सरकारी सहीछाप किर्ते मुद्दामा एमालेकी पूर्व सांसद खातुन कारागार चलान 

File Photo
File Photo

सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा अदालतबाट दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्व सांसद गुलेफुन खातुन कारागार चलान भएकी छन्।

अदालतमा मुद्दा परेपछि खातुन फरार भएकी थिइन्। पहिलो प्रदेशसभामा नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद रहेकी खातुन शुक्रबार आफैँ जिल्ला अदालत मोरङमा उपस्थित भएकी थिइन्।

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार उनलाई कैद भुक्तानका लागि शुक्रबार नै मोरङ जिल्ला कारागार चलान गरिएको छ।

सरकारी सहीछाप किर्ते मुद्दामा २०७४ वैशाख ३१ गते तत्कालीन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो।

उक्त फैसलाविरुद्ध खातनुले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएकी थिइन्। तर, उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको थियो। सर्वोच्च अदालतलेसमेतले उनको निवेदनमा ०७९ जेठ २५ मा निस्सा नदिने आदेश दिएको थियो। कामत र मण्डललाई कर्मचारी भएका कारण थप दुई वर्ष सजायको फैसला भएको थियो।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५  मा एक वर्षसम्म कैद सजाय तोकिएका मानिसले दिनको ३०० रुपैयाँ शुल्क तिरेर बाहिर बसेर कैद भुक्तान गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार निवेदन लिएर खातुन अदालतमा हाजिर भएकी थिइन्। अदालतले उनको निवेदनको सुनुवाइ अर्काे साता गर्ने जनाएको छ।

मोरङको साविक कदमाह गाउँ विकास समिति वडा नम्बर २ (हाल कटहरी–९) मा मधुसुधनराज पाण्डेको तीन बिगाह १० कट्ठा जग्गामा खातुनका ससुरा शेख धाइका मियाँको मोही हक रहेकोमा खातुनले तीन बिगाह १० कट्ठा मोही जग्गा पाउन भन्दै २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस ल्याएकी थिइन्।

एउटै दर्ता नम्बरका दुईवटा सिफारिस लिएको फेला परेपछि सरकारी कागजात किर्ते गरेको पुष्टि भएको थियो।

प्रकाशित मिति: : 2023-04-29 12:48:00

प्रतिकृया दिनुहोस्