मूल्यवृद्धि- ४

पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति चालकको आक्रोश : पेट्रोलको मूल्य बढ्यो, अब गाडी भाडा बढ्नुपर्छ [भिडियो]

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेललगायतकाे मूल्य बढाएको हो।

त्यसैले पेट्रोललगायत डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको छ। नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ छ।

तर ,यता सवारी साधन चालकहरुले भने निगमले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आक्रोश पोखेका छन्। 

रामेछापका ३१ वर्षीय राजु कार्कीले गाडी चलाउन थालेको १० वर्ष भयो। उनी भक्तपुरमा गाडी चलाउँछन्। आफूले गरेको काममा रमाउने उनी हिजोआज भने निकै निराश बनेका छन्।

उनको निराशाको कारण बढ्दाे पेट्रोलको मूल्य। ‘पेट्रोलको भाउ बढिरहेको छ, यसरी त हामी चालक चुर्लुम्मै डुब्छौँ,’ उनी आफ्नो अवस्थाबारे बताउँदै भन्छन्,‘लिएको ऋण समेत तिर्न सकिएको छैनौँ।’

सरकारले बढाइरहेको मूल्य वृद्धिलाई घटाउनुपर्ने भन्दै उनले बिएल नेपाली सेवासँग भने,‘पेट्रोलको मूल्य नघटाउने हो भने गाडी भाडा पनि बढाउनुपर्छ। गाडीको भाडा बढे सर्वसाधारण मर्कामा पर्छन् तर के गर्नु आफ्नो लागि पनि सोच्नै पर्यो।’

सरकारले मनाेमानी गरेर पेट्रोलियम पदार्थको मूल्य बढाएका कारण आफू पीडित भएको उनी बताउँछन्।

त्यस्तै अर्का चालक हुन्, सिन्धुपाल्चोकका अभिषेक वाइबा। उनले १३ वर्षदेखि गाडी हाँकिरहेका छन्।

आफैँले गाडी किनर चलाउन थालेका उनलाई आजभोलि ऋण तिर्न हाम्मेहाम्मे परेकाे छ।

‘सरकारले पेट्रोलियम पदार्थको भाउ बढाइदिएर हामीलाई मर्कामा पारेको छ’ उनी आफ्नो दु:ख सुनाउँदै भन्छन्,‘दिनभरि काम गरे पनि दुई/चार पैसा बचाउँन गाह्रो छ।’

निरन्तर बढिरहेको पेट्रोलको भाउअनुसार नै गाडी भाडा बढ्नुपर्ने उनको भनाइ छ।

‘गाडी भाडा बढे यात्रुलाई पीर नबढे हामी चालकलाई दु:ख। जे भए पनि मर्कामा पर्ने हामी जनता नै हौँ,’ उनले भने। 

५० वर्षका राजेन्द्रप्रसाद निरौलाले गाडी चलाउन थालेको ३४ वर्ष भयो। उनी पछिल्लो समय बढिरहेको महङ्गी देखेर दिक्क छन्।

दिनभरि गाडी चलाएर दुई/चार पैसा जोगाउने उनी अहिले परिवार पाल्न नै मुश्किल भएको बताउँछन्। ‘सरकारले कि पेट्रोलको मूल्य घटाउनुपर्छ कि गाडी भाडाको मूल्य बढाउनुपर्छ’ उनले भने। 

त्यस्तै अर्का ३७ वर्षका चालक राजकुमार गिरीको पनि उस्तै व्यथा छ। उनी लगातारदेखि बढिरहेको पेट्रोलको मूल्यका कारण चिन्तित छन्।

पेट्रोलको मूल्य बढाइरहँदा गाडी भाडा पनि बढाउनुपर्ने उनको भनाइ छ। ‘पेट्रोलको मूल्य बढिसक्यो, अब गाडीको भाडा पनि बढ्नुपर्छ,’ उनले भने।

एकपटक मात्र बढेको भाडाले नपुग्ने भन्दै उनी भन्छन्,‘पेट्रोलको भाउ बढाइरहने अनि गाडी भाडा चाहिँ एकपटक बढाएर पुग्छ ?, अब गाडी चढेकै ३० रुपैयाँ लिनुपर्ने बेला आएको छ।’

सरकारले पेट्रोलको मूल्य घटाउने कि गाडी भाडा बढाउने भन्नेबारे सोच्नुपर्ने चालकहरुको भनाइ छ।

के कारणले हुन्छ मूल्य वुद्धि ? 

नेपालको पेट्रोलियम पदार्थको मूल्य आन्तरिक कारण, अन्तर्राष्ट्रिय बजार मूल्य एवं इन्डियन आयल कर्पोरेसन (आईओसी)मा आधारित हुन्छ। 

मुख्यतःअन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको खण्डमा नेपालमा स्वतः मूल्य वृद्धि हुने गर्छ। 

यो सँगै नेपाल सरकारको बजेट र निगमका नीतिहरूका कारण पनि पेट्रोलियम पदार्थको मूल्यमा असर पर्ने गर्छ।

फोटो/भिडियो: आइडु 

प्रकाशित मिति: : 2022-03-19 21:50:00

प्रतिकृया दिनुहोस्