रमेश खरेलले मलाई मार्न खोजेकाे थियो, पछि खुट्टा ढाेग्न आयाे: बामदेव गौतम (भिडियाेसहित)

राष्ट्रियसभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले पूर्व डिआइजी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश खरेलले आफूलाई मार्ने प्रयत्न गरेकाे आरोप लगाएका छन्। 

एउटा टेलिभिजन अन्तर्वातामा खरेलले बामदेव गृहमन्त्री भएका बेला पनि सुन तस्करी हुने गरेको बताएका छन्। त्यसको जवाफ दिँदै राजधानीमा आयाेजित एउटा कार्यक्रममा गौतमले भने ‘त्यो बेला रमेश खरेलले मलाई बामदेवलाई जहाँ भेट्यो त्यहीँ यही रिभल्वरले ठोक्छु  भनेकाे थियाे। पछि मेराे गल्ती भयाे भन्दै मेराे खुट्टा ढोग्न आयाे।’

उनले आफ्नो पालामा आफ्नै संलग्नतामा भएकाे भए किन त्यही बेला हतकडी लगाइएन भन्ने प्रश्न पनि गरे। 

सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको उनले दाबी गरे। 

शनिबार रिपोर्टर्स क्लब नेपालकाे विशेष साक्षात्कारमा बोल्दै नेता गौतमले राजनीतिक संलग्नता भएको भए उनीहरुले भन्ने दाबी गरेका हुन्। 

‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन। यो गलत कुरा हो। कति ठाउँ बलात्कार हुन्छ? राजनीतिक संलग्नता हुन्छ त? कति ठाउँमा चोरी हुन्छ? अनि के राजनीतिक संलग्नता हुन्छ? कति ठाउँ बाटाघाटामा मानिसहरु मार्दै हिँड्छन्? त्यहाँ राजनीतिक संलग्नत हुन्छ त? उनले प्रश्न गर्दै भने, ‘सडक दुर्घटना, सबै ठाउँमा संलग्नता हुन्छ? जब तथ्यले के भन्छ, त्यो हेर्नुपर्छ। हरेक दलका नेताहरु त्यहाँ उपस्थित भएका छन्? कमचारीमात्रै उपस्थित् छन्। राजनीतिक संलग्नता भएको भए उनीहरुले भन्लान् नि।’

गौतमले आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको पनि दाबी गरे। उनले भने, ‘म पहिलोपटक ०५४ सालमा  गृहमन्त्री भएँ, म मन्त्री हुँदासम्म सुन काण्ड भएन। सुन काण्ड पछि उब्जियो। मन्त्रीबाट हटेपछि उब्जियो। बरु म सरकारमै भएको बेला मलाई कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाट धेरै आवाजहरु उठाइए। र, अन्तिममा मलाई त्यही शक्तिले सरकारबाट हटायो, म त्यो बेला ७ महिनामात्रै मन्त्री भएको हुँ।’

राजनीतिक नेतृत्वको संलग्नताविना यत्तिको मात्रामा सुन भित्रिन सक्छ त? भन्ने  प्रश्नमा उनले भने, ‘जाँच पड्ताल गर्दै जाँदा लहरो तान्दाखेरि पहरो गर्जनेजस्ता हाम्रा उखानहरु छन्, त्यस्तो भयो भनेमात्रै मन्त्रीपनि प्रधानमन्त्रीपनि को–को हो तानिने स्थिति आउनसक्छ। नत्र भने त्यहाँ खटिएका कर्मचारीहरु नै मुख्य रूपमा दोषी हुन्छन्। त्यसो भएर सुन आओस् कि अरु कुनै विषय आउन् कि? त्यसमा सिधै मन्त्री जोडिने अनि प्रधानमन्त्री जोडिने वा राष्ट्रपति जोडिने हुँदैन।’

गौतमले ललिता निवास प्रकरणमा गम्भीर अनुसन्धान भैरहेको बताए। ‘ठूला माछा किन पक्राउ परेनन्? अब पक्राउ परेनन् त के भएर परेनन्? जहाँबाट नेपाल प्रहरीको सिआईबी प्रवेश गरेको छ, त्यो ठाउँबाट प्रवेश गर्दा, बाटाघाटाहरु कहाँ कहाँसम्म पुगेका छन्? त्यो बुटोबाट प्रवेश गरेको छ, त्यो एउटा ठूलो भ्रष्टाचारको बुटो छ भने तिनका जरा–कहाँ कहाँ पुगेको छ, त्यहीँ त्यहीँ जाउन्। त्यसरी पर्छन् भने साना माछा होइन, ठूला माछा अनि ठूला माछालाई पनि खाने गोही, हडियाल, घडियाल सबै आउँछन्’, उनले भने।

नेपाली सेनाको संख्या घटाउने कुरा वाहियात भएको पनि उनको तर्क छ। उनले सेनालाई अपमान हुनेगरी बोली र बचन दिन नहुने पनि बताए। 

उनले भने, ‘सेनाको सम्बन्धमा कुरा गर्नुहुन्छ भने नेपाली सेनाले ऐतिहासिक कर्तव्य निर्वाह गरेको छ, यस्तो निर्वाह गर्ने सेना संसारमा विरलै पाउँछन्। नेपाल जोगाउने काम नेपाली सेनाले गरेको छ। नेपालमा पर्ने हरेक विपतमा जोगाउने काम पनि यही नेपाली सेनाले गरेको छ। संविधानसभाले नेपालको संविधान ०७२ जारी गर्यो, सेनाले त्यो संविधान मानेर हामी चल्न तयार छौं भन्यो। सेनाले हामी प्रतिगामी शक्ति होइन भनेर भन्यो। यो सेना–त्यसबेला निर्माण भयो, त्यस्तो सेनालाई अपमान हुनेगरी बोली र बचन दिनुहुन्न। आजको नेपालको सरक्षण त्यसैले गरेको हो। यो सेना ठूलो भयो भनेर चर्चा नगरौं।’

आफूले सेनाको विषयमा सदनमा पनि बोलेको स्मरण गराउँदै गौतमले सेनाको संख्या घटाउनुभन्दा प्रतिनिधिसभाका सदस्यहरुको संख्या घटाउन सुझाए। तीन तहकाे पैसा जोगाएर बरु विकास गर्न सकिने भन्दै नेता गाैतमले प्रदेशसभा विघटन गर्न सुझाए।

‘मैले सदनमा पनि त्यही बोलेको हुँ। सेनालाई घटाएर पैसा बचाएर देश विका गर्ने भन्नु वाहियात कुरा हो। बरु प्रतिनिधिसभाका २७५ लाई १६५ मा झारिनुदिनुपर्छ। समावेशी चरित्र त्यसैभित्र (१६५) भित्रै गरिदिनुहोस्’, उनले भने, ‘राष्ट्रियसभाको छुट्टै कुनै भूमिका छैन। यसको आवश्यकत्ता छैन। प्रदेशसभा छ, उता तलपनि ७५३ स्थानीय सरकार छ। संसारमा नभएको सरकार नेपालमा भए। प्रदेशसभा विघटन गरे हुन्छ। ती ठाउँमा गएको पैसा जोगाएर बरु विकास गर्न सकिन्छ। देश विकास गर्न योजना हुनुपर्छ।’

प्रकाशित मिति: : 2023-07-22 19:00:00

प्रतिकृया दिनुहोस्