ट्रम्पविरूद्धका दुई मुद्दा खारेजका लागि निवेदन, कानूनभन्दा माथि हुँदै ट्रम्प

बिएल संवाददाता

वासिङ्टन डीसी
Break n Links
Break n Links

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पका लागि हरेक दिन नयाँ नयाँ सुखद समाचारहरू प्राप्त भैरहेका छन् । यसै क्रममा सोमबार अमेरिकी संघीय महान्यायाधिवक्ताको कार्यालयका  विशेष परामर्शदाता जैक स्मिथले ट्रम्पविरूद्धका अगाडि बढाइरहेका दुई महत्वपूर्ण मुद्दाहरू खारेज गर्न न्यायाधीशसमक्ष निवेदन दिएका छन् ।

उनले खारेजीका लागि माग गरेका मुद्दाहरूमा संघीय चुनाव हस्तक्षेपको मुद्दा र वर्गीकृत कागजातको मुद्दा हुन् । पहिलो मुद्दा २०२० को चुनावको परिणाम उल्ट्याउनको प्रयाससँग सम्बन्धित छ भने अर्को मुद्दा ट्रम्पले हाउस छोड्दा केही सम्वेदनशील कागजातहरू सँगै लिएर गएको विषयसँग सम्बन्धित छ । अमेरिकाका महान्यायाधिवक्ता मेरिक गारल्यान्डले २०२२ मा ट्रम्पको आचरणसँग सम्बन्धित दुई संघीय अनुसन्धानको जिम्मेवारी स्मिथलाई दिएका थिए।

केही समयअघि दक्षिणपन्थी प्रभावमा रहेको अमेरिकी सर्वोच्च अदालतले बहालवाला राष्ट्रपतिलाई कुनै पनि किसिमको मुद्दा नलाग्ने फैसला सुनाएको थियो । त्यही फैसलाको जनवरी २० पछि ट्रम्पविरूद्धका कुनै पनि मुद्दाहरूको अर्थ नहुने भन्दै उनीविरूद्धका मुद्दाहरू एकपछि अर्को गर्दै फिर्ता लिने वा निर्णय नसुनाउने दिशामा गएका छन् ।

स्मिथले अमेरिकी न्याय विभागको नीति अनुसार कुनै पनि बहालवाला राष्ट्रपति विरुद्ध अभियोग लगाउनु निषेध गरिएकोले यी मुद्दाहरू खारेज गर्नुको कुनै विकल्प नभएको बताएका छन् ।  उनले दर्ता गरेको ६ पृष्ठको निवेदनमा उनले लेखेका छन्, ‘यो परिणाम अभियुक्त विरुद्धको मुद्दाको मापदण्ड वा बलमा आधारित छैन ।‘

ट्रम्पविरूद्धका यी दुई मुद्दा औपचारिक रूपमा खारेज गर्नका न्यायाधीशले हस्ताक्षर गर्नुपर्ने हुन्छ । अमेरिकी न्याय विभागले नै मुद्दा खारेजीका लागि निवेदन दिएपछि खारेजीको निर्णय एक औपचारिकता मात्र हुन्छ ।

ट्रम्पको चुनाव उल्ट्याउने मुद्दा खारेज गर्ने यो मागले एक लामो कानूनी द्वन्द्वको अन्त्य गरेको छ । आमचुनावमा ट्रम्पको जितसँगै, "उनका आपराधिक समस्याहरू एक पछि अर्को गरेर समाप्त हुँदैछन् । केही दिन अघि मात्र न्युयोर्क राज्यमा उनलाई आपराधिक अपराधको सजाय सुनाउने निर्णय अनिश्चितकालका लागि स्थगित गरिएको थियो । उता, जर्जियामा चुनावको परिणाम उल्ट्याउने ट्रम्पले गरेको प्रयासविरूद्धको मुद्दा पनि ढिला भएको छ।

यसैबीच ट्रम्पको तर्फबाट उनको ट्रान्जिसनल टोलीका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै यी मुद्दाहरू अन्त्य गर्ने कदमले "कानूनी शासनको लागि ठूलो जित" भएको जनाएको छ ।

 

ट्रम्पविरूद्धका दुई मुद्दा खारेजका लागि निवेदन, कानूनभन्दा माथि हुँदै ट्रम्प

अमेरिकामा बहालवाला राष्ट्रपतिविरूद्ध कुनै मुद्दा नलाग्ने पछिल्लो नजीरपछि  ट्रम्पविरूद्धका सबै मुद्दाहरू पानीको फोका सावित हुँदैछन् । न्युयोर्कमा ३४ फेलोन प्रमाणित भएका ट्रम्पविरूद्ध अदालतले सजाय सुनाउन स्थगित गरेलगत्तै संघीय न्याय विभागले दुई मुद्दा खारेज गर्न निवेदन दिएको छ ।

प्रकाशित मिति: : 2024-11-26 03:08:00

प्रतिकृया दिनुहोस्