२०६४ काे चुनाव हामीले ठूलो भाेलूममा जितेका थियाैं। बहुमतकाे बेला हामीले जनपक्षीय कामहरु गर्नुपर्थ्याे सकेनौं। त्याे उत्साह उत्साहमै गयाे। त्याे हुँदा हामीले जनताकाे विश्वास गुमायाैं। जनताले हामीलाई प्रश्न गरे। भाेट दिन इन्कार गरे। संविधान लेखिसकेपछि हाम्राे भाेलुम घट्न थाल्याे। हामीले निकै संघर्ष गरेर संविधान लेखनकाे काम सकायाैं। तर, जनतालाई वाचा गरे अनुरुपको संविधान लेख्न सकेनौं। तथापि, पुरानाे भन्दा धेरै प्रगतिशील संविधान लेख्न सफल भयाैं। जनताका धेरै सवालहरुलाई संविधानमा स्थापित गर्न सक्यौं। तर, संस्थागत रुपमा जनतालाई बुझाउने सवालमा भने हामी चुक्याैं।
समानुपातिक समावेशीता, गणतन्त्र, धर्म निरपेक्षता, लोकतन्त्रका कुराहरु हामीले जबर्जस्त स्थापित गर्यौं। यी विशेष प्रावधानहरु कसले गर्यो त भन्ने सवालमा क्रेडिट जसले पनि लगिदिने भयाे। मूल एजेन्डा त हाम्राे थियो। हाम्राे एजेन्डालाई संविधानमा स्थापित गराउने संघर्षमा हामी धेरै हदसम्म सफल पनि भयाैं। तर, ०७४ सम्म आइपुग्दा त्यसलाई क्यास गर्न सकिएन। हामी चुक्याैं।
जनताकाे मनाेविज्ञान र हामीले स्थापित गरेका एजेन्डाहरुलाई सही ढंगले समायोजन गर्न सकिएन। यो मेराे आफ्नाे अनुभूति हाे। पार्टीको समीक्षा पनि यही हो। याे ०७४ सम्मको कुरा हो। तर, ०८० आइपुग्दा हामीले जे जे गर्नुपर्ने थियो त्यो नै गर्न सकेनौं। अहिले हामी निकै सानो छाैं। ३२ सिट भनेको हामी चुक्नुको परिणाम हो।
गम्भीर भएर समीक्षा गर्दा हामी सामाजिक हिसाबले पनि कहीँ न कहीँ स्खलीत भयौं। जस्तो कि हामीले दुईवटा बिहे गर्न हुँदैन भनेका थियौं। अन्तरजातीय बिहेलाई प्राेत्साहन दिनुपर्छ भनेका थियौं। जाँड, रक्सी, जुवातासविरुद्ध हामीले एउटा अभियान नै चलाएका थियौं। समाज विकृतितिर गयो। यसलाई ठिक ठाउँमा ल्याउनुपर्छ भनेका थियौं। तर, आज हामी त्यही क्रियाकलाप गरिरहेका छाैं। हाम्रा कार्याकर्ताहरु त्यही गरिरहेका छन्, जसको हिजो हामीले खरो विरोध गरेका थियौं।
समग्रमा कार्यकर्ता र केही नेता साथीहरुसमेत विकृतिको लाइनमा जाँदा जनतामा माओवादी र अरुमा फरक छैन भन्ने भान भयाे। याे प्रश्न जनताले नै बढी गरे। यसलाई कसरी निराकरण गर्न सकिन्छ त? माओवादी रुपान्तरण हुने कि सकिने भन्ने सवाल व्यापक रुपमा उठ्याे। केन्द्रीय कमिटीकाे बैठकमा यो विषयमा लामाे छलफल पनि भयो। सबै आफ्ना कुरा खुलेर राख्न पायौं। सबैले अन्तरमनदेखि नै भाग लियौं। पार्टीले नै याे वातावरणकाे सिर्जना गर्यो। पार्टीको अन्तिम संश्लेषण भनेकाे यदि माओवादी यी विषयमा रुपान्तरण हुन सकेन भने सकिन्छ भन्ने थियाे। सकिने हाे भने केही पनि गर्न पर्दैन। यदि रुपान्तरण हुने हाे भने व्यापक जनतामाझ गएर आफ्नो कुरा राख्ने र उहाँहरुका कुरा सुन्ने गर्नुपर्छ भन्ने निष्कर्ष निक्लियाे। यही उद्देश्यका साथ यो अभियानको सुरुवात भएको हो।
याे अभियानले हरेक जिल्लामा एक जनालाई इन्चार्जको जिम्मेवारी दिएर पठायो। कर्णालीका दसवटा जिल्लामा इन्चार्ज ताेक्ने क्रममा म एक जना महिलामात्रै थिएँ। म मुगुको जिम्मेवारी लिएर हिँडेकी थिएँ। माओवादीले मुगुमा संगठन निर्माण गर्ने क्रममा ०५७/०५८ सालतिर म मुगु गएकी थिएँ। त्यतिखेर पार्टीले मलाई त्यहाँको सेक्रेटरीको जिम्मेवारी दिएर पठाएको थियाे। अहिले पनि मलाई त्यहीँ राख्दा उपयुक्त हुन्छ भनेर पार्टीले मलाई नै जिम्मेवारी दिएर पठायाे। मुगुले मेरा पुराना दिनलाई पुनर्ताजगी गराएको छ। नयाँ सुरुवाती दिन र पार्टीको जनतामाझ छवि बिग्रेपछि रुपान्तरित हुने समयमा एउटै जिल्लामा खटिन पाउनु मेरा लागि अवसर थियाे।
यो मेराे अनुभूति हाे। अध्ययन पनि हाे। याे अध्ययनकाे क्रममा अत्यन्तै कठिन भूगाेलसँगकाे सामीप्यता बढाउन पाइयो। यो अवधिसम्म आइपुग्दा दुईपल्ट त्यो भूगोलले मलाई तान्यो। त्यहाँसम्म जानलाई यातायातको गतिलो माध्यम बनिसकेको छैन। त्यहाँ पुगिसकेपछि अलिअलि सहज भनेकाे खत्याड साइडको भूगोल हाे। त्यहाँ जानलाई कि सिंजाबाट बाटाे हुनुपर्यो नत्रभने सदरमुकाम गमगडीबाट पुग्न सम्भव छैन, निकुञ्जका कारणले। भाैगाेलिक रुपमा मुगु अत्यन्तै विकट छ। त्यहाँका पत्रकारहरुसँग कुरा गर्दा र उहाँहरुकाे रेकर्ड अनुसार एक सय ५० वटा गाउँ अत्यन्तै जोखिममा छन्। कुनै पनि ठाउँमा सहज रुपले जान सकिने अवस्था छैन। एक गाउँबाट अर्काे गाउँ जान दुई ढाई घण्टा लाग्छ। अलिकति सहज भनेको रारा छायानाथका गाउँहरु हुन। त्यो पहि केही वडामा मात्रै। १०, ११ र १२ नम्बर वडामा बाहेक अरु ठाउँ ठिकै हाे।
सबैभन्दा कठिन भूगोल कार्मराेङ गाउँपालिकाको हाे। त्यहाँ एउटा गाउँको एउटा वडा छ। एउटा गाउँबाट अर्को गाउँमा जान चारदेखि पाँच घण्टा लाग्छ। कहिलेकाहीँ हुम्ला जाने बेला बिहान गाडी पाइन्छ तर फर्किनेबेला पाइँदैन। त्यहाँ जम्मा चारवटा पालिका छन् भने ४५ वटा वडा छन्। अधिकांश ठाउँको भूगोल कठिन लाग्याे। म सबै पालिकामा पुगेँ। अधिकांश वडामा पनि पुगेँ। केही वडाहरु बाँकी छन्।
यी सबै ठाउँहरुमा पुग्दा मुगाली जनताले भाैगाेलिक विकटताकाे सास्ती खेपिरहेका छन्। भाैगाेलिक विकटताले जनतालाई गरिबीको दुस्चक्रमा फसाएकाे छ। गरिबीका कारणले बेरोजगारी हुने नै भयाे। शिक्षाकाे कमी छ। शिक्षित मान्छेहरु कुलतमा फसेका छन्। बुझेकाहरु मुगुमा बस्दैनन्। पढेकाहरु आफूले आर्जन गरेकाे ज्ञानलाई आफ्नाे भूमिमा प्रयाेग गर्न तयार छैनन्। सामूहिक स्वार्थ कम र व्यक्तिगत स्वार्थमा बढी देखिन्छ। सामूहिक स्वार्थमा लाग्नुपर्छ भन्ने चेतना कम छ। माओवादी पार्टी गएर सामूहिक स्वार्थकाे कुरा गर्छ भने अर्काे पार्टी गएर व्यक्तिगत स्वार्थका कुरा बढी गरिदिन्छ। स्वभावैले मान्छे स्वार्थी छ। याे कुरा मुगुमा अझ बढी लागु भएकाे छ। नीतिगत कुरा कम छन्। बेथिति बढी छन्। हुन त याे मुगुको मात्रै समस्या हाेइन। पूरा देशकै समस्या हाे। दक्षिण एसियामा पनि यो रोग व्याप्त छ।
मुगु जिल्लामा माओवादी तेस्राे संगठन हाे। खत्याड र साेरुमा हामी बलियाे छौं। नगरपालिकामा हामी कमजोर छौं। कार्मराेङमा दुई-दुई कार्यकाल कांग्रेसकाे एकै जनाले चुनाव जित्नुभयाे। जम्मा दुइटा वडामा मात्रै क्षेत्री छन्। अरु सातवटा वडामा जनजातिको बाहुल्यता छ। सत्ता जता हुन्छ, समुदाय पनि त्यतै हुन्छ, स्वभावैले। उहाँलाई त्यहाँकाे जनजाति समुदायले ठूलै ग्याल्वाेकाे रुपमा पुज्छ। यी विविध कारणले हामी त्यहाँ कमजोर छौं।
समग्र विकासमा मुगु पछाडि छ। ०७४ देखि आजसम्मका जनप्रतिनिधिले अपेक्षाकृत नतिजा दिन नसकेको साँचाे हाे। सदरमुकामकाे पाइपलाइन व्यवस्थापन गतिलाे हुन सकेकाे छैन। यसकाे अपजस सम्बन्धित पालिकाले लिनुपर्ने हुन्छ। सडक व्यवस्थापन पनि गतिलाे छैन। मुटु सफा छैन भने अरु पनि सफा हुँदैन। मैले दुई तीन चरणमा बाहिरबाट गएका सरकारी कर्मचारीहरुसँग छलफल गरेँ। उहाँहरुका अनुसार मुगुमा दोघरियाहरु बढी छन्। दोघरिया मतलब मुगुमा घर भएका र तराईलगायत अन्य सहरमा पनि घर भएकाहरु। राजनीतिक अवसर मुगुको लिने तर विकास निर्माणमा चासाे नदिने बढी भए भन्ने खालकाे बुझाइ छ।
विकासमा राजनीतिकरण बढी छ। विकासमा राजनीति गर्न हुँदैन भन्ने हाम्राे धारणा हाे। अभियानकाे क्रममा तीजकाे दिन मुगुका तीनवटा माननीय, नगरकाे मेयर, अरु राजनीतिक पार्टीका मान्छेहरु सबै बसेर याे विषयमा छलफल पनि गर्यौं। विकासमा राजनीति नगर्ने संकल्प पनि गरेका छाैं। यसले भाेलिका दिनमा सकारात्मक वातावरण निर्माण गर्ला भन्ने आशा हाे।
तर, जनताले माओवादीबाट बढी अपेक्षा गरेका छन्। अभियानकाे उद्देश्य भनेकाे माओवादी, कांग्रेस, एमाले कोही पनि नभनी सबैको घरमा पुग्ने भन्ने थियो। सबैलाई हाम्रो अभियानकाे उद्देश्य बताउने थियाे। त्यही उद्देश्यअनुसार हामीले काम पनि गर्यौं। अधिकांश मान्छेको भनाइ र बुझाइ हिजाे केही गर्छ भनेको शक्ति माओवादी नै हाे र आज पनि यसैले केही गर्छ भन्ने छ। आशा मरेको छैन। जनयुद्धको सुरुवात परिवर्तन गर्ने भनेर गरिएको थियो। केही गरेको छ र केही गर्नेवाला छ भन्ने बुझाइ जनतामा छ। सामाजिक, सांस्कृतिक रुपमा रुपान्तरण ल्याउन सक्ने शक्ति माओवादी हाे भन्ने सकारात्मक बुझाइ जनतामाझ छ।
तर, माओवादीप्रति सबै जनताको सकारात्मक बुझाइ नै छ भनेर दाबी गर्न हुँदैन। सत्ता टिकाउनका लागि कहिले एमालेसँग र कहिले कांग्रेससँग मिल्याे भन्ने आरोप पनि छ। परिवेश अनुसार माओवादी अगाडि बढेको कुरा जनताले राम्ररी बुझेका छैनन्। देश मुख्य कुरा हो भन्ने बुझाउन सकिएको छैन। देश धरापमा जान नदिनलाई कसैसँग मिल्नु ठिक भनेर हामीले बुझाएका छाैं। केही गर्न सके माओवादीले गर्छ तर तपाईंहरु यी यी विषयमा रुपान्तरित हुन जरुरी छ भनेर जनताले नै सुझाव दिएका छन्। उपभोक्ता समितिदेखि ठेक्कापट्टाको काम अरुले गरेको भन्दा माओवादीले फरक र गुणस्तरयुक्त गरिदेयाेस् भन्ने आशा छ। अपेक्षा र उत्साह दिलाउने काम माओवादीले नै गरिरहेको छ।
अभियानकाे क्रममा साेरु गाउँपालिकाकाे धैन गाउँका एक जना एमाले केन्द्रीयस्तरका सल्लाहकारको कुरा रेकर्ड गरेर फेसबुकमा पनि हालेकी छु। उहाँले, 'कांग्रेसले पनि अभियान चलायो, एमालेले पनि ग्रासरुट अभियान चलायो तर माओवादीकाे अभियान मलाई साह्रै राम्राे लाग्यो। किनेभने पार्टी बेपार्टी नभनेर सबैका घरघरमा गएर व्यक्ति व्यक्तिसँग सुझाव माग्यो। यसले आशा जगाएको छ। म एमाले भए पनि माओवादीप्रति भराेसा छ' भन्नुभयो। जनता माओवादीप्रति आशावादी छन्। यसलाई उत्साहमा बदल्ने काेशिस गर्ने मामलामा हामी चुकेकै हाैं। अब भने हामीले जनतालाई निराश हुन नदिने वचन दिएका छौं। वचनलाई व्यवहारमा लागू गर्न चुनाैती पनि त्यतिकै छन्। तर, नसकिने भने छैन। अभियानले यही सिकाएकाे छ।
हामी अहिले केही दिन दसैं मनाउन घरमा आएका छाैं। अभियान सकिएकाे छैन। अब अन्तिम चरणमा जानेवाला छ। पार्टीको सर्कुलरअनुसार आन्तरिक सदस्यता नवीकरणकाे काम बाँकी नै छ। सदस्यता विस्तारलगायत काम हुनेछन्। एक चरणमा आन्तरिक सुदृढीकरणमा लाग्याैं। अब सामूहिक हिसाबले अरु पार्टीहरुसँग अन्तरक्रिया गर्ने काममा लाग्नेछौं। हामी सुधार हुनलाई व्यापक जनताकाे सुझाव के आउँछ? विपक्षीहरुको पनि सुझाव लिने पार्टीको नीति छ। साेही नीति बमोजिम हामी अगाडि बड्छाैं। जनभेलाहरु र जनसंघर्षका कामहरु पनि गर्नेछौं। मंसिर १६ गतेसम्मको डेटलाइनमा सबै काम सकिनेछन्। सुझाव र अनुभूति लिएर हामी जिल्लाकाे समीक्षा गर्नेछौं। त्यसपछि प्रदेशकाे समीक्षामा जानेछाैं। प्रदेशले गरेकाे संश्लेषणअनुसार केन्द्रमा जानेछाैं। विशेष अधिवेशन र विधान अधिवेशनकाे कुरा पनि छ। यी सबै काम क्यालेन्डर अनुसार हुनेछन्।
समग्रमा हामी कुनै पनि हालतमा रुपान्तरण हुनुपर्छ भन्ने शिक्षा अभियानको क्रममा आर्जन गरेका छौं। अहिलेकाे हाम्राे समस्या भनेकाे सबैलाई थाहा भएकाे बाहिरबाट पार्टीमा आउने र वैद्यबाट एक भएकाहरुमा कताकता दरार देखिनु हाे। केन्द्रमा त्यसकाे अवशेष नभए पनि जिल्ला जिल्लामा छ। कतिले यसलाई गुट पनि भन्छन्। तर, यी गुट भन्दा पनि सामान्य स्वार्थ समूहहरु हुन। सहयोग गर्नेतिर बढी झुकाव राख्ने, त्यसकाे गल्ती हाेस् कि जेसुकै हाेस् राम्राे लागिरहने राेग छ। यसले गलतलाई गलत भन्न नसक्ने प्रवृत्ति हावी हुँदै जान्छ। आफ्नो पक्षको नकारात्मक कुरा देख्दै नदेख्ने र अर्काे पक्षको नकारात्मकमात्रै देख्ने प्रवृत्ति बढ्दाे छ। यो दरार स्वार्थ समूहले ल्याएका छन्। माथि केन्द्रमा प्रचण्डलाई नै मान्ने तर जिल्लामा स्वार्थ केन्द्रीत हुने चलन छ। यसकाे अन्त्य नभएसम्म पार्टी शुद्धीकरण हुँदैन भन्ने हाम्राे समीक्षा छ। हामी भित्रका सामान्य समस्याले पनि पार्टी संगठनलाई घक्का पुगेको हुन्छ। यसलाई नजरअन्दाज गर्न सक्नुपर्छ। यसले नै रुपान्तरणको दिशामा लैजाने हाे।
प्रस्तुति: महेश नेपाली