छुपुमा छुपु धानैमा रोपौं गरामा पसेर
पानीमा खेलौं, रमाइलो गरौं हिलोमा घसेर
ए हजुर बाउसे लगाऊँ
ए हजुर खाजामा खाऊँ, आलीमै बसेर...।
जब असार लाग्छ, किसानहरू मानो रोपेर मुरी उब्जाउने रोपाइँ कर्ममा लाग्छन्। औपचारिक रुपमा शुक्रबारदेखि धान रोपाइँ शुरु हुन्छ। नेपालमा करीब ७८० प्रकारका धानको खेती गरिँदै आएको छ।
असार १५ मा दही–चिउरा खाने प्रचलन छ। चिउरा धानबाट तयार गरिने परिकार हो। नेपालीको प्रमुख खाद्यान्न बाली धानको गरिमा र महत्व अर्थतन्त्रसँग जोडिएको छ। असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाइन्छ, जुन नेपाली माटो सुहाउँदो मौलिक पर्व हो।
मल, बीउ, सिँचाइ समस्या र मनसुनका कारण गत वर्षभन्दा कम रोपाइँ भएको छ। प्रतिशतमा भन्नुपर्दा ११.१४ प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ।
नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय भएको थियो। सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आएको छ। नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ। जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ। असार १० सम्म आइपुग्दा नेपालको उच्च पहाडमा २६, मध्यपहाड र तराईमा २० प्रतिशत जमिनमा रोपाइँ भएसकेको छ। नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ।
नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ। तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन। नेपालको धानखेती आकाशे सिँचाइमा निर्भर छ। वर्षा राम्रो नभएको वर्ष नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ। कूल गार्हस्थ्य उत्पादनमा धानको उत्पादन ११ प्रतिशत रहेको छ। धानको उत्पादन घटेको वर्ष कूल गार्हस्थ्य उत्पादनमा गिरावट आउने र धानको उत्पादन बढेको वर्ष गार्हस्थ्य उत्पादनमा सकारात्मक सङ्केत देखिने गरेको छ।
धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेतले नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व रहेको जानकारी दिएका छन्। उनले भात खाने आदतमा परिवर्तन नगर्ने हो भने चामलको आयात रोक्न धानको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुको विकल्प नरहेको जानकारी दिएका छन्।
विश्वका झण्डै चार प्रतिशत जनसङ्ख्याको आधारभूत खाद्यान्न चामल रहेको छ। संसारमा झण्डै १७ करोड हेक्टर जमिनमा धानखेती हुन्छ । सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन हो। चीन पछि भारत, इन्डोेनेशिया, बङ्गलादेश, भियतनाम प्रमुख धान उत्पादन गर्ने राष्ट्र हुन्। नेपाल विश्वको १७ औँ धान उत्पादन गर्ने देश रहेको अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरीको) तथ्याङ्कमा उल्लेख छ।
नेपालमा चैते, वर्षे र घैया, भदैया र हिउँदेधान (बोरो) का रुपमा धानखेती गरिन्छ। संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर र नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो।