आइतबार स्थगित दुवै सदनका बैठक आज बस्दै

प्रतिपक्षी दलहरुको अवरोधका करण आइतबार स्थगित भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (सोमबार) बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ बजे बस्दैछ।

प्रमुख प्रतिपक्षी दल एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका कारण आइतबारको बैठक स्थगित भएको थियो।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नियमविपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक हालका राष्ट्रपति रामचन्द्र पौडेलले छलफल नै नगरी प्रमाणीकरण गरेको र भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सीमा विवाद ‘भारत–बङ्गलादेश’मोडलमा समाधान गर्न सकिने भनि दिएको अभिव्यक्तिप्रति आपक्ति जनाउँदै विपक्षी दलहरुले बैठक अबरुद्ध गरेका थिए।

अवरोधपछि एक घण्टाको लागि स्थगित भएको बैठक सहमति जुट्न नसक्दा सोमबारसम्मको लागि स्थगित गरिएको थियो।

आज बस्ने प्रतिनिधिसभा बैठकको लागि कार्यसूची तय भएको छ। जसअनुसार राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने, अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने, यसपछि यस विषयमा सामान्य छलफल प्रारम्भ गर्ने कार्यक्रम छन्।

यस्तै आजको राष्ट्रियसभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्र राष्ट्रियसभा अध्यक्षले पढेर सुनाउने र अर्थमन्त्री डा। प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र यसपछि सामान्य छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

विपक्षी दलहरुको अडान कायमै रहेकोले आजको बैठक सञ्चालन हुने नहुने निश्चित छैन।

प्रकाशित मिति: : 2023-06-05 09:15:00

प्रतिकृया दिनुहोस्