प्रेरणादायी महिला

सेवाग्राहीकी ‘आइकन’ आरती! (भिडियाेसहित)

स्वास्थ्यकर्मी बन्ने र सरकारी जागिर खाने आरती थारुको सानै देखिको चाहना थियो। त्यही चाहना पूरा गर्न उनी लोकसेवा आयोग भिडिन्। पहिलोपटक नै उनी सफल भइन्। वि.सं. २०७० सालमा जनस्वास्थ्य निरीक्षक पदमा प्युठान पोष्टिङ भयो। 

निजामती सेवाको पहिलो दिनको अनुभव सुनाउँदै थारू भन्छिन्, ‘नाम निस्किदा सानैदेखिको रहर पूरा भएजस्तो लाग्यो। पोष्टिङ भएको ठाँउ र कर्म बिल्कुल नौला कुरा थिए। मनभरि खुशी र आमाबुवाको आर्शीवाद लिएर गए।’ 

उनलाई पहिलो दिन कार्यालयमा जाँदा संसारै जितेजस्तो लाग्यो। तराईमा जन्मे हुर्केकी हुनाले सरकारी कर्मचारीको रुपमा पहिलो पटक पहाड (प्युठान) को यात्राको गर्दै थिइन्। एकाबिहानै उनी नेपालगञ्ज बसपार्कबाट गाडीमा प्युठानको सदरमुकाम खलंगाको यात्रामा निस्किइन्। 

नयाँ ठाउँ, भिन्न परिवेश र फरक रीति संस्कृति आफैँमा  जिन्दगीका भोगाइ थिए, उनका लागि। त्यहाँ उनले धेरै दुःख र अभावसँग साक्षात्कार गर्ने मौका पाइन्। महिला स्वास्थ्य चौकीको इन्जार्च भएर आउँदा त्यहाँका महिला/सेवाग्राहीहरुले छोरीको रुपमा माया दिए। 

सेवाग्राहीलाई उनले अभिभावकको जस्तो माया दिएर उपचार गरिन्। उनी सेवाग्राहीहरुका घर–घरमा गएर सेवा गर्थिन्। कहिल्यै नदेखेका उकाली र ओरालीहरु पार गरिन्। उनका अनुसार, दूरदराजमा अहिले पनि स्वास्थ्य अवस्था निकै नाजुक अवस्थामा छ।  

त्यहाँका नागरिकमा स्वास्थ्यसम्बन्धी ज्ञानको अभाव थियो। स्वास्थ्यचौकी एकातिर र समाज अर्कातिर थिए। समाजमा काम गर्न चुनौतीको सामना गर्नुपरेको अनुभव उनीसँग छ। 

दूर्गमका गम्भीर खालका समस्या समाधान हुँदा आफूलाई निकै खुशी लाग्ने उनले बताइन्। प्युठान बसाइलाई उनले सिकाइका रुपमा लिइन्। त्यहाँ उनले उदाहरणीय काम समेत गरिन्।

उनको कामलाई मूल्यांकन गर्दै जनस्वास्थ्य कार्यालय प्युठानले जिल्ला कै ‘उत्कृष्ट कर्मचारी’को रुपमा समेत सम्मान गरेको थियो। त्यो सम्मानले उनलाई थप हौसला मिल्यो। पहिलोपटक पोष्टिङ नै प्युठानको स्वर्गद्वारी स्वास्थ्य चौकीमा भएको थियो,  स्वास्थ्य चौकी इन्जार्चका रुपमा। जहाँ उनले ठिक २ वर्ष गुजारिन्।   

असीमित  रहर र चाहनाहरु बोकेर देशको सेवा गर्न निस्किएकी उनी पछि आफ्नै जन्मस्थानमा धेरै मानिसहरुको उपचारको जिम्मेवारी बोकेर आइन्। बाँकेको गनापुर स्वास्थ्य चौकीमा उनको सरुवा  भयो। त्यहाँ पनि उनले  सहज स्वास्थ्य सेवालाई जोड दिइन्। 

उनी हरेक मानिसले स्वास्थ्य चौकीमा आउँदा सहज सेवा पाउनुपर्नेमा जोड दिन्छिन्। ‘मैले सबैभन्दा पहिला कार्यालय व्यवस्थापन र महिला मैत्री बनाउने प्रयास गरे। पछि सेवाग्राहीहरुको सहज सेवाका लागि प्रयन्तशील रहेछु। स्वास्थ्य सेवाबाट बञ्चित मानिसहरु मेरालागि प्राथमिकताका क्षेत्र हुन्,’ उनले भनिन्। 

उनी २०७६ सालयता भने समायोजनपछि नेपालगञ्ज स्वास्थ्य चौकीमा कार्यरत छिन्। जनसंख्या र भूगोलका हिसाबले धेरै जनसंख्या भएको वडा नम्बर १२ उनका लागि चुनौती र अवसरमा दुवै थियो। 

त्यहाँको जनसंख्या मात्रै ६ हजार १ सय १८ रहेको छ। उनी त्यहाँ भर्खरै समायोजन भएर आएकी थिइन्। त्यति नै बेला कोरोना महामारीको सामना गर्नुपर्योल। महामारीको समयमा उनले व्यवस्थापन र बिरामीको उपचारलाई प्रभावकारी बनाउन योजना बनाइन्। 

आफूले बनाएको योजनालाई प्रभावकारी कार्यान्वयनलाई जोड दिइन्। कोरोनाको महामारीको समयमा सबैभन्दा जटिल उपचार गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा सेवा, उद्धार र व्यवस्थापन गर्नु थियो। नियमित खोप कार्यक्रमलाई समेत उनले कोरोनाको बेला नियमित गरिन। 
 
बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भनिन्, ‘हामीलाई धेरै चुनौती थियो तर हामीले समूहमा मिलेर काम गर्ने प्रयत्न गर्यौन। एकता नै बल भनेझैँ कोरोना महामारीको बेलामा जोखिमका साथ सफलतापूर्वक काम गर्ने वातावरण बन्यो।’ 

लकडाउनको समयमा उनले दुई महिना क्वारेन्टिनमा ड्युटि गरिन्। आइसोलेसनमा समेत काम गरेको उनी बताउँछिन्। कोरोना महामारीको समयमा उनले स्वास्थ्य चौकी इन्चार्जको भन्दा पनि एक स्वास्थ्यकर्मीको रुपमा आफ्नो कर्तव्य पुरा परिन्।  

गत असोज महिना देखि नियमित रुपमा होम आइसोलेसनमा रहेका व्यक्तिलाई घर मै गएर हेरचाह, उपचार, सल्लाह सुझाव दिने गरेकी छन्। उनी अहिले  नेपालगञ्ज १२ को कोरोना फोकल पर्सन हुन्। 
 
उनी कार्यरत वडामा सेवा सुविधा अन्य वडाको तुलनामा राम्रो छ। त्यहाँका नागरिकहरुबाट आफूहरुले धेरै कुरामा सहयोग पाएका कारण प्रभावकारी रुपमा स्वास्थ्य सेवा दिन पाएको उनको भनाइ छ। गर्भवती जाँच र परिवार नियोजनको सेवा सहज रुपमा प्रदान भइरहेको छ। 

स्वास्थ्य चौकीको इन्चार्ज नै महिला भएका कारण त्यहाँ महिलाहरुको सहभागिता उल्लेख्य रहेको छ। ढाड दुख्ने, खुट्टा दुख्ने र वडा नम्बर १२ मै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल रहेका कारण पनि धेरै सहज भएको छ।  
  
उनले ग्रामीण  तथा दुरदराजमा गरेको उत्कृष्ट कार्य, सेवाग्राही प्रतिको लगाव, व्यवस्थापकीय क्षमता र महामारीको समयमा गरेको नमूना कामको मूल्यांकन गर्दै उनलाई ‘इन्ट्रीग्रेटी आइकन नेपाल–२०२०’ बाट सम्मान गरियो। उनी देशभरका १५ सय बढी कर्मचारीहरुबाट उत्कृष्ट २५, १५ हुँदै उत्कृष्ट पाँचमा पर्न सफल भएकी हुन्। 

उनीसँगै अन्य चार जना पनि सम्मानित भएका छन्।  आइकनको घोषणा हुनु भन्दा एक साता अघि मात्रै उनले आफू उत्कृष्ट पाँचमा परेको जानकारी पाएको बताउँछिन्। उनी भन्छिन्, ‘आज भन्दा एक साता अघिको कुरा हो। म नियमित काममा थिए। आइकनबाट एक जना म्याडमले फोन गर्नुभयो। सुरुमा त मलाई विश्वाश नै लागेको थिएन्।’ 

पछि अफिसियल रुपमा म्यासेज आयो, ‘बधाई छ आरती जी, तपाई इन्ट्रीग्रेटी आइकन नेपाल–२०२०मा छनौट हुनु भएको छ।’ उनले धन्यावाद लेखेर रिप्लाई दिइन्। अहिले उनको एकाएक चर्चा चुलिएको छ।

निजामती सेवामा प्रवेश गरेको छोटो समय मै सम्मान पाउँदा आफूलाई प्रेरणा र हौसला मिलेको  बिएल नेपाली सेवालाई बताइन्। आफूले पाउने पुरस्कार पनि समाजसेवामा खर्च गर्ने गर्ने उनको सोच छ।  व्यक्तिगत तथा पारिवारिक रुपमा पनि ठूलो सफलता प्राप्त भएको  उनको भनाइ छ। 
 
नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ विशाल चोककी स्थायी बासिन्दा उनी स्वास्थ्य क्षेत्रमा थारु समुदायको सहभागिता कस्तो पाउनु भएको छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘पहिलेको भन्दा अहिले धेरै राम्रो छ। पहिला थारु समुदायमा छोरीहरुलाई पढाइको वातावरण राम्रो थिएन तर अहिले पहिलाको भन्दा धेरै कुराको विकास भएको छ।’ 
पहिला थारु समुदायमा छोरीलाई कमलरीको रुपमा राख्ने चलन थियो। उनी भने समाजमा रहेका कुरितीहरुको विस्तारै अन्त्य हुँदै जाने मान्यता राख्छिन्। अहिले उनलाई बधाई दिनेको आइरो छ। माघीको अवसरमा थारु समाजले उनलाई सम्मान पनि गर्योअ।
 
उनको पारिवारिक पृष्ठभूमि भने मध्यम स्तरको छ।  उनको परिवारमा ६ जना छन्। उनी परिवारकी साइली छोरी हुन्। दिदीको विवाह भइसकेको छ। उनका दुई बहिनी आमा र बुवा छन्। ‘इन्ट्रीग्रेटी आइकन नेपाल–२०२०’ को उत्कृष्ट पाँचमा पर्न सफल उनी सबैको अथाह मायाका साथ अघि बढ्ने बताउँछिन्।  आफ्नो जिम्मेवारीलाई निष्पक्ष, निःस्वार्थ, भेदभावरहित जिम्मेवारी बहन  गर्नु नै थारुको मान्यता रहेको छ।

प्रकाशित मिति: : 2021-01-19 09:20:00

प्रतिकृया दिनुहोस्