भारतीय संसदमा लुम्बिनी र कपिलबस्तुसहितको 'अखण्ड भारत'को नक्सा

भारतको नयाँ संसद भवनमा 'नेपालको लुम्बिनी र कपिलवस्तु पनि समावेश गरेर तथाकथित 'अखण्ड भारत'को नक्सा टाँगिएको छ। नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु मात्र हैन पाकिस्तानको तक्षशिलालाई पनि समेटिएको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साधुसन्तको ठूलो जत्था जम्मा गरेर आइतबार मात्र नयाँ संसद भवनको उद्घाटन गरेका थिए। 

प्रधानमन्त्री पुष्पकमल दाहालको यही जेठ १७ गतेदेखि सुरू हुन लागेको चारदिने भारत भ्रमणको पूर्वसन्ध्यामा सार्वजनिक भएको नेपालका दुई महत्वपूर्ण भूभाग समेटिएको यो नक्सा एक किसिमको बेमौसमी बाजा नै हो। यसले प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई असफलतातिर धकेल्छ।

भारतको दादागिरिका कारण नेपालमा भारतविरोधी भावना मजबुत रहेको जान्दाजान्दै पनि भारतले बेलाबेलामा यसरी विवादास्पद काम गरेर हेप्ने चेष्टा गर्दैआएको छ। त्यसबाट नेपालमा सरकारलाई अप्रत्यासित रूपमा चौतर्फि दबाब आउने गर्छ।

भारतको नयाँ संसद भवनमा 'नेपालका लुम्बिनी र कपिलवस्तु पनि समावेश गरेर तथाकथित 'अखण्ड भारत'को नक्सा टाँगिएको छ।प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा सार्वजनिक भएको यो नक्साले भ्रमण खल्लो हुने सम्भावना बढेको छ। 

भारतीय सत्तारूढ दलको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले अखण्ड भारतको विषयलाई उठाउँदै यसलाई प्राचीन समयमा भारतीय प्रभाव क्षेत्रको रुपमा व्याख्या गर्दैआएको छ। 

यसैबीच भारतीय संसदमा टाँगिएको 'अखण्ड भारत'को नक्साका बारेमा त्यहाँको सत्तारूढ दल भारतीय जनता पार्टीका सांसदहरू सार्वजनिक रूपमै खुलेर प्रशंसा गरेका छन्। गोदी मिडिया भनेर बदनाम भारतीय सञ्चारमाध्यमले पनि यस कार्यको बढाइचढाइका साथ प्रशंसा गरेका छन्। तर, गोदी मिडियाका विरोधीहरूले भने यस्तो कार्यले छिमेकीहरूको सम्वेदनामाथि खेलवाड हुने बताउँदै त्यसबाट भारतलाई फाइदा नहुने भन्दै आलोचना गरेका छन्।

यता नेपालमा पनि भारतको यो दादागिरिको विरोध सुरू भएको छ। नेपालीहरू सदैव भारतीय दादागिरिको डटेर सामना गर्दैआएका छन्। उसको यही दादागिरि विरोधी मत नै नेपालमा राष्ट्रियताको पर्याय बन्दा नेपाली राष्ट्रियताको परिभाषा नै खुम्चिएको छ।

प्रकाशित मिति: : 2023-05-29 03:40:00

प्रतिकृया दिनुहोस्