मास्टर भीमप्रसादकी कान्छी छोरीले उहाँको हातमा एउटा बिहेको कार्ड राखिदिँदै भन्छे,‘बाबा! यो बिहेको कार्ड पढिसक्नु भो भने मलाई दिनु है। यति राम्रो यति महङ्गो रै छ, डस्विनमा नफ्याँकी दिनुहाेला नि’ भन्दै कोठातिर पस्छे।
मास्टरजीले त्यो बिहेको कार्ड हेर्छन्। छाेरीले भने झैँ निकै आकर्षित देखिन्थ्यो। सुनौलो रङ्मा टल्किएको चाँदीका रङ्गमा झल्किएको, अत्तरको मिठो सुवास मग्मगाएको।
मास्टरजीकी श्रीमतीले भन्छिन्,‘निमन्त्रणा पत्र नै यति भव्यको छ भने त्यो विवाह झन् कति भव्यको होला हगी? त्यहाँ सबै धनीमानीहरु आउँलान्, ठूला–ठूला गिफ्टहरु ल्याउँलान्। लुगा कपडा कस्ता ब्रण्डका होलान्। त्यत्रो ठूलो समारोहमा हजुर कसरी जानुहुन्छ। न त महङ्गो गिफ्ट दिन सक्छौँ हामी न त महङ्गा कपडा लाएर जानसक्छौँ। हजुर नजानूहोस् न है। त्यहाँ धनीहरुको बीचमा हजुरको गति शूर्यको आगाडि जुनकिरीको पिलपिल किरण जस्तो हुन्छ होला की!’ मनभित्रका पीडा व्यक्त गर्दै भन्छिन्।
श्रीमतीको कुरा सुनेर ‘हेर कान्छीकी आमा! त्यो निमन्त्रणा पठाउनेले अवश्य जानेको हुनुपर्छ कि म एउटा अवकाश प्राप्त भइसकेहो शिक्षक हूँ भन्ने।यति उसलाई महङ्गा गिफ्ट नै चाहिएको भए मलाई किन निमन्त्रणा पठाउने थियो! हैन त?’ यति भन्दै उनले त्यहाँ लेखिएको दुलहा र दुलहीको नाम पढ्छन् र मुस्कुराउँदै ‘ए... मालतीको बिहे पो रहेछ। मालतीसँग धेरै वर्षपछि भेट हुने भो गुरु र शिष्य को।’ मास्टरजी गहिरो अतीतमा डुब्दै जान्छन्।
आज भन्दा १३ वर्ष पहिलेकी सानी मालतीको छवि झल्किन्छ उनको अगाडि। त्यतिबेला मास्टरजीले सरकारी स्कुलमा कक्षा–५ मा नेपाली साहित्य पढाउँथे। भीम मास्टरजी किनै चर्चित गुरु थिए। अनुशासित, समयको कदर गर्ने र विद्यार्थीहरु सबैले मान्ने र माया गर्ने गुरुका रुपमा चिनिन्थे।
एकदिन उनको कक्षामा एक नयाँ विद्यार्थीको उपस्थिति हुन्छ। उनको नाम मालती थियो। गुरुले मालतीलाई राम्रो नियालेर हेर्दै सोध्छन् ‘तिम्रो नाम के हो?’ मालतीले भक्भकिदै गरेको स्वरमा भन्छे ‘मा... मा... मा... ल... ल... त्... ती’। त्यति नाम भन्न उसले दशचोटी परेला झिम्झिम् पर्थी र नाक, मुख पनि पटक–पटक खुम्चाई रहन्थी। यो देखेर गुरु आश्चर्य पर्छन्। ओहो... यी नानीको यो कस्तो दयनीय परिस्थिति! यसरी बोल्दा भक्भकिने, मुख र नाक खुम्चाउने, घरिघरी परेला झिम्झिम पर्ने....। यी कुराहरुले उनलाई भविष्यमा घात गर्ने छ। यी आदतहरु कलिलो उमेरमै पन्छ्याउनुपर्छ। मलाई थाहा छ यो कुनै शारीरिक कमिकम्जोडीको कारण हुनुपर्छ। तर, यी कुराहरु अभ्यास गरेर ठिक हुन पनि सक्ला। त्यो दिन मास्टरजीको मनमा मातलीको चिन्ताले सताईरह्रो चुपचाप चुपचाप। अर्कोदिन मास्टरजीले मालतीको स्वरमा त्यही भक्भकाई नै देखे।
अनि मनभित्र जागेको करुणालाई पन्छ्याउँदै कडा स्वरमा भने ‘मलाई भक्भकेर बोलेको पटक्कै मन पर्दैन। मेरो अगाडि परेला झिम्झिम गर्ने र नाक, मुख खुम्चाए बोल्नेलाई ठूलो दण्ड दिनेछु।’ मातलीको मनमा डर र आँखा भरि आँसु भरिएर आउँछ। यो देख्दा गुरुको मन पनि रुन्छ। तर, केही पाउन केही गुमाउनुपर्छ।
मालतीले घर आएपछि आमा र बाबालाई सबै कुरा रुँदै सुनाउँछे र त्यो स्कुलमा नपढ्ने निर्णय पनि सुनाउँछे। भोलिपल्ट गुरुलाई भेट्न मालतीका अभिभावक दुवै आउछन् र भन्छन् ‘मास्टर जी! मालतीको यस्तो व्यवहार, एक प्रकारको रोग वा सुस्तमनस्थिति हुनसक्छ। धेरै डा.हरुसँग जचायौँ तर सबै उपचारहरु व्यर्थ भए। हजुरले उसलाई कक्षामा त्यसरी गाली गर्दा ऊ धेरै लज्जित भएकी छे। स्कुल पनि जान्न भन्छे’ भन्दै दुवै माता पिता रुन्छन्।
त्यति सुनेपछि गुरूले भन्छ, ‘हेर्नुहोस्। मलाई हजुरहरुले गलत सोच्नु भो होला। तर, मैले उनको भविष्य सजाउने काम गर्दै छु। मप्रति विश्वास राख्नुहोस् र मालतीलाई स्कुल जाने प्रेरणा दिनुहोस्।’
त्यसदिनबाट मास्टजीले मालतीको भविष्य सुधार्नेतिर लागे। मलतीलाई कक्षाको अगाडिको ब्रेञ्चमा बस्न लगाउँथे र पटक–पटक सजक गराउँथे।
पाठ पनि अरुलाई भन्दा उनलाई नै सोध्ने गर्थे। मालतीलाई गुरुको अगाडि उभिएर पाठ पढ्दा धेरै गाह्रो हुन्थ्यो। झन् भक्भकिन्थी र नाक, मुख खुम्चाई हाल्थी। परेली पनि झमझम पार्थी। मास्टरजीले पनि लठ्ठीले टेबुलमा जोड्ले ठोक्दै ‘मालती मैले के भनेको छु, याद छ होला नि। मलाई तिम्रो यस्तो बानी मन पर्दैन भनेको छु हैन?’ मालती बिचरी डरले काम्दै भक्भक नहुनका लागि कोशिस गर्थी। घरमा ऐना अगाडि उभिएर अभ्यास गर्थी।पाठ पढ्दा बोली, नाक, मुख,परेली सबैलाई नियन्त्रणमा ल्याउँदै होशमा पढ्ने गर्थी।
यसरी दैनिक अभ्यासले उसका ती कमिकम्जोरीहरूमा निक्कै सुधार आउन थाल्छन्।
तर, मनमनै मास्टरजीप्रति दुखित नजरले हेर्थी र भन्थी ‘म हजुरको व्यवहारबाट धेरै दुखित छु। हजुरले मलाई यति धेरै विद्यार्थीहरुका अगाडि लज्जित बनाउनु भएको कुरा म आजीवन बिर्सने छैन।’
मास्टरजीले मालतीको आँखामा आफूप्रति झल्किएको घृणाको परिभाषा पढ्दै मन मनै भन्छन्, ‘तिमीले एकदिन अवश्य मेरो उपकार बुझ्नेछौ मालती।’
मालती कक्षामा सबै भन्दा जेहनदार विद्यार्थी हुँदै जान्छे। साप्ताहिक, मासिक परीक्षाहरुमा प्रथम श्रेणीमा पास हुन्छे। यसरी नै वार्षिक परीक्षा हुन्छ। त्यसपछि मालती र भीम मास्टरजीको कहिल्यै आमने सामने भएन। मालतीले मास्टरजीलाई देख्ने बित्तिकै मुख लुक्थी। कक्षा–५ मा मालती प्रथम भएको कुरा सुन्दा धेरै खुशी भएका थिए मास्टरजी। मालतीको बोल्दा भक्भकीने बानी र अन्य कुराहरु पनि हराउँदै गए। मालतीको अनुहार दिनदिनै सुन्दर देखिन थाल्यो। तर, मालतीको मन भने गुरुप्रतिको घृणाले कुरुप थियो।
त्यही स्कुलमा पढाउँथे मास्टरजी, उही स्कुलमा पढ्दै मालतीले कक्षा १० को परीक्षा दिई। आफुलाई कक्षा ५ मा पढाएका गुरु, जसको कृपाले ऊ आज जेहनदार र रुपवती भएकी थिई, त्यही गुरुको कृतज्ञतालाई भने कुनै दिन पनि सम्झिने। दिन बिते, साल बिते, धेरै बसन्तहरु पार गरे। आज भीम मास्टरजी अवकाश प्राप्त एक बुढा मान्छे भए।
भोलि पल्ट मास्टरजी आफ्नो थोत्रो साइकल लिएर बिहेमा जान्छन्। बिहेको रमझम, सम्पन्नताले घेरिएको परिवेश मास्टरजीलाई कसैले आतिथ्य स्वागत गर्न जरुरी ठानेनन्। उनी कुनै एउटा टेबुलमा बस्न के लागेका मात्र थिए पछाडि बाट ‘मनस्टरजी यता पाल्नुहोला’ भन्ने एकदमै भद्र भलादमीको स्वर सुनियो। मालतीका बुबा र आमा रहेछन्।
उनीहरुले मास्टरजीलाई विवाहको विशेष अतिथि कक्षमा लिएर जान्छन् र भन्छन्, ‘उहाँ हेर्नुस्! हजुरकी शिष्य मालती, हजुरले दिनुभएको सुन्दरता..’ मलतीका जोडीलाई देखेर उनी गदगद् हुन्छन्।
दुबै जना गुरुको समिप आउँछन् र चरण स्पर्श गर्दै मालतीले दुलहालाई भन्छे,‘मैले कुरा गरिरहने मेरा आदरणीय गुरु, मेरा घृणाहरु सहेर मलाई प्रेम गर्ने गुरु।’ मालतीका आँखामा टिल्पिल टिल्पिल आँसु र गुरुप्रति क्षमायाचना मागिरहेका शब्दहरु छछल्कि रहेका थिए।
मास्टरजीले आँखामा हर्षका आँसुहरु लुकाउँदै दुबैका शिरमा आशिर्वादका हात राखिदिन्छन्।