रौतहटको मौलापुर नगरपालिका– ३ गम्हरियास्थित एक विद्यालयको कक्षा कोठा तथा कम्पाउण्ड वाल निर्माण हुने भएको छ।
गम्हरिया माध्यमिक विद्यालयको १६ कोठे भवन तथा कम्पाउण्ड वाल निर्माणको आज शिलान्यास गरिएको छ। मौलापुर नगरपालिकाकी मेयर रिनाकुमार साहले एक कार्यक्रमका बीचमा शिलान्यास गरेकी हुन्।
३ करोड ६ लाखको लागतमा १६ कोठे भवन, कम्पाउण्ड वाल, जग्गा विकाससहित निर्माण कार्य आर्थिक वर्ष २०८०/०८१ भित्रैमा सकिने लक्ष्य राखिएको छ। दुई ब्लक छुट्याएर निर्माण कार्य समयमै सक्ने गरी कार्य अघि बढाउने योजना शिलान्यासका क्रममा मेयर साहले जानकारी दिइन्।
भवन निर्माण ब्लक (ए) मा एक करोड ३९ लाख, भवन निर्माण ब्लक (बी)मा एक करोड ३९ लाख र कम्पाउण्डवाल तथा जग्गा विकासमा २८ लाख खर्च हुने लागत योजना रहेको छ। त्यसका लागि मौलापुर नगरपालिकाले २ करोड ७५ लाख र उपभोक्ता समितिले ३९ लाख सहयोग गर्ने मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए।
मौलापुर नगरपालिकाले शैक्षिक विकासका लागि झण्डै ५० प्रतिशत बजेट छुट्याई शिक्षा क्षेत्रमा नयाँ किर्तिमान रचेको छ। यसअघि समेत शिक्षा क्षेत्रको विकासका लागि मौलापुर नगरपालिकाले विद्यालयको भवन निर्माण, पाठयपुस्तक, विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरणलगायतका शिर्षक बजेट छुट्याई शिक्षा क्षेत्रको विकासका लागि काम गर्दै आएको मेयर साहले बताइन्।
‘कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट टाढा नहोस्। सबैले गुणस्तरीय शिक्षा पाउन्, शिक्षा प्राप्त गरी रोजगार पाउनुपर्छ। विद्यार्थीहरुले आफ्नो नगर, जिल्लाको नाम सबैतिर रोशन गरुन्’, मेयर साहले शिलान्यास गर्दै भनिन्, ‘हामीले सबैले शिक्षा पाउन् भन्ने उदेश्यले विद्यालय भवनको कक्षाकोठा निर्माण गर्न लागेका छौं। यसले यहाँको शिक्षा क्षेत्रको विकासका लागि सहयोग पुग्नेछ। सबैका छोराछोरीले गुणस्तरीय शिक्षा पाउन् भन्ने चाहना हाम्रो हो।’
मौलापुरकी मेयर साहले शिक्षा, स्वास्थ्य, यातायात, खानेपानीलगायतका क्षेत्रको विकासका एवं नगरबासीको चाहना, आवश्यक्तालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आउने दिनमा मौलापुर नगरलाई हरेक क्षेत्रमा उत्कृष्ट पालिकाको रुपमा विकास गर्ने योजना रहेको बताइन्।
सो कार्यक्रममा उपमेयर नागेन्द्र यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरेन्द्र यादव, विद्यालयका प्रधानाध्यापक चन्देश्वर साह, विधार्थीलगायतको सहभागिता रहेको थियो।