बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको हो।
राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए। उनका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो।
मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए। भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको थियो।
भूकम्पले क्षति पुर्याए/नपुर्याएको एकीन हुन सकेको छैन। सूचना संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।