अमेरिकी चुनाव २०२४ मा नेपाली

आभाष गौतम क्यालिफोर्निया ५ को विधायकमा रिपब्लिकन उम्मेद्वार आकांक्षी

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकी चुनाव २०२४ प्रति अमेरिकामा रहेका नेपालीहरूको चासो र आकर्षण पहिलेको भन्दा बढेको छ । नेपाली-अमेरिकी मतदाताको संख्यासँगै चुनावी सचेतना मात्र बढेको छैन, चुनावमा उम्मेद्वार-आकांक्षी हुनेको संख्या पनि थपिदैछ । 

यही क्रममा पश्चिमतटीय नीलो राज्य क्यालिफोर्नियामा राज्य विधायकमा लागि अर्का एक  नेपाली पनि रातो पार्टी रिपब्लिनबाट उम्मेद्वार- आकांक्षी देखिएका छन्। उनी हुन् आभाष गौतम। उनले आफूलाई आभाष 'एवीजी' गौतमका रूपमा प्रस्तुत गरेका छन्। 

आभाष क्यालिफोर्नियाको डिस्ट्रिक्ट ५ बाट रिपब्लिकन पार्टीको उम्मेद्वारी जित्न प्राइमरी चुनावी क्याम्पेनमा छन्। 

आभाषको उम्मेद्वारी दुई कारणले चर्चामा छ। पहिलो हो, उनको उमेर। अहिले उनी २३ वर्षका मात्र छन्। दोस्रो हो, उनले  उम्मेदवार- आकांक्षी हुनलागेको पार्टी । उनी  रिपब्लिकन पार्टीबाट उम्मेदवार- आकांक्षी छन् जबकि अमेरिकाका नेपाली लगभग डेमोक्रेट्स नै हुन्छन्।

को हुन् आभाष ?

आभाषको जन्म पश्चिम नेपालको गुल्मी जिल्लाको भुजुङमा  भएको हो । उनी आभास बुबा रमेश गौतम र आमा सीता कँडेलको काँखमा बसेर इन्फेन्टका रूपमा २००१मा अमेरिका आएका हुन्। उनले युनिभर्सिटी अफ साउदेन क्यालिफोर्नियाबाट वाणिज्यमा स्नातक गरेका छन्। 

सुरूमा उनको परिवार नै डमोक्रेट्स थियो। उनी आफैं पनि बाराक ओबामाका पक्षधर थिए। तर, धर्म-कर्म मान्ने आफ्नो लागि परम्परावादी पार्टी नै ठीक लागेर उनी रिपब्लिकन पार्टीतिर लागे। उनलाई यता लाग्न डोनल्ड ट्रम्पको एजेण्डा र व्यक्तित्वले पनि काम गरेको उनी बताउँछन।

कस्तो छ निर्वाचन क्षेत्र ?

क्यालिफोर्निया एसेम्बेलीका ८० डिस्ट्रिक्टमध्ये डिस्ट्रिक्ट ५ मा दुई काउन्टी एल डोराडो र प्लेसर पर्छन्। रिपब्लिकन बहुल यस क्षेत्रबाट अहिले जो प्याटरसन एसेम्बली मेम्बर हरेका छन् । २०२२ मा पहिलो पटक विधायक निर्वाचित उनी त्यसअघि रक्लिन  सिटीमा सुरूमा काउन्सिलम्यान र पछि मेयर थिए। 

लामो समयसम्म एक छत्र एसेम्बलीम्यान रहेका रिपब्लिकन फ्रयांक बिगेलोले २०२२ मा राजनीतिबाट अवकास लिए। उनले छोडेको ओपन सिटमा प्याटरसन निर्वाचित भएका थिए। उनले डमोक्रेटिक प्रतिस्पर्धी कार्ला नेललाई पराजित गरेका थिए। तर, प्राइमरीमा भने नेलले प्याटरसनलाई हराएकी थिइन्।

अमेरिकी चुनाव २०२४ मा अर्का एक नेपाली पनि उम्मेद्वार-आकांक्षी  देखिएका छन्। गुल्मी भुजुङमा जन्मेका २३ वर्षीय आभाष गौतम क्यालिफोर्निया डिस्ट्रिक्ट ५ को विधायकका लागि रिपब्लिकन पार्टीको उम्मेद्वार जित्न चुनावी मैदानमा उत्रिएका छन्।

उम्मेद्वार र निर्वाचन

डिस्ट्रिक्ट ५ मा दुईजना रिपब्लिकन र दुईजना डेमोक्रेट्स गरी चाजना उम्मेद्वार-आकांक्षी छन्। रिपब्लिकन पार्टीबाट निवर्तमान एसेम्बेली मेम्बर जो प्याटरसन र आभास गौतम रहेका छन् डेमोक्रेटिक पार्टीबाट नेभा पार्कर र एथेना सिंह । 

यी चारजना  बीच मार्च ५ मा प्राइमरी चुनाव हुन्छ। र, दुबै पार्टीमा सबैभन्दा बढी मत ल्याउने एक एकजना नोभेम्बर ५ मा हुने आमनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्वार हुन्छन्। 

डेमोक्रेटिक पार्टीका उम्मेद्वार-आकांक्षी दुबै एसियाली मुलका नयाँ अनुहार हुन्। दुईमध्ये कस्ले उम्मेद्वारी जित्छ, यसै भन्न सकिने अवस्था छैन। तर, रिपब्लिकन पार्टीको हकमा भने बर्तमान एसेम्बेली मेम्बरलाई जित्न सहज हुँदैन। 

उम्मेद्वारी जित्लान् त आभाषले ?

आभाषले पार्टीका तर्फबाट बर्तमान एसेम्बेली मेम्बर जो प्याटरसनका विरूद्ध उम्मेद्वारी दिएका छन्। अमेरिकी राजनीतिमा सामान्यत: वर्तमान पदाधिकारीलाई जित्न लगभग असम्भव नै हुनछ। नयाँले सामान्यत:  पुरानाले छोडेर ओपन सिट भएको बेला मात्र जित्ने मौका पाउँछन्। अपवादलाई छोडेर हुने यस्तै हो ।

यस अतिरिक्त आभाष नयाँ छन्, अल्पमतमा रहेको एसियाली मुलका हुन्, उनीसँग चुनावी क्याम्पेनका लागि चाहिने पुगिसरी पैसा पनि छैन। तर, उनका प्रतिस्पर्धी प्याटरसनसँग अमेरिकामा चुनाव जित्नका लागि चाहिने सबै फ्याक्टर छन्। 

आभाषमा प्याटरसनसँग भन्दा बढी युवा जोश र केही गरौं भन्ने हुटहुटी छ। तर, अमेरिकी चुनावका डाइनामिक्स यतिमा मात्र सिमित छैन र यतिकै आधारमा चुनाव पनि जितिदैन। 

त्यसैले आभाषाका लागि साक्रामान्टो धेरै टाढा छ। यसपटक उनको आकांक्षा उम्मेद्वारीमा परिणत हुन लगभग असम्भव छ। तर, एउटा कुरा निश्चित छ त्यो के भने मार्च ५ मा उनले असम्भव जीत हात पारे भने नोभेम्बर ५ मा भने उनको जीत लगभग निश्चित छ । किनकि क्यालिफोर्नियाका ८० एसेम्बेली डिस्ट्रिक्टमा रातो भएका १८ मध्ये यो एक हो। 

अमेरिकाको नेपाली समाज र आभाष 
आभाषको उम्मेद्वारीलाई अमेरिकाको नेपाली समाजले खासै गम्भिरताका साथ लिएको छैन।उनको उम्मेद्वारीको कुनै चर्चा नै छैन भने पनि हुन्छ। क्यालिफोर्नियामा चर्चा नभएपछि अन्य राज्यमा त चर्चा हुने कुरै भएन। 

क्यालिफोर्नियाका एक अगुवा नेपाली भन्छन्, 'नेपालीका लागि रिब्लिकन पार्टी भनेपछि पहिलो त पार्टी नै गलत छनौट भयो। दोस्रो, अमेरिकामा कुनै पनि सार्वजनिक पदका लागि चाहिँने अध्ययन, अनुभव, व्यक्तित्व केही पनि पुगेन। यो एक चर्चाका लागि गरिएको प्रोपोगाण्डा मात्र हो। ' 

तर, आभाष भने आफू एक सच्चा रिपब्लिकन भएको भन्दै त्यही मूल्य मान्यता अमेरिकाको नेपाली समाजमा स्थापित गर्नका लागि चुनावमा होमिएको बताइरहेका छन्। ओपन सिट नभए पनि इन्कम्व्यान्ट पनि एक कार्यकालको नयाँ मात्र भएकाले यो सिट अहिले नै पूरै असम्भव भैनसकेको उनको ठहर छ ।

प्रकाशित मिति: : 2024-01-17 09:40:00

प्रतिकृया दिनुहोस्