सन्दर्भ: राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

जब ईन्दिरा गान्धीलाई बीपीले भने, ‘तिम्रो सोमत रहेनछ’

नवीन अर्याल

काठमाडाैँ
Agency

२०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किनुअघि बीपी कोइराला भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग भेट्न नयाँ दिल्ली पुगेका थिए।

त्यतिबेला इन्दिरा बीपीसँग त्यति खुसी थिइनन्। कारण थियो, जयप्रकाश नारायणले इन्दिरा सरकारलाई लक्षित गर्दै सञ्चालन गरेको ‘सम्पूर्ण क्रान्ति’ को पक्षमा बीपीको झुकाव।

बीपीलाई राम्रोसँग थाहा थियो, एउटा छिमेकी देशको नेताले अर्को देशको राजनीतिमा हात हाल्नु हुँदैन। उनी आफै पनि नेपालमा भारत वा अन्य कुनै राष्ट्रले चलखेल गरेको रुचाउँदैनथे। उनको स्पष्ट दृष्टिकोण थियो–अर्काको सार्वभौमिकतामाथि हस्तक्षेप गर्न हुन्न।

२०२५ सालमा सुन्दरीजल जेलबाट छुटेर भारतको बनारसमा निर्वासनका लागि जाँदा भारतीय समाजवादी आन्दोलन दुई चिरामा विभाजन भइसकेको थियो।

भारतीय राष्ट्रिय कांग्रेसबाट विभाजन भएर प्रजा समाजवादी पार्टी स्थापना गरेका भारतका दुई दिग्गज समाजवादी नेता डा. राममनोहर लोहिया र जयप्रकाश नारायण बीपी सुन्दरीजलमा थुनामा हुँदा अलग भइसकेका थिए।

बीपीको झुकाव जयप्रकाशतर्फ थियो। त्यसैले, भारत निर्वासनमा गएपछि इन्दिराले बीपीको लाइन बुझने प्रयास गरिन्। उनलाई थाहा थियो–बीपी चुप लागेर बस्नेवाला छैनन् भनेर।

त्यतिबेला बीपीले इन्दिरालाई भनेका थिए, ‘मलाई अर्को देशको सार्वभौभिकताको विषयमा हेक्का छ। तर, म जयप्रकाशको स्ट्याण्डलाई समर्थन गर्छु।’

आन्दोलनले उग्र रूप लियो।

इन्दिराले २०३२ सालमा इमर्जेन्सी लागू गरिन्। जयप्रकाश, मोरारजी देसाई र अटलबिहारी बाजपेयीलगायत सम्पूर्ण विपक्षी नेता पक्राउ परे। बीपीमाथि आन्दोलनलाई उर्जा दिने अर्को जिम्मेवारी थपियो।

त्यतिबेलै दिल्लीमा इन्दिरासँग बीपीको ठाकठूक भयो। इन्दिराले बीपीलाई सम्झाउँन खोजिन्–‘तपाईको राजनीति नेपालमा हो।जेपी (जयप्रकाश) को साथ छोडिदिनुस्।’

बीपीलाई इन्दिराको रुखोपन मन परेनछ। गान्धीको नामले राजनीति गरिरहेकी इन्दिरालाई यतिबेला बीपीले जवाफ फर्काएछन्, ‘तिमीले महात्मा गान्धीलाई राम्रोसँग चिन्न सकेकी रहिनछौं। महात्मा गान्धी जीवित रहेको भए, तिमीलाई थाहा हुन्थ्यो, यो देशको स्वतन्त्रता आन्दोलनमा मेरो कत्तिको भूमिका थियो भनेर।’

यसपछि भारतले बीपीमाथि निगरानी बढायो। इमर्जेन्सीअघि नै बनारसस्थित मोतीझिलमा बीपीलाई मार्ने असफल प्रयास भइसकेको थियो।

इन्दिराले बिमान अपहरणलाई ठूलो मुद्धा बनाइन। बीपीको डेरामै छापा मारियो। उनलाई दिँदै आएको सुरक्षाकर्मी नै सुराकी बने। इन्दिराले प्रस्ताव राखिन्, ‘भारतसँग डिफेन्स र परराष्ट्र ‘प्याक’ गर। म तिमीलाई नेपालमा पुनस्र्थापन गर्न सहयोग गर्छु।’

बीपीले मानेनन्।

फेरि २०३१ सालमा सिक्किमको भारतमा विलय, भुटानको रक्षा र परराष्ट्रमा भारतको आधिपत्य, संसारको बदलिँदो राजनीतिक परिस्थिति–यी सबैलाई मूल्यांकन गर्दै बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किने मनस्थितिमा पुगे।

नेपाल फर्किनुअघि भारतको संसद् भवनको लबीमा बीपीको भेट इन्दिरासँग भएको थियो। उनले त्यतिबेला इन्दिरासँग बिदा माग्दै भनेका थिए, ‘म देश फर्किँदै छु।’
बीपीको कुरा सुनेर इन्दिरा चकित परिन्।

उनले बीपीबाट यस्तो निर्णयको उपेक्षा गरेकी थिइनन्।

इन्दिरा चाहन्थिन्, ‘बीपी नेपाल नफर्किऊन्। बीपीलाई अगाडि देखाएर नेपाल (राजा) सँग ठूलै सम्झौता गर्न सकिन्छ भन्ने उनलाई लागेको थियो।

सँगसँगै उनी यो पनि चाहन्थिन्, आफूविरूद्धको आन्दोलनमा बीपी सक्रिय नभइदिऊन्। उनी राजनीतिक शरणार्थीका रूपमा चुप लागेर बसून्। बीपीको कुरा सुनेपछि इन्दिराले भनिन्, ‘किन फर्किनुहुन्छ? नेपालमा तपाईँको ज्यानको खतरा छ। हामी यहाँबाट सहयोग गरिहाल्छौं नि।’

यतिबेला बीपीले हार्दिकतासाथ भने, ‘होइन, अब म राजासँगै मिलेर जान्छु।’ बीपीको अडान सुनेर इन्दिराले मुख अमिलो पार्दै हात हल्लाइन्, बिदाईको भावमा।

बीपीलाई इन्दिराको त्यो रूखो व्यवहार मन परेनछ। उनले त्यही भनिदिएछन्, ‘तिमीसँग आफ्नो बाबु (पूर्व भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू) जत्तिको सोमत पनि रहेनछ। २००७ सालमा यही ठाउँबाट बिदा माग्दा तिम्रो बाबुले मलाई ढोकासम्म छोड्न आएका थिए।’

बीपीले आफ्नो ६८ वर्षे जीवनकालमध्ये ४४ वर्ष भारतमै बिताए। उनी २००७ सालदेखि २०१७ सालसम्म नेपालको खुला राजनीतिमा समावेश भए। ८ वर्ष सुन्दरीजल जेलमा बन्दी अवस्थामा रहे। २०३३ मा मेलमिलापको नीति लिएर देश फर्किएपछि पनि २ वर्ष महाराजगन्जस्थित प्रहरी तालिम केन्द्रमा बन्दी अवस्थामै बिताउनुपर्यो।

त्यसको ५ वर्ष, २०३९ सालमा निधन नहुञ्जेल पञ्चायतको निषेध राजनीतिमा रहे।

...

बीपीको जन्म बनारसमै भयो। उनले आध्यात्मिक वा भौतिक दुवै शिक्षा बनारसमै लिए। बनारसमा ७–८ कक्षामा अध्ययनरत रहँदा उनी सोच्ने गर्थे, हिंसाबिना क्रान्ति सम्भव हुँदैन।

किशोर अवस्थामा उनको दर्शन थियो, कसैलाई तर्साउन पनि हिंसाको आवश्यकता पर्छ। स्कुले जीवनदेखि नै बढी तर्क गर्ने स्वभावका बीपी सामन्ती सोचलाई ‘कुण्डलिनी मारेको सर्पजस्तै’ मान्थे।

उनको तर्क थियो, त्यसलाई भत्काउन ठूलो आतंक अनिवार्य छ। त्यसैले, उनी स्कुले जीवनमै बेलायती सुरक्षाकर्मीविरूद्ध लक्षित बाँदर सेनामा सम्मिलित भएका थिए। उनी पक्राउ पनि परे। तर, ‘धेरै फुच्चे छ’ भनेर उनलाई छोडियो।

बनारसका चर्चित वकिल सागर सिंहको बीपीसँग गहिरो दोस्ती थियो। अहिले उनको निधन भइसकेको छ। उनी बीपी बारे भन्थे, ‘पहिले बीपी कम्युनिस्ट दर्शनबाट प्रेरित थिए। तर, कार्ल माक्र्सका सबै किताब गहन रूपमा अध्ययन गरिसकेपछि उनी कम्युनिस्टहरू धेरै उग्र हुन्छन् भन्ने निचोडमा पुगे।’

बीपीको कम्युनिस्टप्रतिको तर्क थियो, ‘यिनीहरू तातो फलामजस्तै हुन्। जति चाडो तात्छन्, त्यति नै चाँडो सेलाउँछन् पनि। फेरि यिनीहरूलाई तातेका बेला जुनसुकै आकारमा ढाल्न सकिन्छ।’

दार्जिलिङमा वकालत गर्ने क्रममा बीपीमा परिपक्वता आउन थालेको ठम्याइ थियो, सागर सिंहको।

...

भारतमा ‘अंग्रेज छोडो’ आन्दोलन सुरु हुँदा भारतीय राष्ट्रिय कांग्रेस निकै सशक्त पार्टी थियो। यही पार्टीमा आचार्य नरेन्द्रदेव, डा. राममनोहर लोहिया र जयप्रकाश नारायणजस्ता हस्ती थिए। बीपी पनि यिनीहरूबाट निकै प्रभावित थिए।

यिनीहरू त्यतिबेलै ‘राजनीतिक रूपमा महात्मा गान्धीको छोरा, तर कार्ल माक्र्सको विद्यार्थी’ भनेर चिनिन्थे। उनीहरू कांग्रेस पार्टीभित्र माक्र्सको विचारमा बहस चलाउँथे। भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा बीपी लोहियासँगै २ वर्ष जेलमा बसे। उनी लोहियासँग झनै प्रभावित भए। पछि जयप्रकाशसँगको निकटताले लोहियासँग उनको दुरी बढ्यो।

सुरुका दिनमा बीपीको क्षमताबाट लोहिया पनि प्रभावित थिए। बनारस विश्वविद्यालयमा अध्ययनरत रहँदा बीपीलाई थुप्रै कार्यक्रममा भाषण गर्न लगाएका थिए, लोहियाले।

लोहिया आफै पनि भारतीय राजनीतिमा वजनदार भाषण गर्ने तर्कशील नेतामा गनिन्छन्। अहिले पनि भारतमा नेहरूलाई पक्षघात (हर्ट अट्याक) हुनुमा लोहियाको भाषणको पनि हात छ भन्नेहरूको ठूलो जमात छ।

नेहरू प्रधानमन्त्री हुँदा उनले भारतीय संसदमा प्रतिव्यक्ति आयको विषयमा चर्को बहस गरेका थिए, जसमा नेहरू सरकारले आफ्नो भूल स्वीकार गरेको थियो। त्यो बहसलाई अहिले पनि भारतीयहरू ‘१५ आना, ३ आना’ भनेर सम्झिन्छन्।

२०१५ सालमा बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भए। त्यतिबेला लोहियाले २ वटा मुख्य मुद्धामा केन्द्रित हुन बीपीलाई सल्लाह दिएका थिए, पहिलो– आधुनिक भूमिसुधार लागु गर्नू

दोस्रो– पारिवारिक व्यक्तिलाई सत्ताको लाभ नदिनू।

लोहियाको पहिलो कुरा म बीपी सहमत थिए। तर, दोस्रो कुरामा बीपीको आफ्नै तर्क थियो। उनी नेपालमा पढेलेखेका मान्छे कम भएको, त्यसमा पनि धेरै जसो पढेका आफ्नै मान्छे भएको उत्तर दिन्थे।

त्यसपछि लोहियाको भनाइ थियो, बीपी सामन्तवादतर्फ अग्रसर छन्।

...

जयप्रकाश नारायणका कारण लोहियासँग बीपीको दुरी केही बढे पनि उनीप्रति श्रद्धा थियो। २००७ सालपछि पनि प्रजातान्त्रिक परिपाटी स्थापना गर्न रस्साकस्सी गरिरहेका बीपीलाई एकपल्ट लोहियाले सोधेका रहेछन्, ‘तिमीमाथि यति ठूलो थिचोमिचो भयो। राजा, राजपरिवारबाट मात्र होइन, तिम्रै आफ्नो परिवारबाट पनि। उनीहरूको विषयमा तिम्रो धारणा के छ?’

बीपी भन्थे, ‘मैले राज्य सञ्चालन गर्दा त्यहाँ चोर पनि हुन्छन्, फटाहा पनि। सबैको नेतृत्व मैले गरेको हुन्छु। त्यसैले, एउटा असल व्यक्ति आफ्नो अभियानमा कहिल्यै विचलित हुँदैन।’

उनले त्यतिबेलै जवाहरलाल नेहरूको विषयमा आफ्नो धारणा पोखेका थिए, ‘नेहरू मसँग कुरा एउटा गर्छन्, काम अर्को। उनले मलाई प्रयोग गर्न खोजे।’

बीपी आफ्नो दुःखका विषयमा बनारसमा आफ्ना नजिकका साथीसँग भन्ने गर्थे, ‘खोलाको ढुंगालाई कालिगढले खोजेर ल्याउँछ। त्यो ढुंगाले थुप्रै हम्मर खान्छ। घन खान्छ। कुन्जाको चोट खान्छ। त्यसपछि उसको हात बन्छ। खुट्टा हुँदै अनुहार बन्छ। र, पछि त्यो भगवान बन्छ। सबैले त्यो ढुंगालाई पूजा गर्छन्। म पनि त्यस्तै हो। परिपक्व त्यतिखेर भइन्छ, जतिखेर घात, प्रतिघात र हन्डर खाइन्छ।’

उनी भारतीय नेतासँग स्पष्ट भन्थे, ‘मेरो मुटुको सञ्चारमा तीन कुरा बग्छन्– राष्ट्रियता, प्रजातन्त्र र समाजवाद। यो मान्यताविरूद्ध म कहिल्यै सम्झौता गर्न सक्दिनँ।’

र, हो पनि बीपीले नेपाली कांग्रेसको यी तीन मुलभूत आर्दशविरूद्ध कहिल्यै सम्झौता गरेनन्।

(पुनःप्रकाशित)

प्रकाशित मिति: : 2021-12-31 08:19:00

प्रतिकृया दिनुहोस्

    बिपीले राजनीतिक क्लास पनि लिने गर्दथे। चन्द्र शेखर र मधु दण्डवते लगायत उनीसँग राजनीतिको शिक्षा लिन आउथे। चन्द्र शेखरले मसँग पनि भनेको थिए यो कुरा बिपीको अन्त्यष्टिमा यहाँ आएको वेला । त्यतिखेर म सक्रिय पत्रकारिता थिए।

    • एक बर्ष अगाडि
    • BK