देहरादूनमा नेपाली मूलका भारतीयहरुको बास्ती छ। जहाँ नेपाली भाषा, भेष, चाडवर्प, परम्परा मान्ने चलन छ।
नेपालका आ–आफ्ना गाउँहरुमा सम्पर्कका कारण त्यहाँका नेपाली भारतीय नागरिक भए पनि नेपाली मूलका भन्नुमा गाैरव मान्छन्। नेपाली मूलका मानिसहरुले पनि एउटा पहिचान दिएका छन। नेपाली भनेपछि अनुशासित, सिधासादा, इमान्दार भनेरै चिनिन्छन। देहरादून अलि पहाडी भेग हो, जहाँ गर्मी हुँदैन। देहरादूनमा नेपाली मुलका मानिसहरु कतिपय डाक्टर, इन्जिनियर, समाजशास्त्री, राजनीतिज्ञ भइसकेका छन्। हरिनारायण क्षेत्री नेपाली समाजमा नाम चलेका समाजसेवी हुन्। कसैलाई पनि मर्दा पर्दा सहयोग गरिहाल्ने उनको बानीले उनी समाजमा लोकप्रिय छन्।
कुनै बेला गोर्खा भारतीय सैनिकमा भर्ति भएका अलिकम उमेरमै पेन्सन लिएर घर बसेका हुन्, हरिनारायण। नेपाल वा भारतको अन्य सहरबाट पनि देहरादूनमा सम्पर्क गर्नुपर्याे भने उनैको नाम लिन्छन। उनी जे गर्छन बस्ती र समाजका लागि गर्छन। कहिल्यै एक कप चिया, एक छाक सित्तै खाँदैनन। धेरै दुःखी गरिबको उपचार निःशुल्क गर्न, घरमैं आएर हेरिदिन डाक्टरहरुलाई अनुरोध गर्छन् तर आफ्नो उपचार कहिल्यै सित्तै गराउँदैनन। म त सक्छु नि उपचारको पैसा तिर्न, एक कप चिया, एक छाक खाना पनि मैलै सित्तै खान थालें भने त मलाई भार हुन्छ, पटक–पटक उनले भन्ने वाक्य यही हो।
मानिसहरु उनको सामाजिक कामको प्रशंसा त गर्छन् तर जब उनले केही सहयोग खोज्छन तब मानिसहरु पन्छिन्छन्। उनी गरीब मानिसहरुको लागि निःशुल्क उपचार गर्न डाक्टरहरु कहाँ गइरहन्छन, निःशुल्क उपचार गर्नु पर्दा डाक्टरहरु अलि झर्को पनि मान्छन। तर, हरिनारायणजी नसुनेको र नबुझेको झैं गरी उपचार गराएरै छाड्छन। भन्छन, 'यति त उनीहरुले गर्न सक्ने काम हो नि, डाक्टरहरु धेरै स्वार्थी हुनुहुँदैन।'
एक दिनको कुरा चौबाटोमा एउटा मिनीबस दुर्घटना भएछ। पुलिसले सबै घाइतेहरु नजिकैको सरकारी र निजी अस्पतालमा लगेछन। त्यो थाहा पाएर हरिनारायण पनि पुगे, अस्पतालमा। एक–एक बिरामीको बारेमा बेडमैं गएर बुझे। सरकारी अस्पतालमा त जेनतेन उपचार भइरहेको रहेछ। त्यसपछि निजी अस्पतालमा हेर्न गए। साधारण प्राथमिक उपचार त भइरहेकै रहेछ। तर, एक जना टाउको फुटेको बिरामीको अपरेशन भने पैसाको कारण रोकिएको रहेछ। उनले स्थानीय पुलिसलाई यो अवस्थाबारे जानकारी गराए। पुलिसले अस्पतालका निर्देशकलाई बिरामी खतरामुक्त नभएको कारण तत्काल अपरेशन गर्न भने। आवश्यक खर्च जुटाउँदै जाने वचन पनि दिए। पुलिसको दबाबपछि पनि ती डाक्टर अलमल गर्दै थिए।
हरिनारायण बिरामीको आफन्त झैं सेवामा लागिरहेका थिए। डाक्टरले उपचारमा ढिलाइ गरेको देखेपछि भने,'लौन डाक्टर साहेब तुरुन्त उपचारको व्यवस्था होस् त।' तर, डाक्टरले पैसा नभइ नगर्ने जस्तो गर्न थाले, हरिनारायणसँगै आएका मानिसहरुले पुलिस इन्सपेक्टरलाई बोलाए, डाक्टर कहाँ सँग–सँगै गए, अनि चप्पल फुकालेर ड्याम–ड्याम दश पटक जति जिउमा पिटे। इन्सपेक्टरले रोक्दै भने,'दाजु यसो नगर्नुस न।'
हरिनारायणले पनि रोक्न खोजे तर ती युवाहरुले जंगिदै भने,"यो डाक्टर भन्ने प्राणीको अहम् र पैसाको लोभ यसरी झारिएन भने यहाँ उपचार हुँदैन, हरि दाजु, इन्सपेक्टर साहेब, मलाई हात हाल्न रहर थियो र ? म गुण्डा हुँ र ? तर यो डाक्टरका कारणले एकजना मान्छेको मृत्यु हुने भो। त्यसैले पिट्नु परेको हो। बुझ्नु भो त ? यो त दुम्सी हो दुम्सी, यति गरेपछि लाइनमा आउँछ।’