ललिता निवास प्रकरणमा थप ४ आरोपी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई साेमबार बिहान काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्ने मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसी रहेका छन्।
साेही प्रकरणमा यसअघि आजै सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेकाे थियाे।
प्रहरीले याे प्रकरणमा विशेष अपरेसन चलाइरहेको जनाएको छ। ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो।
उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर विशेष अदालतमा दर्ता गरेको मुद्दा अहिले पनि विचाराधीन छ। सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको छ।