राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँ: पूर्वमन्त्री खनाल

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् पूर्वमन्त्री शिशिर खनालले राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लाग्नुपर्ने बताएका छन्।

जनकल्याण सामाजिक केन्द्र र सिद्धेश्वर करिडोर समितिले आज यहाँ आयोजना गरेको वातावरणसम्बन्धी अन्तरक्रियामा उनले विकासका लागि राजनीति गर्न नहुने बताएका हुन्। 'राजनीतिलाई फरक ढङ्गले अगाडि बढाउनुपर्छ, अर्को पार्टीलाई निषेध गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ', उनले भने।

खनालले बागमती करिडोर सरसफाइका लागि धेरै तहमा छलफल भए पनि विष्णुमती करिडोरको विकासका बारेमा धेरै छलफल हुन नसकेको बताए। संसारको प्रदूषित सहरमध्ये काठमाडौँसमेत भएको जनाउँदै यसलाई वातावरणमैत्री बनाउन प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो।

उनले सङ्घ र प्रदेश सरकार कानुन बनाउन व्यस्त हुने भएकाले स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासका लागि विशेष चासो दिनुपर्ने बताए। 'सङ्घ र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासमा लाग्नुपर्छ', उनले भने।

नेपाली कांग्रेसकी नेत्री एवम् बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठले वातावरणमैत्री सहरका व्यक्ति र घरपरिवारबाट चेतना आउनुपर्ने बताइन्। वृक्षरोपण गर्दा मानव जीवनलाई प्रत्यक्ष फाइदा पुग्ने रूखबिरुवा रोप्नुपर्ने उनको भनाइ थियो।

उनले सडक कालोपत्र गर्दा ढल, खानेपानी र बिजुलीको अवस्थालाई राम्रोसँग अध्ययन गर्नुपर्ने बताइन्। नीति निर्माणसँगै स्थानीय तहको विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको खड्गीले बताइन्।

प्रकाशित मिति: : 2023-05-06 12:28:00

प्रतिकृया दिनुहोस्