सिँचाइ कुलो भत्काउँदा खेत बाँझै

file photo
file photo

महाकाली करिडोरले बैतडीमा सिँचाइ कुलो भत्काएपछि खेत बाँझै रहेको छ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ को बज्वागडा स्कुल अगाडिबाट करिडोर खन्दा कुलो पुरिएका कारण  यहाँका किसानको खेत बाँझै रहेको हो।

सिचाइँ कुलो पुरिएपछि वर्षको तीन बाली उत्पादन हुने पञ्चेश्वरका डिम्मर, मटयानीलगायतका खेत अहिले बाँझै रहेका स्थानीय धनसिंह मङ्गोलाले बताए। अहिले डिम्मर र मटयानीका ४५ किसानको खेत बाँझै छ। उनले भने, ‘वर्षको तीन बाली उत्पादन हुने खेत अहिले बाँझै छ। रोपाइँ हुने समय हो, तर कुलो नभएपछि समस्या भएको छ।’

यसअघि खेतमा गहुँ पाक्न लागेको बेला करिडोरको माटोले कुलो पुरेपछि गहुँको उत्पादनमा समेत कमी आएको स्थानीय रामसिंह मङ्गोलाले बताए। उनले भने, ‘गहुँ पाक्ने बेला सिँचाइ नभएर उत्पादनमा कमी भयो, अब रोपाइँको बेलामा पनि समस्या भएको छ।’

मेसिनमा समस्या आएकाले उक्त क्षेत्रमा निर्माणको काम रोकिएको र लगत्तै सुरु गरिने त्यहाँको निर्माणको काम हेर्ने आयुश चन्दले बताए। नेपाल, भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ डेढ दशकअघि करिडोर निर्माण थालिएको हो। महाकाली करिडोरले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलालाई जोड्छ। 

प्रकाशित मिति: : 2023-06-28 10:56:00

प्रतिकृया दिनुहोस्