवेशन

महासचिवमा शक्ति बस्नेत पक्का, विद्रोह गर्ने जनार्दनको चेतावनी

तेजन खड्का

काठमाडौं
File Photo
File Photo

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट अध्यक्षपछिको महत्वपूर्ण मानिएको कार्यकारी पद महासचिवमा नेता शक्ति बस्नेत पक्का भएका छन्।

खासगरी वर्षमान पुन, शक्ति बस्नेत र जनार्दन शर्मा मुख्य दाबेदार भए पनि अन्ततः बस्नेतले महासचिवमा बाजी मारेको माओवादीनिकट स्रोतले बिएल नेपाली सेवालाई जनाएको छ।

नेता कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, पम्फा भुसालको सामाजिक सञ्जाल र आम–सञ्चारवृत्तमा चर्चा भएता पनि माओवादीभित्र पुन, बस्नेत र शर्मामध्ये एक जना महासचिव बनाउनुपर्ने नेता–कार्यकर्ताहरूको दबाब थियो। पुन र शर्माले एकअर्कालाई रोक्नका लागि तेस्रो विकल्प अघि सारेको बताइएको छ। आफै महासचिव हुन नसकेको अवस्थामा नेता पुनले पूर्व गृहमन्त्रीसमेत रहेका बस्नेतलाई समर्थन गरेको वर्षमाननिकट एक नेताले बताए।

शर्माले बस्नेतको ‘काउन्टर’मा पम्फा भुसाललाई अघि सारेको समेत माओवादीभित्र चर्चा छ। महासचिवका शक्तिशाली दाबेदारको रुपमा चर्चा भइरहेका महासचिवका ‘किंग मेकर’ पुन अहिले उपचारका लागि चीनमा रहेका छन्। तर, उनको समर्थनमा बस्नेत नै महासचिवमा पक्का भएको बताइएको छ। महासचिवमा नअटेका जनार्दनलाई प्रचण्डले उपमहासचिवको लागि प्रस्ताब गरे पनि उनी सन्तुष्ट छैनन्।

आफू कुनै पनि हालतमा महासचिव नै बन्नुपर्ने अडान जनार्दनले अहिलेसम्म छाडेका छैनन्। प्रचण्डले प्रस्ताव गरेको उपमहासचिव पदमा नबस्ने निकटस्थहरूसँग स्पष्ट पारेका छन्। महासचिव नपाएपनि उपाध्यक्ष पाउनुपर्ने उनको भनाइ। निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सकिएलगतै नेता शर्माले प्रचण्ड–महरालाई भेटेर महासचिव वा उपाध्यक्ष नपाए विद्रोह गर्ने चेतावनीसमेत दिइसकेको उनीनिकट स्रोतको दाबी छ।

माओवादीको विधानअनुसार एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष हुने छन्। बैठकले पदाधिकारीमा आकांक्षी संख्या बढ्दा प्रचण्ड बाहेक अन्य पदाधिकारी चयन गर्न सकेको छैन।

‘सर्वसम्मत पदाधिकारी टुंगो लगाउँने बारेमा प्रचण्ड कमरेड आन्तरिक गृहकार्यमा हुनुहुन्छ। सुरेशसिंह (बस्नेत) कमरेड महासचिव पक्का भएपनि प्रभाकर कमरेडले लफडा गरिरहनुभएको छ। सर्वसम्मत नभई चुनावबाटै पदाधिकारी चयन गर्नुपर्ने अवस्था आएमा दुई/चार दिन लिम्बिन सक्छ,’ प्रचण्ड निकटका एक नेताले भने।

प्रकाशित मिति: : 2022-01-03 18:54:00

प्रतिकृया दिनुहोस्