राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा ठूलो सेटिङ भएको बताएका छन्।
प्रतिनिधिसभाकाे बुधबारकाे बैठकमा बोल्दै उनले यस्ता सेटिङहरू निरन्तर चल्दै आएकाे दाबी गरे। गम्भीर विषयहरूमा केही कर्मचारीको सरुवासम्म मात्र सीमित पारेका उनले टिप्पणी गरे।
‘यस्तो गम्भीर विषयमा विभिन्न निकायका प्रमुखलाई तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि केही कर्मचारीहरूलाई सरूवा साटफेर गर्नुपर्ने हो ?’ डामेर छोडेपछि त्यहाँ भएका सूचना लुकाउने र अनुसन्धान प्रभावित पार्ने प्रशस्त समय दिइएको छ। कतिले फोन फर्म्याट गर्लान्, कतिले टेलिभिजनमा तामातुलसी गर्लान्’, उनले भने।
सुन तस्करीकाे विषयमा सम्बन्धित निकायले गम्भीर रूपमा लिएर सरकारले यसकाे जवाफ दिनुपर्ने बताए।
लामिछानेले गम्भीर अनियमितताका घटनामा हाँगाबिँगा मात्र काटेर बस्न नहुने बताए।
सांसद लामिछानेले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले सुरूआत गर्यो, अड्कियो। ललितानिवासमा पनि जरोसम्म पुगेन। सुनकाण्डमा अरोपीको नाम आउँछ, तर जरोमा जाँदैन कि भन्ने देखिइरहेको छ। पर्याप्त अनुसन्धान गरेर टुंगोमा पुर्याउनुपर्छ।’