अन्तर्वार्ता

तत्काल मोर्चा बन्यो भनेर हल्ला हुने मात्र हो, कुनै ठुलो रुप लिन सक्दैन: सरोज मिश्र (अन्तर्वार्ता)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचमा सोमबार ‘समाजवादी मोर्चा’ घोषणा हुँदैछ। जसमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि मोर्चामा सामेल हुने भन्नेमा दलहरुबीच कुरा मिलेको छैन।

समाजवादी मोर्चा बनाएर देशलाई समाजवाद निर्माणमा लग्ने दलहरुले बताएका छन्। आज मोर्चा बनाएर कार्यगत एकता गरी क्रमशः पार्टी एकता गरेर जानेमा नेताहरु छन्। तर, चार दलबीच बन्न लागेको मोर्चाका विषयमा दुई धार देखिन्छ। मोर्चामा सामेल हुनेहरु समाजवादी मोर्चा बन्नुलाई सकारात्मक रुपमा लिएका छन् भने अन्य दलहरु त्यसलाई कुनै ठुलो रुपमा लिएका छैनन्।

समाजवादी मोर्चाको औचित्य के हो ? के समाजावादी मोर्चामा सामेल हुने दलहरुले भनेको जस्तो यो समाजवाद निर्माणसम्मको यात्रामा दलहरु पुग्लान त ? यो मोर्चालाई राजनीतिक विश्लेषक कसरी हेरिरहेका छन् ? बिएल नेपाली सेवाका लागि टोपेन्द्र रोका मगरले राजनीतिक विश्लेषक सरोज मिश्रलाई केही प्रश्न गरेका छन्।

प्रस्तुत छ मिश्रसँग गरिएको कुराकानीको सम्पादित अंशः


समाजवादी मोर्चाको औचित्य के देख्नु भएको छ ?

कुनै पनि पार्टी वा मोर्चा बन्नका लागि सैद्धान्तिक आधार चाहिन्छ। तर, मोर्चामा सहभागी हुने भन्ने दलहरुले कुनै सैद्धान्तिक आधार फेला पारेका छन् भन्ने मलाई लाग्दैन। उनीहरुले कुनै सैद्धान्तिक आधार फेला पारेका छैनन्। कम्युनिस्ट अझ भनौँ कम्युनिस्ट भन्ने पुरानो नामबाहेक अरु साझा आधार समाजवादी मोर्चामा सामेल हने दलहरुसँग छैन।

व्यवहारिक आधार के होला भने प्रचण्डको टाउकोमा अहिले मुद्धा झुण्डिरहेको छ। त्यो मुद्धा बाबुराम भट्टराईलाई पनि भयो। यति मात्र होइन। यो मुद्धा यी दुई नेतालाई मात्र होइन। जनयुद्धमा सामाल जति पनि छन् तिनीहरु सबैलाई झुण्डिने भएकाले यसविरुद्ध प्रतिरक्षाका लागि प्रचण्डले चालेको कमद हो। त्यो भन्दा बढी म देख्दैनँ।

यो मोर्चामा प्रचण्ड, बाबुराम, विप्लव एउटै पहिलेकै पार्टीका भए। अनि माधव नेपाललाई पनि अस्तित्वको रक्षाको प्रश्न छ। किनभने, माधवको पार्टीबाट ओली (एमाले अध्यक्ष केपी शर्मा ओली)ले जतिबेला पनि कार्यकर्ता रेर लगिदिन सक्ने, बर्बाद बनाइदिन सक्ने, आफ्नो पक्षमा केही पनि रहन नसक्ने भयो।

त्यसले सबैले असुरक्षित गरिरहेको विभिन्न समूहरु एकजुट भएर एउटा अलि ठुलो समूह बन्न सक्यो भने आफ्नो सुरक्षा हुन्छ कि भन्ने स्वार्थबाहेक म कुनै औचित्य देख्दैनँ।

२०७५ सालमा एमाले र माओवादी एउटै पार्टी भए। भागबण्डा नमिल्दा तीन वर्षमा विभाजन हुनु पर्‍यो। यो समाजवादी मोर्चा संगठित भएर जान सक्ने सम्भावना कति छ ?

पहिलो कुरा म यो पार्टी नै बन्ने सम्भावना देख्दैनँ। यो मोर्चा मात्र भनिरहेका छन्। कुनै पनि चिज एकजुट भएर बस्नका लागि सैद्धान्तिक आधार त चाहिन्छ नै। त्यो नै छैन भने अनि व्यक्तिगत समूह जुन आफ्नो–आफ्नो स्वार्थका कारणले गर्दाखेरि एकले अर्कोलाई प्रयोग गर्ने मात्र हो यो। तेरो रक्षाका लागि यो पनि प्रयोग हुन्छ भने यसलाई पनि राखौँ भन्ने न हो।

मोर्चाको लक्ष्य हिजोको एमाले–माओवादी मिलेर बनेको नेकपासम्म पुग्ने छ भन्छन् के सम्भव देखिन्छ ?

नामका लागि बन्ने नेकपा त भोलि बन्ला पनि तर हिजोको एमाले–माओवादीको जस्तो नेकपा बन्ने सम्भावना अलिकति म देख्दैनँ। फेरि नेकपा बन्नलाई हिजोको बनेको नेकपा किन एकजुट भएन ? हिजो दुईतिहाइ पुगेको नेकपा आखिर टिक्न सकेन किन ? वास्तमा उनीहरु फुट्नुको मूल कुरा के थियो भने माधव नेपालहरुले एमालेभित्र उत्पीडन जे थियो त्यो छँदैथियो। मुलतः एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डको टकराब नै हो।


प्रचण्ड र माधवजी पनि हाम्रै लाइनमा आउनुभयाे: प्रकाण्ड (अन्तर्वार्ता)


त्यो टकराब किन ? मैले त पहिले नै यिनीहरु एकै ठाउँमा बसेर पार्टी बनाउन सक्दैनन् भनेको थिएँ। भयो पनि त्यस्तै। किनभने जसले जेसुकै भनेपनि, जतिसुकै कराए पनि एमाले भन्ने पार्टी १५ वर्षमा धोइँदै, पखालिँदै गर्दा पनि काँग्रेसभन्दा फरक नभएको पार्टी हो।

एमाले कम्युनिस्ट नाम मात्र थियो। होइन भने कतिपय कुरामा एमाले काँग्रेसभन्दा खराब भइसकेको थियो। जसरी हुन्छ पैसा कमाउ भन्ने कमिसन एजेण्ड, दलालहरुको पार्टी भइसकेको थियो। उता माओवादीको आधार चाहिँ वास्तमा जनवादी समाजवाद ल्याउने हो नि। नेताहरु त बिग्रिसकेका थिए। तर, आधार त थियो नि।

त्यसैले एमाले र माओवादीको सैद्धान्तिक आधार नै फरक भएकाले नेकपा टिकेन। अब बन्ने मोर्चाहरु सानो–सानो पार्टी मिलेर बनेको मोर्चा न हो। त्यसैमा अहिले प्रचण्डको अवस्था सबैले देखेकै छन्। २०६४ सालको प्रचण्ड त होइन अहिले। जसरी खुम्चिँदै गएका छन्, अब खुम्चिनबाट जोगिनका लागि यो मोर्चा बनाइएको हो।

समाजवादी मोर्चामा सामेल हुनेहरु अरुको अवस्था त के छ हामीले पनि बुझेकै छौँ। यस्तो खालको मोर्चाले कुनै तात्विक फरक ल्याउन सक्दैन। तत्काल मोर्चा बन्यो भनेर एउटा हल्ला भएपनि यसले कुनै ठुलो मूर्तरुप लिने र साँच्चिकै समाजवाद ल्याउनतर्फ, नेकपा बन्नेतर्फ कुनै अवस्था देखिँदैन।

यो मोर्चा बनेर निर्वाचनमा गएपछि उनीहरुलाई जनताले अनुमोदन गर्न रुचाउलान् त ?

मलाई जनताले यिनीहरुलाई जिताएर संसदमा पठाउछन् भन्ने पटक्कै लाग्दैन। यिनीहरु झन कमजोर बन्ने सम्भावना रहन्छ। किनभने यही अगाडिका दुई चुनाव (२०७४ र २०७९) हेर्ने हो भने २०७४ को चुनावमा तमाम बामपन्थी भनाउँदाहरुको भोट एकै ठाउँमा खनियो, त्यो अकल्पनीय थियो।

२०७९ को चुनावमा त दुर्गति भएको हो। सबै पार्टी एक्लै चुनावमा गएको भए काँग्रेसले पाएको ५७ सिटमा ५२ हुन्थ्यो होला त्यो भन्दा कम हुने थिएन। तर, माओवादीको १८, नेकपा एसको १०, जसपा ७ सिटमध्ये अब यिनीहरु मिलेर लडे भने काँग्रेसको साथ भएन भने त्यही ८ सिट पनि रहन्छ कि रहँदैन भन्ने छ।

एउटा कुरा निश्चित के हो भने नेपालमा कुनै ठुलो परिर्वतन हुने खालको घटना भएन भने २० देखि ४० वर्ष दुई ध्रुवीय राजनीति हो। लोकतान्त्रि धारलाई प्रतिनिधित्व गर्ने कसलाई मन परे पनि मन नपरे पनि त्यो काँग्रेस हो। वामपन्थी मतलाई प्रतिनिधित्व गर्ने मन परे पनि नपरे पनि त्यो एमाले हो।

अहिलेको मोर्चाको कुनै सैद्धान्तिक आधार नभएकाले कुनै ठुलो प्रगति भइहाल्छ भन्ने अवस्था छैन। कुनै पार्टी टिक्नका लाग सैद्धान्तिक आधार हो भन्ने त काँग्रेस छँदैछ। काँग्रेसको मत धेरै घट्ने बढ्ने हुँदैन नि त्यो भनेको उनीहरको सैद्धान्तिक आधार बलियो छ भन्ने हो।

प्रकाशित मिति: : 2023-06-21 18:00:00

प्रतिकृया दिनुहोस्