आठौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

फाइल तस्विर
फाइल तस्विर

विभिन्न कार्यक्रम आयोजना गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ आज मनाइँदै छ। नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो। सरकारले विसं २०७३ मा पत्रकारिता दिवस राष्ट्रियरूपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो। विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरुआत भएको हो।

‘पत्रकारितामा खोज र नवीनताः लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। यसै अवसरमा देशभर विभिन्न कार्यक्रम गरिने छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रलायको आयोजनामा आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विशेष समारोह आयोजना गरिने भएको छ।

सो समारोहमा नेपालको पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने दुुई जनालाई वरिष्ठ पत्रकार सम्मान र छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने छ। पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसूचित गराउन योगदान पु¥याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गरिने भएको हो।

समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्बोधन गर्नुहुनेछ। गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको १२३औँ वर्ष प्रवेश तथा संस्थानको ६१औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रधानमन्त्रीको उपस्थितिमा कार्यक्रमको आयोजना गर्दैछ।

प्रकाशित मिति: : 2023-05-07 07:48:00

प्रतिकृया दिनुहोस्