सय किलो सुन प्रकरण: एमालेले संसद बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने भएको छ।

त्रिभुवन विमानस्थलबाट बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब एक सय केजी सुन बरामद प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रतिनिधिसभा बैठक अवरोध गर्ने तयारी एमालेले गरेको हो।

यसै विषयको छलफलको लागि अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा शीर्ष नेताहरु भेला भएका छन्।

‘सय किलो सुन बरामद प्रकरण’मा गृहमन्त्रीको कमजोरी देखिएकोले संसद बैठक अवरोध गरेर राजीनामा माग्ने प्रमुख सचेतक पदम गिरीले बताए।

बालकोटको बैठक सकिएलगत्तै दिउँसो १२ बजे संसदीय दलको बैठक बस्दैछ।

साउन २ गते हङकङबाट माेटरसाइकलकाे ब्रेक शुमा राखेर नेपाल ल्याइएको करिब एक सय किलो अवैध सुन राजस्व अनुसन्धान विभागको विशेष टोलीले सिनामंगलबाट बरामद गरेको थियो।

त्यसलगत्तै एमालेले गृहमन्त्रीको राजीनामा मागेर सडक आन्दोलनसमेत गरेको थियो। भने, मंगलबार ओलीले गृहमन्त्रीको चर्काे आलोचना गर्दै विभिन्न प्रश्न खडा गरेका थिए।

ती प्रश्नको जवाफ नदिए गृहमन्त्रीको राजीनामा माग्ने एमालेको तयारी छ।

प्रकाशित मिति: : 2023-07-26 10:37:00

प्रतिकृया दिनुहोस्