संक्रमणदर घट्दै
पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग ७६ जिल्लामा पुगेको छ। पशु सेवा विभागकाअनुसार मनाङबाहेक देशका सबै जिल्लाका पशुमा लम्पी स्किन रोग देखा परेको छ।
लम्पी स्किन रोगका कारण ७६ जिल्लाका २५ हजार ७८२ पशु मरेको विभागले जानकारी दिएको छ। हालसम्म ७ लाख ९ हजार २०३ पशुमा रोगको संक्रमण पुष्टि भएकोमा ४ लाख ५३ हजार ८१९ पशु निको भएका छन्।
लम्की स्किन रोगले कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका पशुहरु बढी प्रभावित भएको पशु सेवा विभागकी महानिर्देशक डा. सम्झनाकुमारी काफ्ले पाण्डेले बताइन्।
हाल २ लाख २९ हजार ६०२ पशु सक्रिय संक्रमित छन्। डा. पाण्डेले लम्पी स्किन रोग क्रमिक रुपमा घट्दो क्रममा रहेको बताइन्। उनले संघ, प्रदेश र स्थानीय तहबाट पशु चिकित्सक खटाइएर रोग नियन्त्रणका लागि पहल भइरहेको जानकारी दिइन्।
नेपालमा पहिलो पटक २०७७ सालमा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाइगोरुहरुमा देखा परेको लम्की स्किन रोग पछिल्लो वर्षहरुमा महामारीको रुपमा देखिएको छ। २०७७ र २०७८ सालमा १६ जिल्लाका २९ पालिकामा रोग फैलदा ३ हजार ३ सय १ पशु संक्रमित भएका थिए भने १३ वटा पशु मरेका थिए।
२०७९ सालबाट थप महामारीका रुपमा देखा परेको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारलाई निकै कठिन भएको छ। लम्पी स्किन रोग लागेमा पशुमा उच्च ज्वरो आउने, दानापानी कम दाने, दुध उत्पादन घट्ने, छालामा गोला गिर्खाहरु आउने, खुट्टा जोर्नीहरु सुन्निनेलगायतको लक्षण देखिन्छ।
लम्पी स्किन रोगले विशेष गरेर बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका दुधालु तथा गर्भिनी गाईभैसीमा संक्रमण गर्ने पशु सेवा विभागले जनाएको छ।