राप्रपा अध्यक्ष लिङ्देनकाे कार्यशैलीप्रति रेखा थापाको कडा आलोचना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) असार १० सुरु भएको केन्द्रिय कार्यसम्पादन बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको आलोचना भएको छ। केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा कार्य सम्पादन समिती सदस्य समेत रहेकी नेत्री रेखा थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति खरो असन्तुष्टि जनाउँदै आलोचना गरेकी हुन्।

बैठकमा बोल्दै नेत्री थापाले नेतृत्व गतिहीन, प्रभावहीन र अदूरदर्शी ढङ्गले अघि बढेको भन्दै यसबाट पार्टीको भविष्यमा गम्भिर असर पर्ने विचार व्यक्त गरेकी छिन्। पार्टी संचालन गर्न दीर्घकालिन योजना, फराकिलो चिन्तन र सबैलाई समेट्न सक्ने क्षमताको आवश्यकता पर्ने तर अहिले पार्टी नेतृत्व चाकरी, चाप्लुसी र भक्तिगानमा रुमल्लिँदै एकाङ्गी ढङ्गले अघि बढेको उनको आरोप छ।

बैठकमा बोलेको कुरालाई उल्लेख गर्दै एक नेताले भने,‘कमल थापाको बारेमा प्रश्न उठाएर नेतृत्व परिवर्तन गर्नेहरु आज अझै बढी निरङ्कुश भएको उनको टिप्पणी थियो।’

नेत्री थापाले पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिँदै नेतृत्वलाई खुसी पार्नेहरु मात्र पार्टीमा हाबी हुने हो भने पार्टी धराशायी भएर जानेसमेत धारणा राखेको ती नेताले जानकारी दिए।

योग्यता, क्षमता, जनमतलाई हेरेर पार्टीमा भूमिका र जिम्मेवारी दिनुपर्नेमा नेतृत्वको स्तुतीगान गाउने मात्र अवसर पाउने हो भने स्वाभिमानी कार्यकर्ताले राप्रपामा लाग्नुको तुक नहुने नेतृ थापाको भनाइ रहेको थियो।

नेत्री थापाको धारणामा पार्टीका उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री राजेन्द्र गुरुङ, ठाकुरमोहन श्रेष्ठ लगायतले समर्थन जनाएका थिए।

प्रकाशित मिति: : 2023-06-28 12:36:00

प्रतिकृया दिनुहोस्