आम निर्वाचन

मोरङ २ : एमालेलाई गठबन्धन भारी, कांग्रेसलाई गिरिजाको साख जोगाउन चुनौती

सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै नेताहरुले आफ्नो निर्वाचन क्षेत्रमा दौडधुप बढाएका छन्।

चुनावको मिति घोषणा भएसँगै कांग्रेस नेतृ सुजाता कोइराला पनि गाउँघरमा देखिन थालेकी छन्।

उनले यसपालि मोरङ २ बाट चुनाव लड्ने घोषणा गरेसँगै आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाटलगायतका कार्यक्रमलाई तीव्रता दिएकी छन्।

मोरङ २ तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले लगातार तीनपटक चुनाव जितेको क्षेत्र हो। उनले यही क्षेत्रबाट वि.स. २०४८, २०५२ र २०५६ सालमा लगातार चुनाव जितेका थिए।

गिरिजाका लागि यो ‘सुरक्षित’ क्षेत्र थियो। पछि उनले सुनसरीको तत्कालीन क्षेत्र नम्बर ५ बाट पनि चुनाव जित्न थालेपछि मोरङमा ०५२ र ०५६ मा भएको उप–निर्वाचनमा कांग्रेसका पुराना नेता आमोदप्रसाद उपाध्यायले चुनाव लडे र जिते। उपाध्यायले गिरिजाको बिँडो थाम्दै गए।

कांग्रेस र कोइरालाको विरासत मानिएको मोरङ क्षेत्र नम्बर २ मा दोस्रो संविधान सभाको चुनावमा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले कांग्रेसका उपाध्यायलाई पराजित गरेसँगै कांग्रेसको गढ भत्काए।

गिरिजाको विरासत क्षेत्र मानिएको मोरङको २ मा एमालेका पोखरेलले दोस्रो संविधान सभामा कम्युनिस्ट झन्डा फहराएपछि कांग्रेसभित्र तनाव भएकाे थियो।

टिकट दावी गरिरहेकी गिरिजा पुत्री सुजाताले टिकट नपाएपछि एमालेलाई सहयोग गरेको आरोप उपाध्यायले लगाएका थिए। उनले कोइरालालाई कारबाहीका लागि सिफारिस पनि गरेका थिए।

एमालेका पोखरेल २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसका नेता मिनेन्द्र रिजालसँग पराजित भएका थिए। रिजाल क्षेत्र नम्बर २ का लागि नयाँ उम्मेदवार थिए।

यसपटक मोरङ २ मा एमालेले ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने निश्चित जस्तै छ। तर, पोखरेलले अहिलेसम्म आफ्नो निर्वाचन क्षेत्रका बारेमा कुनै चासो नदिएको स्थानीयहरु बताउँछन्। उनी विराटनगर केन्द्रित छन्। एमाले मोरङका अध्यक्षसमेत रहेका पोखरेललाई गठबन्धन भएको खण्डमा चुनाव जित्न सजिलो छैन।

स्थानीय निर्वाचनका बेलादेखि नै आफ्नो उम्मेदवार रहेको घोषणा गरेकी कोइरालालाई आफ्नै पार्टीका नेता डा. मिनेन्द्र रिजालको चुनौती छ। अघिल्लो निर्वाचनमा कोइरालाकै बलमा रिजाल उम्मेदवार बनेका थिए।

अघिल्लो निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस नेता रिजालले एमालेका उम्मेदवार ऋषिकेश पोखरेललाई १ हजार ८०५ मतले पछि पार्दै निर्वाचित भएका थिए। पोखरेल वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए। रिजालले ३५ हजार ८१९ मत ल्याउँदा पोखरेलले ३४ हजार ०१४ मत प्राप्त गरेका थिए।

एमालेलाई गठबन्धनको चुनौती

अघिल्लो निर्वाचनमा एमाले–माओवादीको वाम गठबन्धनविरुद्ध एक्लै हावी भएको कांग्रेस यसपटक गठबन्धनको साथले हौसिएको छ। कांग्रेस, माओवादी र जसपा मिलेर जाँदा यो क्षेत्रमा एमालेको पराजय निश्चित छ।

यो क्षेत्रमा नेकपा माओवादीको पनि राम्रै उपस्थिति रहेको छ। गएको स्थानीय निर्वाचनमा पनि कांग्रेस–माओवादीले एमालेका विरुद्ध केही क्षेत्रमा मोर्चाबन्दी गरेकाे थियाे।

स्थानीय तहको वडागत मतपरिणाम यस्तो

मोरङ २ मा रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिकासहित पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ५ र ६, कानेपोखरी गाउँपालिकाको १,२ र ३, रंगेली नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडा पर्छ।

२९ वडा रहेको मोरङ २ मा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले एक्लैले १६ वडा जितेको छ। कांग्रेसले ११ वडामा जित्दा माओवादीले २ वडामा अध्यक्ष जितेको छ।

वडागत मत विवरणअनुसार एमालेले ३१ हजार २३१ मत ल्याएको छ। यस्तै, कांग्रेसले २८ हजार ६१४, माओवादीले ७ हजार २७१ र जनता समाजवादी पार्टी (जसपा) ले ४ हजार ३४६ मत प्राप्त गरेका छन्।

गठबन्धनविना वडागत मतका आधारमा बलियो देखिएको एमालेलाई प्रतिनिधिसभामा जित्न सहज छैन। गठबन्धन हुँदा एमाले ९ हजार मतले पछि पर्ने देखिन्छ।

स्थानीय तहमा दलहरुले पाएको वडागत मतका आधारमा एमालेलाई जित्न सहज देखिँदैन। गठबन्धनको वडागत मत ४० हजार २३१ छ भने एमालेको मत ३१ हजार ३४० रहेको छ।

प्रदेश (क) मा कट्टेल र उप्रेतीको सम्भावना

२ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको मोरङ २ मा अघिल्लो निर्वाचनमा प्रदेश (क) मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। कांग्रेस उम्मेदवार शिवनारायण गनगाईले वाम गठबन्धनमा माओवादी उम्मेदवार गणेश उप्रेतीलाई पराजित गरेका थिए। गनगाईले १६ हजार ४१८ मत पाएका थिए भने उप्रेतीले १५ हजार १०७ मत प्राप्त गरेका थिए।

प्रदेशमा यसपटक एमालेले मेघराज कट्टेललाई उम्मेदवार बनाउने चर्चा छ। तर उनलाई एमालेकै नेता डिवी कार्कीको चुनौती छ। गत स्थानीय तहको निर्वाचनमा यी दुवै रतुवामाई नगरपालिकाको मेयरका आकांक्षी थिए।

गठबन्धन भएको खण्डमा यो क्षेत्रमा माओवादीले दावी गर्ने सम्भावना छ। माओवादीको भागमा पर्दा गणेश उप्रेतीले टिकट पाउने माओवादीका एक प्रदेश नेताले बताए।

कांग्रेसका वहालवाला सांसद गनगाईले पनि दावी गरिरहेका छन्। प्रदेश निर्वाचन क्षेत्र (क) मा रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकाका ४ वडा पर्छन्। स्थानीय निर्वाचनमा पाएको वडागत मतका आधारमा भने यस क्षेत्रमा एमाले बलियो देखिएको छ।

प्रदेश (ख) मा एमालेका अधिकारी

२०७४ को निर्वाचनमा वाम गठबन्धनबाट विजयी भएका लिलाबल्लभ अधिकारीले यसपटक पनि एमालेबाट टिकट पाउने निश्चित छ।

अघिल्लो निर्वाचनमा उनले कांग्रेसका घणिन्द्रबहादुर कुँवरलाई पराजित गरेका थिए। अधिकारीले १८ हजार ३८६ मत पाउँदा कुँवरले १७ हजार १२७ मत ल्याएका थिए।

अधिकारी भीम आर्चाय मुख्यमन्त्री हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए।

कांग्रेसले यो पटक मोरङ २ को प्रदेश (ख) मा यदु विष्टलाई उम्मेदवार बनाउने चर्चा चलेको छ। उनका अलावा सुमन कुँवर र मदन संग्रौलाले पनि दावी गरिरहेका छन्। 

यस्तो छ मोरङ क्षेत्र नम्बर २ को अंकगणित

प्रकाशित मिति: : 2022-08-16 20:40:00

प्रतिकृया दिनुहोस्