समाजवादी मोर्चा घोषणा एक घण्टा पर सार्‍याे, बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल

नेकपा(माओवादी केन्द्र)लगायतका राजनीतिक दलले आज समाजवादी मोर्चा घोषणा गर्ने भएका छन्। मोर्चाको अवधारणासमेत तयार भएको उनीहरुले जानकारी दिएका छन्।

मोर्चा घोषणाका लागि राष्ट्रियसभा गृहमा अपराह्न ४ बजेका लागि कार्यक्रम तय गरिएको छ। यसअघि ३ बजेका लागि कार्यक्रम तय भएकामा एक घण्टा पर सारिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही कार्यक्रममा व्यस्त हुनुपर्ने भएकाले समय परिवर्तन गरिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

मोर्चामा नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी हुने भएका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज मोर्चा घोषणा गर्ने र त्यसको न्यूनतम अवधारणालाई स्वीकृत गरेको थियो।

मोर्चा घोषणाको संयुक्त अवधारणामा हस्ताक्षरलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुले छलफल गरेका छन्।

छलफलमा प्रधानन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेता सहभागी छन्।

प्रकाशित मिति: : 2023-06-19 12:03:00

प्रतिकृया दिनुहोस्