आइतबार, १३ जुलाई २०२५

हुम्ली विद्यार्थी र बिरामीको यो व्यथा, सिंहदरबारलाई के थाहा ?

बिएल संवाददाता

बिएल संवाददाता

हुम्ला
2021-11-14 20:44:00
Breaknlinks
• • •

विद्या बुढा

आज बिहानै एक जना बहिनीको फोन आयो।
उनले भनिन्, 'नमस्ते दिदी, मलाई तपाईंको सहयोग चाहियो । म त बर्बाद भए नि !"
मैले हतारिदै सोधपुछ गरेँ, 'के भयो, नानी?'

'दिदी, सिमिकोट आएको पाँच दिन भइसक्यो। अझै नि टिकट पाउने टुङ्गो छैन। सुर्खेतमा मेरो परीक्षा थियो, त्यो पनि  छुट्यो। अब बाँकी रहेको परीक्षा त दिऊँ भनेको, त्यही  पनि  छुट्ने पीर छ। प्लेन भाडा भनेर ल्याएको पैसा  सिमिकोटको होटेलमा बस्दै सकियो। टिकट पाउन एकदम मुस्किल छ, के गर्ने होला', उनले  निकै दु:ख पोखिन्।

'यता एअरपोर्टमा टिकटको पूरै कालोबजारी चलिरहेको छ, पावर र पहुँचवालाहरुले मात्र उडान गर्न पाइरहेका छन्। हामी धेरै जना यहाँ  अलपत्र छौँ। धेरै जना बिरामी पनि छन्', उनको सबै कुरा सुनेर निकै नराम्रो लाग्यो।

मनमा धेरै प्रश्नहरुले डुबुल्की मार्दै थिए। के हामी हुम्लामा जन्मिनु पाप हो? के हामी यो देशको नागरिक होइनौँ र?  राज्यले हाम्रो मागको सम्बोधन गर्नुपर्छ कि पर्दैन?

हुम्लीले कति सहने पीडाहरु ? पीडाहरु सहने नि हद होला नि? हरेक चोटी रोग, भोक अनि शोकको समाचार सुन्दा पनि मन खिन्न भएर आउँछ, अनि दु:ख लाग्छ। हुम्लामा रोग, भोक अनि शोक मात्र नभएर थुप्रै संभावना छ भन्ने कुरा सबैलाई अवगत नै छ।

मैले  यस्तै पीडा योभन्दा अघिल्लो साल भोगेकी थिए। यो वर्ष घर गएको भए पनि यस्तै पीडा हुनेथियो होला। त्यो बेला पनि स्थिति यस्तै विकराल नै थियो। अझै पनि यस्तै छ। अब हाम्रो हुम्लामा पनि मोटर गाडी आउँछ, हामीलाई सजिलो हुन्छ भनेर वाल्यकाल हामी  कुरा गर्ने गर्थ्यौं तर अझै  स्थिति उस्तै छ।

हामी हुम्लीहरुको आवतजावत गर्ने एउटा मात्र यातायात  हवाइजहाज बनेको छ। मोटरबाटोको  कुरा त अलि परको भयो  । यो हरेक हुम्ली जनताको पीडा हो।

टिकट नपाएर धेरै बिरामीले अकालमै ज्यान गुमाउनुपर्छ । विद्यार्थीको परीक्षा छुट्ला, त्यसको  जिम्मेवारी कसले लिने ?

हेल्लो सरकार ! म कुनै पनि राजनीतिक दलको कार्यकर्ता होइन। मैले कुनै दलको व्यक्ति  विशेषलाई भन्न खोजेको पनि होइन।

राजनीति आफूले गर्नु नै पर्छ भन्ने पनि होइन तर म राजनीति राम्रोसँग बुझ्न सक्छु।  यो समाजकाे एक जिम्मेवार नागरिक भएकोले हरेक राजनीति दलको क्रियाकलापहरु नियाल्दै आइरहेकि छु।

मेरो प्रश्न यो सरकार  र अन्य नेतागणहरुलाई हो,आखिर कहिले सम्म यस्तो पिडा भोग्नु पर्ने हो? हरेक स्थानीय तहहरुमा सम्पुर्ण अधिकार आउँदा पनि किन तपाई सबै मौन हुनुहुन्छ? यो देशमा संविधान छ। हाम्रो देशको संविधानले हाम्रो समस्याहरु सुन्छ, हाम्रो मागहरु सम्बोधन गर्छ, हामीलाई न्याय दिन्छ भनेर भन्ने दिन हाम्रो लागि कहिले आउछ?

हरेक क्षेत्रमा शक्तिवाला, पहुँचवालाले मात्रै अगाडि बढ्ने हो भने हामी सर्वसाधारण जनताको के नै अस्तित्व रहयो र? हामी  दुई शब्द बोल्न सक्ने व्यक्तिको त यस्तो नाजुक स्थिति छ भने विचरा! हाम्रा बिरामी आमाबुबा, दाजुभाइ अनि दिदीबहिनीको कस्तो हालत होला? धेरै जसोलाई त यो विमानस्थलभित्र नै हुने राजनीतिबारे पूर्ण जानकारी नै छैन।

हवाईटिकटको भाडा भनेर  बुवाआमाले दु:ख गरी  जोरजाम पारेको पैसा सदरमुकामम बसेर धेरैले सकिरहेका छन्। कयौँ बिरामीहरु समयमै उपचार नपाए मर्ने स्थिित छ। जुनसुकै दलमा आस्था राख्ने बिरामी तथा  विद्यार्थी भए पनि उनीहरुलाई प्राथमिकता दिनु पर्ने होइन र?

सीधा अर्थमा विद्यार्थीकाे परीक्षामा बाधा देखिए पनि यसले पार्ने मनाेवैज्ञानिक असर, सामाजिक प्रभाव र त्याे विद्यार्थीकाे सपनाकाे हत्या भएकाे कुराकाे जिम्मा कसले लिने, सरकार ? यसको नेतृत्व सरकारले लिनैपर्छ। कस्तो नियमकानुन अनि प्रहरी प्रशासन हो यो?

अझ बिहानै टिकट नपाएर अलपत्र परेका यात्रुबारे रिपोर्टिङमा गएका पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको समाचार पनि बाहिर आएको छ। हामी को बाट परिचालित छौँ ? के हाम्रो धर्म अनि काम यही  हो त? ती पीडित पत्रकारलाई केही भयो भने कसले जिम्मा लिने ?

गलत नियतले नेतृत्व गर्नेहरूलाई युवाले समर्थन हाेइन, विद्राेह गर्ने हिक्मत गर्नुपर्छ । म सधैँ गर्छु पनि। अन्यथा मेराे हजुरबाकाे पालामा कुरा उठेकाे हुम्लाकाे राेड, मेरा बा, मेराे अनि अर्काे सन्ततिले पनि याे पीडा भाेग्नु पर्नेछ भन्ने कुरामा म ढुक्क छु। यसको जिम्मा कसले लिने, नेताज्यू?

हाम्रो क्षेत्रमा  मात्र नभई अहिले  चाडपर्वको बेला जतासुकै यातायातको भाडा महङ्गो छ । यो कसले निगरानी र अनि नियन्त्रण गर्ने? हेल्लो सरकार ! यस्तै गलत प्रवृत्ति बढ्दै जाने हो भने  यो सरकार र यो संविधानमाथिको हाम्रो विश्वास र आस्था पूर्ण रुपले मर्ने छ।

अर्काे वर्ष पनि यसरी नै हुम्लाका दर्दनाक घटनाहरूले अनलाइन/पत्रिकाका पाना नभरिउन् । रेडियाे र टीभीमा जनताका चित्कार नगुञ्जिउन्, सरकार ! समयमै दरकार हाेस्, सरकार!

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?