नेकपा एमालेका सांसद देवेन्द्र दाहालले एक क्विन्टल सुन तस्करी गृहमन्त्रीकाे संलग्नताबिना सम्भव नभएकाे आराेप लगाएका छन्।
राष्ट्रियसभाकाे बिहीबार बसेको बैठकको समयमा बोल्दै सांसद दाहालले याे वियषमा गृहमन्त्री र अर्थमन्त्री पनि अनुसन्धानको घेरमा रहनुपर्ने बताए।
‘योयस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नताबिना सम्भव होला र? नैतिकताको विषय होइन। उहाँले सुरक्षालाई व्यवस्थित गर्न सकिन भनेर राजीनामा दिनुपर्थ्यो। अब गृहमन्त्री र अर्थमन्त्री पनि अनुसन्धानको घेरमा रहनुपर्छ’, उनले भने।
उनले तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन्। यस्तै घटनाहरू भइरहने हाे भने सदन चल्न नसक्ने दाहालले बताए।
‘यो प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति बन्नुपर्छ, उच्चस्तरीय समिति गठन हुँदैन भने मुलुकमा तस्करीका घटना भइरहने र सदन चलिरहने होला र?’, समिति नबने संसद्को कामकारबाही अगाडि बढ्न नसक्नेतर्फ सङ्केत गर्दै उनले भने, ‘त्यसकारण उच्चस्तरीय छानबिन समिति बनोस्, समितिमा सरकार, विभिन्न राजनीतिक दलको सहभागिता होस्।’
विमानस्थलबाट अवैध सुन बाहिरिएको दिन विमानस्थल भन्सार प्रमुख र विमानस्थलका सुरक्षा प्रमुख पनि बिदामा बसेको पाइएको उल्लेख गर्दै उनले विमानस्थलको भन्सार र प्रहरी प्रमुखहरु बिदामा बसेर सेटिङमा लागेको हुनसक्ने दाबी गरे।