त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले उपकुलपतिको कार्यालय अगाडि आमरण अनसन सुरु गरेका छन्।
उनले आफुलाई कुटपिट गर्ने नेविसंघ नेताहरुको मुद्दा फिर्ता लिने निर्णयका विरुद्धमा आमरण अनसनमा शुरु गरेका हुन्। समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि विसं २०७७ असोज २० गते नेविसङ्घका कार्यकर्ताले आक्रमण गरेको थियो।
आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयका विरुद्ध धर्ना दिन आज जिल्ला अदालत, काठमाडौँ पुग्नुभएका उपप्राध्यापक प्रेम चलाउने सहितका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणका लिएको थियो।
आक्रमण गर्नेविरुद्ध जिल्ला अदालत, काठमाडौँमा ज्यानसम्बन्धी मुद्दा विचाराधीन रहेको जनाइएको छ। भोलि ५ गते उक्त मुद्दाको पेसी तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा पुगेको जानकारी पाएपछि मुद्दा फिर्ता नलिन र उपप्राध्यापक चलाउनेलाई न्याय दिन माग गर्न उक्त टोली अदालत पुगेको बताइएको छ।