मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुनः पारित

File Photo
File Photo

मिटरब्याजसम्बन्धी ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रियसभाबाट पुनः सर्वसम्मतिले पारित भएको छ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर राष्ट्रियसभामा पठाएको सो विधेयक पुन: सर्वसम्मतिले पारित भएको हो।

मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारवाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो।

अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदनेसम्बन्धी सो उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा आज राष्ट्रियसभाले संशोधन स्वीकार गरी पुनःपारित गरेको हो।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयकमाथि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा सो विधेयकमाथि छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ।

राष्ट्रियसभाको आजको पहिलो बैठकमा सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गरेका थिए। सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित पारित गरेको थियो। सभाको अर्काे बैठक यही साउन १८ गते बिहीबार अपराह्न १ बजेर १ मिनेटमा बस्नेछ।

प्रकाशित मिति: : 2023-07-27 12:38:00

प्रतिकृया दिनुहोस्