दरबार हत्याकाण्डको पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डसहित विगतका भयानक र विभत्स हत्याकाण्डकहरुको हुनुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा आम जनता पार्टीका सांसद प्रभु साहले रौतहटको गौरमा २०६३ सालमा भएको हत्याकाण्डको छानबिन के भइरहेको छ र अपराधीहरु कानुनको दायरामा आउँछन् कि आउँदैनन् भनी साेधेकाे प्रश्नमा उनले यस्ताे बताएका हुन्।

उनले विगतमा भएका भयानक र विभत्स हत्याकाण्डकहरुको नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन्।

‘विगतका ती सबै विभत्स र भयानक हत्याकाण्डहरुको नयाँ शिराबाट छानबिन हुनुपर्दछ। चाहे त्यो गौरको केस होस्, चाहे त्यो भयानक दरबार हत्या काण्ड नेपालको इतिहासकै सबैभन्दा विभत्स हत्याकाण्डको पनि नयाँ शिराबाट छानबिन हुनुपर्दछ’, प्रधानमन्त्रीले भने, ‘अहिले त्याे कुरालाई जे जसरी फेरि बिर्साउने काेसिस भइरहेकाे छ, त्यसलाई हामीले गम्भीर रूपले लिनुपर्छ भन्ने म चाहन्छु।’

उनले मदन भण्डारी र जीवराज आश्रितको मृत्युको पनि नयाँ शिराबाट छानबिन हुनपर्ने बताए। ‘मदन-आश्रितको पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ भन्ने म ठान्दछु। तर यसकाे निम्ति हामी सबैले गम्भीर रूपले विचार विमर्श गरेर उपयुक्त बाटाे पहिल्याउनुपर्छ’, प्रचण्डले भने। 

प्रकाशित मिति: : 2023-05-18 14:47:00

प्रतिकृया दिनुहोस्