ट्रेकिङ गाइडको यात्रा संस्मरण
कथा दुई दशक जति अगाडिको हो। म बीस एकाइस वर्षको अल्लारे केटो थिएँ। उमेर रमाइलो र आनन्दित बेलाको कुरा हो यो। जे पनि खुसी र उत्साह मानेर बिताउने समय थियो त्यतिखेर। तर मैले सानै उमेरदेखि नै जिम्मेवारी ठूलै लिएर नेपालको विभिन्न पर्यटकीय क्षेत्रहरुमा पुगेको छु। यसो गर्दा दुःखभन्दा पनि आनन्द र खुसी लाग्थ्यो। जीवनको एउटा व्यस्त स्थिति थियो। यसैक्रममा विदेशी पर्यटक मेम्बर र नेपाली स्टाफ सबै गरेर चालीसजना जतिको समूह बनाएर लार्के पास (मनासलु राउन्ड) पदयात्राको लागि हामी निस्केका थियौं। समूहको नेतृत्व मैले गरेको थिएँ।
मैले सबै पक्षसँग गाँसिएर काम गर्नु पथ्र्यो। यसरी पदयात्रा गर्दा नेतृत्व गर्ने व्यक्तिलाई पर्यटकीय भाषामा 'सरदार' भन्ने गर्छन्। त्यस मानेमा म त्यस समूहको सरदार थिएँ। क्याम्पिङ ट्रेकको ग्रुपमा जाने स्टाफहरुमा, सरदार गाइड, गाइड हेल्पर, सेफरकुक किचेन ब्वाई, भान्से अतिरिक्त सहयोगी (स्पेयर ब्वाई, भरिया नाइके, भरिया गरेर विभिन्न तह अनुसार दर्जाहरु निर्धारण गरिएको हुन्छ। दर्जाअनुसार सबैको आ-आफ्नो जिम्मेवारी र काम हुन्छ। त्यसै अनुसार सबैले कार्य गर्छन् पनि।
लगभग एउटा क्याम्पिङ ट्रेकिङ ग्रुपमा थोरैमा पनि चार-पाँचजना नेपाली स्टाफहरु हुन्छन्। गेस्ट मेम्बरको संख्या अनुसार स्टाफको संख्यामा पनि थपघट हुन्छ। हाम्रो ग्रुपमा विदेशीहरुको संख्या चौधजना थियो। त्यसैअनुसार नेपाली स्टाफको संख्या तीसजना र सबै विदेशी गेस्ट र नेपाली स्टाफ गरेर जम्मा चवालीस जनाको समूह लिएर हामी लार्के पास-राउन्ड मनासलु ट्रेकिङको लागि निस्क्यौँ।